PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ओली सरकारले नियुक्त गरेका समाज कल्याण परिषद् बोर्ड पदाधिकारीको सामुहिक राजीनामा



पहिलोपोस्ट

ओली सरकारले नियुक्त गरेका समाज कल्याण परिषद् बोर्ड पदाधिकारीको सामुहिक राजीनामा

काठमाडौं : समाज कल्याण परिषद्को बोर्डबाट सम्पूर्ण पदाधिकारीहरुले सामुहिक राजीनामा दिएका छन्। परिषद्का उपाध्याक्ष पद्मप्रसाद खतिवडासहितका ८ जना पदाधिकारीहरुले सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खाती तथा सदस्यहरु मणीराम वन्जाडे, गोविन्द शाही, नानीमाया थापा नेपाल, ब्रम्हध्वोज गुरुङ, र शुशील ज्ञवाली रहेका छन्। बोर्डको अध्यक्ष महिला बालबालिका तथा समाजकल्याण मन्त्री हुने व्यवस्था छ।

१४ महिना अगाडि २०७७ साल साउन ५ गते तत्कालीन प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रीपरिषद्को निर्णयबाट उपाध्यक्षमा चार वर्षका उपाध्यक्ष र सदस्य सचिव सहित ५ जना सदस्यहरु नियुक्त गरेको थियो। साथै भदौ १ गतेको निणर्यबाट कोषाध्यक्ष र २ जना सदस्यको मनोनयन भएका थिए। 

बोर्डका पदाधिकारीहरुले सरकारलाई दोष दिँदै सामुहिक राजीनामाको घोषणा गरेका हुन्।

'वर्तमान सरकारको नेतृत्व र यिनका आसेपासे आज फेरी स्वायत्त संस्था माथि हस्तक्षेप गर्ने दुस्साहस गर्दैछन्,' सामुहिक राजीनामासँगै जारी गरिएको वक्तव्यमा भनिएको छ, 'सामाजिक क्षेत्रलाई राष्ट्रिय गौरवको रुपमा स्थापित गर्न हामीले अगाडि सारेको नतिजामुखी कार्यक्रम र सुशासनको सुनिश्चितताले यो क्षेत्र पारदर्शी हुदैं राष्ट्रिय गौरवको क्षेत्रमा रुपान्तरण हुँदा हिजो देखि नै अस्थिरताको भुमरीमा स्वार्थ र अनियमितताको रोटी सेक्दै व्यक्तिगत र राजनीतिक अभिष्ट पुरा गर्नेहरु तिलमिलाएका छन्।'

परिषदमा कार्यरत अस्थायी, करार र ज्यालादारी रुपमा कार्यरत कर्मचारीहरुको म्याद थप नगर्न सदस्यसचिवमाथि दबाब दिइएको भन्दै वक्तव्यमा भनिएको छ- 'अहिले कार्यरत कर्मचारी हटाइ आफ्ना कार्यकर्ता भर्ती गर्न, वर्षौ देखि कार्यरत कर्मचारीहरुलाई हाजिर नगराउन दिएको दवाव स्वीकार्य भएन। वर्तमान सरकारले सत्ताको रापमा बिर्सेको छ, आज परिषदमा कार्यरत अधिकांश कर्मचारीहरु हिजो उनीहरुले नै भर्ती गरेका थिए।'

राजनीतिक प्रतिशोध लिँदै सरकारले परिषद् कार्य संचालन समितिको बैठक समेत राख्न नदिने, बजेट पास गर्न नदिने कार्य गरेकोसमेत आरोप लगाइएको छ। 'हामी राजनीतिक प्रतिशोधको धम्कीले डगमगाउँदैनौं,' वक्तव्यमा भनिएको छ, 'हामी अवाञ्छित कर्मको पराकाष्ठा, अकर्मण्य र असक्षम सरकारको सहयात्री बन्न सकिन्न भन्ने निष्कर्षका साथ परिषद्का वर्तमान उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र पाँच जना सदस्यहरुले आजैको मिति देखि लागु हुने गरि सम्माननीय प्रधानमन्त्री समक्ष सामुहिक राजीनामा पेश गरेको जानकारी गराउँन चाहन्छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell