काठमाडौं : प्रेन्टी क्रोस्टल चर्चका पादरी सन्दिप क्षेत्री पक्राउ परेका छन्। भारतको दार्जिलिङ जिल्लाको सिलगुढी पानीघट्ट बजारका क्षेत्री सोसल मिडियाबाट ठगीको आरोपमा उनी पक्राउ परेका हुन्।
आफूलाई बेलायती नागरिक नेन्सी माइकलका रुपमा चिनाउँदै फेसबुक, म्यासेन्जर, ह्वाट्स एप, आइएमओजस्ता सामाजिक सञ्जालबाट जोडिएर उनले ठगी गर्दै आएको खुलेको छ। महानगरीय अपराध महाशाखाको टोलीले उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको हो।
उनले सोसल मिडियामा विशेषगरी महिलाहरुमाथि जाल थाप्ने गरेको देखिएको छ। विभिन्न उपहारका सामग्री पठाएको भन्दै पार्सल ट्र्याकिङ नम्बर फर्वार्ड गरेर उनले महिलाहरुलाई जालमा पार्दै आएका थिए। उनको 'भर्चुअल लभ'मा परेका महिलाहरुले उनलाई विश्वास गर्दै ठगिने गरेका थिए। यसैगरी ठगिएको महसुस भएपछि पीडितले उनीविरुद्ध उजुरी गरेका थिए।
५ लाख १० हजार रुपैयाँ ठगीमा परेको भन्दै उजुरी परेपछि झापा प्रहरीको समन्वयका आधारमा भारतीय नागरिक क्षेत्री पक्राउ परेका हुन्। उनलाई काठमाडौं ल्याइएको छ। पानीटंकी सिलगुढीमा रहेको प्रेन्टी क्रोस्टल चर्चका पादरी रहेकाले चर्चका विभिन्न धार्मिक कार्यक्रमका लागि आउने रकम सोझै आफ्नो खातामा पठाउन नमिल्ने बताउँदै उनले चर्चमा आउने महिलाहरुलाई खाता खोल्न लगाउँथे। र, जालमा पारेका महिलाहरुलाई त्यही खातामा पैसा पठाउन अह्राउँथे।
