PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जीवित् देवी कुमारीको सेवा गर्दै आएको ११ औं पुस्ताका गौतमरत्न : यसबाहेक हाम्रो पहिचान छैन



सहयोग रञ्जित

जीवित् देवी कुमारीको सेवा गर्दै आएको ११ औं पुस्ताका गौतमरत्न : यसबाहेक हाम्रो पहिचान छैन

राजा वीरेन्द्रको कुमारी घरमा सवारी भएको थियो। जीवित् देवी कुमारीको बाहुलीबाट टीका ग्रहण गरेपछि उनको रेखदेख गर्दै आएका चिताइदार परिवारलाई सोधनी भयो - कही समस्या छ कि?

जुजुभाइ शाक्यले राजाको प्रश्न आउनसाथ कुमारीको पीठ घर जीर्ण रहेको सुनाए। कुमारी घरभन्दा पछाडि केही भित्र रहेको पीठ घरको अवस्था बिन्ती गरेपछि अष्टमातृका रहेको उक्त घरमा वीरेन्द्रले जाने इच्छा देखाए। जुजु भाइले वीरेन्द्रलाई पीठ घरसम्म डोर्‍याउँदै थिए। उनको पछिपछि पुगे जुजु भाइका छोरा, गौतमरत्न शाक्य।

गौतमरत्न सानै थिए। केही बेर अघि नै घाम डुबिसकेकाले अध्यारो कौशी हुँदै वीरेन्द्रसहितको टोली पीठ घर पुग्यो। राजाले तत्कालै निर्देशन दिए जीर्ण घर निर्माण गर्न। त्यही घरमा खेल्दै हुर्केका थिए, गौतमरत्न।

कुमारीलाई राजकीय सम्मान प्रदान गरी रथयात्रा गर्ने परम्परा जयप्रकाश मल्लले चलाएका थिए जसलाई शाह वंशीय राजाहरुले पनि अपनाए। अहिलेको कुमारी घर मल्लकै पालामा निर्माण भएको थियो जुन पछि विभिन्न कालखण्ड जिर्णोद्धार भइरह्यो। वसन्तपुरमै रहेको सिख्वंमू बहा: (श्रीखण्ड तरुमुल महाविहार) कै एक भागलाई कुमारी बस्नका लागि भनेर नयाँ विहार बनाइएको कथन पनि छ। शाक्य कूलकी छोरी कुमारी छनोट गरी कुमारी घरमा नै प्रतिस्थापन गर्न थालियो। जीवित् देवी कुमारीको हरेचाह र स्याहार सुसार गर्न जयप्रकाश मल्लले चिताइदार पदको व्यवस्था गरे। शाक्य कूलकी महिला चिताइदार नियुक्त भए पनि उनी एक्लैले सबै काम भ्याउन गाह्रो। त्यसैले चिताइदारको सम्पूर्ण परिवार नै कुमारीको रेखदेखमा लाग्न थाल्यो।

जिवित देवी कुमारीलाई बोकेर रथमा बिराजमान गराउँदै गौतमरत्न शाक्य


गौतमरत्न शाक्य कुमारीको चिताइदारको ११ औं पुस्ता हुन्। बुवासँगै कुमारीको धार्मिक सांस्कृतिक कार्यक्रमका लागि आवश्यक बन्दोवस्त मिलाउन सिकेका गौतमरत्नका आमा ज्ञानदेवी शाक्य अहिले चिताइदार छिन्। आमा र उनको बाँकी परिवार कुमारीको स्याहार सुसारमा व्यस्त रहँदा गौतमरत्न भने गुठीदेखि इन्द्रजात्रा व्यवस्थापनका काममा व्यस्त रहन्छन्।

+++

गौतमरत्न करिब ९ वर्षका थिए। इन्द्रजात्रा हुँदा बुवा जुजुभाइ निकै व्यस्त रहन्थे। रथयात्राका लागि कुमारी द्य: मा लाई रथसम्म लैजाने र रथयात्रापछि फेरि कुमारी घरमै ल्याएर विराजमान गर्ने जिम्मेवारी जुजुभाइकै हुन्थ्यो। रथयात्राका लागि बुवाले कुमारीलाई बोकेर रथारोहणमा लैजानु अघि गौतमरत्न रथमा चकटी, तकिया, पूजा सामाग्री लगायत अन्य सामान बोकेर रथमा पुग्थे। युवा अवस्थासम्मै उनको 'ड्युटी' यही रह्यो।

तिनै गौतमरत्न अहिले ५२ वर्षका भएका छन्। र, कुमारी घरको चिताइदारका प्रतिनिधिका रुपमा कुमारी घरदेखि अन्य व्यवस्थापनमा सक्रिय छन्।

'जयप्रकाश मल्लको समयदेखि नै हाम्रो कूललाई जीवित् देवी कुमारीको चिताइदारको पद दिएर नियुक्त गरिएको थियो। बाजे बुवा र आमाबाट कुमारीको रेखदेखको नियम हेरेर हुर्किएको हुँ। कुमारीको चिताइदारको हामी अहिले ११ औं पुस्ता हौं,' आफ्नो कामबारे गौतमरत्नले भने, 'कुमारी पूजा चलाउनलाई केही तलमाथि नगरिकन काम गरिरहेका छौं। हाम्रो राष्ट्रको पहिचानका लागि समय दिएर यो व्यवस्था बचाउन लागेका छौं।'

गौतमरत्नले बाल्यकाल र युवावस्थमा गर्ने 'ड्युटी' भने उमेरअनुसार फेरिएको छ। हाल उनका छोरा गौरव शाक्यले त्यही गर्छन् जुन कुमारीलाई रथमा विराजमान गराउनुअघि वर्षौं पहिले गौतमरत्नले गर्थे। अर्थात् चकटी, तकिया लिएर रथमा कुमारीलाई विराजमान गराउने तयारी। ११ पुस्तादेखि कुमारी घरमा रहेका चिताइदार परिवारको प्रतिनिधित्व गरिरहेका उनी आफ्नो आउने पुस्ताले समेत यो विरासत नभुल्ने आशा गर्छन्।

'११ औं पुस्ता भयो। हामीले हाम्रो जिम्मेवारी पूरा गरिरहेका छौं। मेरो पछिको पुस्ताले पनि गर्छजस्तो लाग्छ। किनभने यो भन्दा अर्को पहिचान हाम्रो छैन,' शाक्यले भने, 'बिर्सिएर जाने हो भने धर्म संस्कृति लोप हुन्छ। म पछिको पुस्ताले पनि मैले पालना गरेको नियम पालना गर्नुपर्छ।'

सम्बन्धित समाचार : एनएसीको त्यो कोठा जुन घोडेजात्राका दिन मात्र खुल्छ…

२०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री हुँदा इन्द्रजात्रामा 'मितव्ययी' हुने भन्दै खर्च कटौती गरिएको थियो। त्यसपछि करिब एक हप्तासम्म काठमाडौंको भित्री क्षेत्र ठप्प रह्यो भने इतिहासमै पहिलोपटक रथयात्रा भएन। त्यस घटनापछि संस्कृति मन्त्रालयमा जात्रालाई व्यवस्थापन गर्नका लागि 'इन्द्रजात्रा व्यवस्थापन समिति' गठन गरियो। त्यसको पहिलो नेतृत्व केन्द्रीय मानन्धर संघले गर्‍यो। २०६७ सालमा भने गौतमरत्न शाक्य इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष भए। त्यसयता उनी नै समितिको नेतृत्वमा छन्।

१० वर्षभन्दा बढी भयो गौतमरत्नले इन्द्रजात्रा व्यवस्थापन समिति हाँकेको। गत वर्ष भने कोरोना संक्रमणका कारण इन्द्रजात्रा नित्य पूजामा मात्रै सीमित भयो। यस वर्ष शुक्रवार हुनमानढोकामा य:सिं ढालिएसँगै इन्द्रजात्रा सम्पन्न भएको छ। शाक्य समिति गठनदेखि अहिलेसम्म जात्राको व्यवस्थापन सुधार हुँदै आएको बताउँछन्।

'त्यसबेला देखि अहिलेसम्म एकदमै राम्रो भएको छ। कमी कमजोरीहरु निर्क्योल गरी जात्रा व्यवस्थित गरेका छौं। तर पनि के नपुगेको के नपुगेको जस्तो त भइरहने रहेछ,' उनले भने।

इन्द्रजात्रा संचालनका लागि भनेर सरकारले प्रत्येक वर्ष निश्चित रकम दिँदै आएको छ। तर, तोकिएको समयमा रकम नपाउँदा जात्रा संचालन गर्न गाह्रो भइरहेको गुठियारहरुको गुनासो छ। गौतमरत्न बुवाहरुको समयमा अहिलेको जस्तो समस्या नभएको र देशमा व्यवस्था परिवर्तनपछि भने रकम निकासामा समस्या देखिएको उनले बताए।

 ‘जात्रा संचालन गर्न भनेर आउने रकम जात्रा पछिमात्र आउने भयो। त्यसैले गाह्रो भयो। बुवाको समयमा इन्द्रजात्रा आयो, रकम लिन आउनु भनेर बोलावत् हुन्थ्यो। राजनीतिक परिस्थिति बदलिएपछि इन्द्रजात्रा सकिएपछि मात्रै रकम आउने भयो। जसले जात्रा संचालन गर्न ढिला भएको छ,’ उनले भने।

समितिको नेतृत्व गरिरहेकाले उनीमाथि जात्रा अवधिभर 'प्रेसर' नपर्ने कुरै हुन्न। जिम्मेवारी लिएर बस्दा राम्रो काम गर्दा गौतमरत्नले धेरै धन्यवाद पाए। सँगै गाली पनि उनकै भाग लाग्छ।

'यति धेरै व्यवस्थापन गर्नुछ। राष्ट्रपति कार्यालयसँग समन्वय गर्नेदेखि गुठी गरगहनाको काम त छँदैछ। सकेसम्म कमी कमजोरी हुन नदिने हो। केहीले धन्यवाद दिन्छन्। गाली पनि आउँछ। गाली सँगै धन्यवाद आउँदा रमाइलो लाग्छ,' शाक्यले सुनाए, 'गालीमात्रै आयो भनेर बसेको भए हामीले खत्तम हुन्थ्यो। भगवान बुद्धलाई त मार आयो भने हामी त मानिस हो। खुट्ट तान्यो भनेर पछि लाग्नु हुन्न।'

तर, पहिला भन्दा अघि गुठीहरुमा युवा सोच भएका धेरै जना भएकाले काममा सहजिकरण गर्न गाह्रो नभएको उनको अनुभव छ। त्यसैले अभावका बिच जात्रा सफल बनाउन ऊर्जा मिलेको छ उनलाई।

'पहिला गुठी चलाउने भनेको पाका थिए। अहिले युवाहरु छन्। मेरो उमेरका छन्। जेनरेसन चेन्ज भएको छ। अहिले सबै गुठीमा साथीहरु छन्,' उनले सुनाए, 'उहाँहरुलई बुझाउन सजिलो छ। रकम यो वर्ष नआए अर्को वर्ष त आउने नै छ भनेर बुझाउन सकिन्छ। जसरी पनि जात्रा सफल बनाउन लागेका छौं। यस वर्ष पनि महाकाली नाच नआउने कुरा थियो। तर, हामीले सबैलाई मिलायौं।'

गौतमरत्नले हालसम्म ७ जना जीवित देवी कुमारीलाई बोकेर रथयात्रा गराएका छन्। बाल्यकालमा कुमारीसँग क्यारम खेल्दै हुर्केका उनीसँग पूर्व कुमारीको भेट नहुने कुरै भएन। पूर्व कुमारीहरु अहिले पनि कुमारी घर आइरहन्छन्। पहिला र अहिलेका याद र संघर्षहरु साटासाट गरिरहन्छन्।

'हामीले हाम्रो परिवारभन्दा माथि कुमारीलाई राख्छौं। २४ सै घण्टा उहाँहरुसँग हुन्छौं। त्यसैले हामी बिच आत्मीयता नहुने कुरै भएन। यहाँ आउनुहुने सबैले आफ्ना कुरा राख्छन्। रमाइलो हन्छ। एउटै परिवारजस्तै हौं,' नयाँ पुराना कुमारीहरूसँगको भेटबारे उनले भने।

राज्यले पूर्व कुमारीलाई भत्ता दिँदै आए पनि त्यो अपुग भएको बुझाई छ उनको। त्यसैले शाक्यकै पहलमा काठमाडौं महानगरपालिकाले पूर्व कुमारीका सँगै पूर्व गणेश र भैरवलाई पनि भत्ता उपलब्ध गराउन थालेको हो। यस्तै, इन्द्रजात्राको लागि अक्षयकोष राख्न पनि उनले राष्ट्रपतिदेखि विभिन्न निकायसँग पहल गरिरहे। गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवसँग पनि उनले अक्षयकोष बारे कुरा राखे। तर, उनको कार्यकालमा त्यो पूरा भएन। विद्यादेवी भण्डारी राष्ट्रपति भएपछि पनि अक्षयकोषको कुरा अघि बढ्यो। भण्डारीले त्यसका लागि पहल समेत गरेको गौतम बताउँछन्। अन्तत: गत वर्ष भदौमा इन्द्रजात्राका लागि भन्दै ५ करोडको अक्षयकोष स्थापना भयो। तर, यस वर्ष उक्त कोषको रकम निकासा हुन सकेन।

'छिट्टै त्यो अक्षयकोष कार्यान्वयनमा आयो भने जात्रा संचालनमा कुनै बाधा नआउला,' गौतम आशावादी सुनिए।

गौतमको अक्षयकोष राख्ने र पूर्व कुमारी सहित गणेश र भैरवलाई भत्ता दिने लबिङ पूरा भयो। यसलाई उनी आफ्नो कार्यकालको सफलता मान्छन्। तर, उनको अझै एउटा सपना भने अधुरै छ। त्यो हो – सुन लेपन गरेको रथ बनाउने।

अहिले इन्द्रजात्रामा प्रयोग हुँदै आएको रथ मल्लकालीन रथ हो। कुमारी, गणेश र भैरवको रथ समय समयमा मर्मत र जीर्णोदार हुँदै आएको छ। रथमा कुँदिएका चित्रहरु कुनै हराइसके त कुनै मेटिसके। कतै चर्किएको पनि छ। कतै मक्काएको पनि। त्यसैले गौतम सके आफ्नै कार्यकालमा वा नसके अरु कसैले भए पनि नयाँ रथ बनाउन पर्ने बताउँछन्।

'तीनवटा रथहरु छन् मल्लकालीन। सुनले लेपन गरेर राखिएको रथ अहिले एकदमै नराम्रो स्थितिमा छ। मेरो पनि इच्छा छ कुमारी, गणेश र भैरवका लागि सुनको लेपन गरेर रथ बनाउने,' शाक्यले आफ्नो योजना सुनाए, 'अहिले मल्लकालीन रथको मर्मतमात्रै छ। झकिझकाउ छैन। यसरी रथ बनाउन पाए अझ राम्रो हुन्थ्यो। म कोसिस गर्छु मेरो कार्यकालमा। मेरो कार्यकालमा नभए पनि त्यो गर्नै पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell