PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

महधिवेशन मितिबारे 'कन्फ्युजन' नराख्नुस् : कांग्रेस प्रवक्ता शर्मा, संसदीय दलको बैठकले के गर्‍यो निर्णय?



पहिलोपोस्ट

महधिवेशन मितिबारे 'कन्फ्युजन' नराख्नुस् : कांग्रेस प्रवक्ता शर्मा, संसदीय दलको बैठकले के गर्‍यो निर्णय?
फाइल फोटो।

काठमाडौं : महाधिवेशनको मितिका सन्दर्भमा कुनै आशंका नलिन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गरेका छन्। कांग्रेस संसदीय दलको बैठकबारे जानकारी दिँदै प्रवक्ता शर्माले महाधिवेशनको विषयमा कुनै निर्णय भए त्यो केन्द्रीय समितिमार्फत् हुने प्रष्टयाए। 

नेपाली कांग्रेसको महधिवेशन मसिर ९ गतेदेखि १३ गतेसम्म तोकिएको छ। छैटौं पटक सारिएकाले सातौं पटक पनि महाधिवेशन मिति सारिनसक्ने चर्चा व्यापक भएपछि पत्रकारहरुले प्रवक्ता शर्मालाई सोधेका थिए। 

‘निर्धारित समयका लागि केन्द्रीय महाधिवेशन निर्धारण गरेका छौं। त्यसबारेमा अहिले कसैलाई कुनै कन्फ्युजन नराख्नका लागि र बैठकमा महाधिवेशन मंसिरबाट अलि पछाडि जाने हो कि कसैले प्रस्ताव पो राख्नु भयो कि भनेर खासगरी महामन्त्रीज्यूको नाम भनेर पनि आयो,’ बैठकपछि प्रवक्ता शर्माले भने, ‘त्यस प्रकारको विषयमा अहिले हामी गएका छैनौं। त्यस प्रकारको विषयमा जानुपर्ने खण्ड आयो भने पनि केन्द्रीय समितिमा हामी विधिवत रुपमा जान्छौं।’

बैठकले भोलि शनिवार निर्धारित समयमै पार्टीको पालिकास्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ। हिमाली जिल्ला लगायत कतिपय जिल्लामा पालिकास्तरीय अधिवेशनको मिति सार्नुपर्ने अवस्था आएमा पार्टी जिल्ला कार्यसमितिको भावना अनुसार केन्द्रीय निर्वाचन समितिबाट अनुमति लिएर गर्न सक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए। 

बैठकले बाँकी रहेका १३ जिल्लाको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल समाधान गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशनका लागि आवश्यक संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा महाधिवेशन प्रचारका लागि आवश्यक निर्णय लिन छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय पनि काँग्रेसले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell