PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आफ्नै पार्टीप्रति किन 'इरिटेड' छन् प्रचण्ड? माओवादी केन्द्र विघटन कि नम्बर १ पार्टी?



प्रकाश भण्डारी

आफ्नै पार्टीप्रति किन 'इरिटेड' छन् प्रचण्ड? माओवादी केन्द्र विघटन कि नम्बर १ पार्टी?

काठमाडौं : समकालीन नेता र उनीहरुको दलबारे टिप्पणी गरिरहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गते आफ्नै पार्टीप्रति आक्रोश पोखे। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले माओवादी नसच्चिए विघटन गर्नुपर्ने धम्की नै दिए।

'हामी पैसालाई प्रश्रय दिँदै जाने हो भने मार्क्सवादका चेला हौँ भनेर पार्टी विघटन गरिदिए हुन्छ। जनतालाई क्रान्ति गर्छु भन्ने प्रतिक्रान्ति गर्ने र धोका दिनुभन्दा बरु विघटन गरिदउँ। जसलाई अब त्यस्तै गर्नु छ एमालेमै गए भैगो नि,' प्रचण्डको आफ्नै पार्टी माथिको टिप्पणी थियो।

यसरी विघटनको धम्की प्रचण्डले पहिलो पटक भने दिएका होइनन्। भदौँ ३ गते राजधानीमा आयोजित 'एक्काइसौँ शताब्दीको मार्क्सवाद र समाजवाद' अन्तर्क्रियामा उनले माओवादी कुहिरोको काग बन्ने सम्भावना रहेको बताए।

'अलि धेरै नै नयाँ-नयाँ चिज गर्छौं भन्दा अध्यारोमा हराएको त होइनौँ हामी? हामी कता हो कता कुहिरोको काग त बन्न लागेका होइनौँ?,' प्रश्नमाथि प्रश्न गर्दै प्रचण्डलेः सोधेका थिए, 'हामीले मार्क्सवादी सिद्धान्तका आधारभूत मान्यतामा शंका पैदा गर्न थाल्यौं भने हामी आफैँ हराउने त होइन?'

प्रचण्डका एक महिनाका अभिव्यक्ति केलाउने हो भने उनमा आफ्नै पार्टीप्रति चरम निराशा रहेको बुझ्न गाह्रो छैन। त्यसै बिचमा आक्कलझुक्कल उनले आफ्ना गल्ती पनि स्वीकार्छन्। पार्टीमाथि नै शंका गर्ने र कमजोरी स्वीकार्ने प्रवृत्तिका कारण समकालीन नेतामा प्रचण्ड फरक देखिन्छन् पनि।

पार्टी विघटनको धम्की दिनु एक महिना अघि पनि प्रचण्डले आफ्ना पार्टीका नेताहरुप्रति आक्रोश व्यक्त गरेका थिए। माओवादीका सबै सांसदहरु मन्त्री हुन खोजेको भन्दै साउन ९ गते पार्टी कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो दिमागमा आतंक मच्चिएको बताएका थिए।

'कसलाई मन्त्री बनाउने मेरो दिमागभित्र आतंक छ। म मानसिक तनावमा छु। सबैलाई बनाए त हुने। तर, त्यो त हुँदैन। हामी आदर्शका कुरा गर्ने। तर, पदको आकांक्षा धेरै गर्ने,' प्रचण्डले माओवादी भित्र मन्त्रीका लागि बार्गेनिङ गरिरहेका नेताहरुलाई लक्षित गर्दै भनेका थिए।

त्यसो त प्रचण्डले आफ्नै बारेमा पनि टिप्पणी गरिरहन्छन्। उनले भदौ २७ गते काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा आफूलाई एक्लिने चिन्ता भएको भन्दै निराशा व्यक्त गरेका थिए। 'संसारभरी माओकै विचारधाराको कुरा भइरहेका छ। समाजवादी क्रान्तिको सुरुवात भइरहेका छन्। तै पनि उहाँले के फिल गर्नुभयो भने म एक्लो भएको छु। मलाई पनि कहिलेकाहीँ यस्तै लाग्छ,' आफ्नै अस्तित्वबारे प्रचण्डको विश्लेषण थियो।

आफ्नै आत्मालोचना गर्ने र सच्चिन तयार रहेको बताउनु उनक विशेषता नै हो। साथै यतिखेर उनी माओवादी घटकजति एक हुनुपर्ने अगाडि बढाइरहेका छन्। काभ्रेको पाँचखालमा वाईसीएलले आयोजना गरेको कार्यक्रममा उनले सबैभन्दा धेरै आफू नै बिग्रिएको सुनाए। 'अरुलाई भन्दिन बिग्रिएको मै हो। म सच्चिन्छु। अरु को-को सच्चिने तपाईँहरु सोच्नुस,' प्रचण्डले भने।

त्यसो त प्रचण्ड नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीमाथि पनि खनिन् थालेका छन्। एमाले डलरवादी भएको प्रचण्डको पछिल्लो टिप्पणी हो। काभ्रेको पाँचखालमै आयोजित कार्यक्रममा प्रचण्डले ओलीलाई हिन्दु अतिवादी नेता भएको आरोप लगाए। 'केपी जति बुद्धि नभएको कोही पनि देखेको छैन। यत्रो अवसर थियो देश बनाउने। सहमति पालना गर्दै अगाडि बढेको भए नेपालको इतिहासमा महान बन्ने अवसर थियो। दिमागमा गोबर भए पछि कसको के लाग्छ?,' प्रचण्डको अभिव्यक्ति थियो।

प्रचण्ड किन निरास?

माओवादीका नेताहरुको विचारमा प्रचण्ड पछिल्लो समय माओवादी भित्रको गुटबन्दीका कारण आजित छन्। पदका लागि प्रचण्डसँग धेरै नेताहरुले बार्गेनिङ थालेपछि प्रचण्डको दिक्क हुने पारो माथितिर चढेको एक स्थायी कमिटी सदस्यले बताए। 'पार्टीमा महत्वपूर्ण जिम्मेवारी पाएका नेता भए पनि सरकारमा भूमिका चाहियो भन्ने धेरै छन्। पाएन भने ठस्स हुन्छन्। पार्टीभित्र वैचारिक अस्पष्टता पनि भएकाले उहाँले इरिटेशन फिल गर्नुभएको छ,' ती नेताले भने।

त्यसो त प्रचण्डको कार्यशैलीलाई लिएर माओवादीभित्रै पनि विवाद नहुने होइन। उनको कार्यशैलीलाई नै लिएर जनयुद्धकालीन थुप्रै नेतालै अलगै पार्टी बनाएका छन्। पछिल्लो समय लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहा, मणि थापा लगायतले प्रचण्डसँग असन्तुष्टि जनाएर माओवादी छोडिसकेका छन्। अहिले माओवादी पुसमा हुने राष्ट्रिय सम्मेलनमा केन्द्रित हुदा पार्टीभित्र किचलो बढेको प्रचण्ड निकट नेताहरुको मत छ। अर्का एक नेताले प्रचण्ड आफैले संगठनात्मक निर्णयहरु गर्न नसकेकाले पनि पार्टीभित्र कचिंगल बढेको बताउँछन्।

'एमाले फुटाएर भर्खरै पार्टी बनाएका माधवकुमार नेपालले २ दिनमै धमाधम कमिटीका काम सक्नुभएको छ। तर, प्रचण्डले अहिलेसम्म पनि पदाधिकारीको टुंगो लगाइसक्नु भएको छैन्। धेरै पदहरु खाली छन्। उहाँ आफैले पनि घुडा धसेर संगठनात्मक कुराहरु टुंग्याउन सक्नुभएको छैन्। पुसमा राष्ट्रिय सम्मेलन भनिएको छ। त्यसमा पनि अब नेतृत्व चयनको विषयमा विवाद छ। विवाद भएमा चुनाव गर्ने भनेर आयोग त बनेको छ तर नेतृत्वको कतिसम्म हस्तक्षेप हुन्छ त्यो हेर्न बाँकी छ। जनवर्गीय संगठनमा वाइसिएलमा देखिसकिएको छ। विद्यार्थी संगठनमा पनि देखिहालिन्छ केही दिनमा,' ती नेताले भने।

माओवादी कमजोर देखेपछि प्रचण्डमा इरिटेशन

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले माओवादीप्रति जनताको आकर्षण घटदै गएपछि प्रचण्डले आफ्नै पार्टीप्रति आक्रोश व्यक्त गरेको बताए। पार्टी रुपान्तरण नगरि अहिलेकै अवस्थामा चलाउन नसकिने निष्कर्षमा प्रचण्ड पुगेको भन्दै गजुरेलले भने, 'उहाँले रुपान्तरणको आवश्यकता छ भनेर यसो भन्नुभएको हो। जनअपेक्षा अनुसार पार्टी चल्नुपर्‍यो भन्ने हो। यो हाम्रो पार्टीको मात्रै समस्या होइन। हाम्रा गतिविधिहरु जनभावना अनुसार हुनुपर्यो। पार्टी र नेताहरुप्रति जनताको आकर्षण हुनुपर्यो पार्टीलाई रुपान्तरण गर्नुपर्‍यो भनेर प्रचण्डले अहिले आफ्नो पार्टीको बारे पनि बोल्न थाल्नुभएको छ।'

माओवादी भित्रको तानातानका कारण प्रचण्डमा वितृष्णा उत्पन्न भएको भन्ने प्रचण्ड निकट नेताहरुको मतमा विश्लेषक पनि सहमत छन्। राजनीतिक विष्लेषक श्री कृष्ण अनिरुद्ध गौतम माओवादी भित्रको तानातानका कारण प्रचण्ड फ्रस्टेड भएको टिप्पणी गर्छन्।

'उहाँको फ्रस्टेशन हो यो। पार्टी भित्रको तानतानको अवस्था छ यसलाई लिएर उहाँमा निरासा देखिएको हो। समाजवादी क्रान्तितिर लागे भनिराख्नु भएको छ। कहिले विघटन गरौँ भन्नुभएको छ। यसका पछाडि पार्टिको आन्तरिक कारण बढी छ,' गौतमले भने।

अस्तित्वको संकट

आन्तरिक किचलो र सर्वोच्च अदालतको फैसलाका कारण नेपाल कम्युनिस्ट पार्टी अस्तित्वमा नहुदा पनि प्रचण्डमा चिन्ता बढेको गौतमको मत छ। नेकपा टुक्रा-टुक्रा बनेपछि माओवादी कमजोर शक्ति बनेको र कमजोर पार्टीको नेतृत्वमा हुँदा प्रचण्डमा निराशा उत्पन्न भएको गौतमको ठम्याइ छ। 'उहाँले, केपी ओली र माधव नेपालसँग मिलेर ठुलो पार्टी बनाउनु भो। त्यसमा भविश्य देख्नु भएको थियो। तर उहाँ, केपी ओली र माधव नेपालको स्वभाका कारण पार्टी टुक्रा टुक्रा बनेर गयो,' विश्लेषक गौतमले भने, 'माओवादी सबैभन्दा कमजोर शक्तिका रुपमा देखिन थालेको छ। बरु माओवादी भन्दा एमाले फुटेर बनेको समाजवादी अलि शक्तिशाली हो कि। माधव नेपालसँग मिल्नुभएको भए अवस्था छुट्टै हुन्थ्यो। तर त्यो पनि नहुदा खेरी अस्तित्वको संकट पनि हो कि उहाँको। पार्टीलाई कसरी सर्भाइव गर्न सकिन्छ भन्ने चिन्ता छ उहाँमा,'गौतमले भने।

विघटन गर्ने चेतावनी दिइरहेका प्रचण्ड त्यसो त आक्कल झुक्कल कार्यकर्तालाई उत्साही बनाउन चुनावमा माओवादी केन्द्र एक नम्बर पार्टी हुने दाबी गरिरहेका छन्। तर, ३५ वर्ष भन्दा लामो समयसम्म कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेर एकछत्र राज गरिरहेका प्रचण्डको पार्टी विघटनमै पुग्ने हो कि उनले नै भनेको एक नम्बर हुने हो, त्यो भने चुनावमा थाहा हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell