PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

अमेरिकासँग सम्झौता भए लगत्तै क्यानडाबाट चीन फर्किइन् हुवावेकी मेङ वेनझाउ



पहिलोपोस्ट

अमेरिकासँग सम्झौता भए लगत्तै क्यानडाबाट चीन फर्किइन् हुवावेकी मेङ वेनझाउ
Photo : Getty Images

क्यानडामा पक्राउ परेकी चिनियाँ टेलिकम जायन्ट 'हुवावे' की वरिष्ठ कार्यकारी मेङ वेनझाउ चीन फर्किएकी छिन्। हुवावेकी संस्थापककी छोरी वेनझाउ २०१८ को डिसेम्बरमा क्यानडामा पक्रउ परेकी थिइन्। अमेरिकाको अनुरोधमा उनलाई पक्राउ गरिएको थियो। जसकारण क्यानडा र अमेरिकासँग चीनको विवाद बढेको थियो।

अमेरिकासँग सम्झौता भएसँगै करिब ३ वर्षपछि हुवावेकी आर्थिक मामिला प्रमुख वेनझाउ स्वदेश फर्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

वासिङ्टनले हुवावेमाथि अमेरिकी प्रतिबन्धहरुको उल्लङ्घन गरी इरानमा हङकङको एक बैंकमार्फत हुवावेका उपकरणहरु बिक्री गरेको आरोप लगाएको थियो। इरानसँगको व्यापारिक कारोबारमा मेङले एचएसबिसी बैंकलाई भ्रमित पारेर धोखा दिएको अमेरिकी आरोप छ।

क्यानडाको एक अदालतबाट देश छाड्न नपाउने गरी जमानतमा मुक्त भएकी मेङ भ्यानकुभरमा आफ्नै स्वामित्वमा रहेका घरमा बस्दै आएकी थिइन्। उनले अमेरिकी आरोपको निरन्तर खण्डन गरिरहेकी छिन्।

मोबाइल र इन्टरनेट कम्पनीहरुका लागि हुवावे नेटवर्क गियरको सबभन्दा ठूलो विश्वव्यापी आपूर्तिकर्ता हो। वासिङ्टनले हुवावेका प्रविधिको प्रयोग सीमित गर्न अरु देशहरुलाई दबाब दिएको छ। हुवावेका उपकरणहरु देशको सुरक्षाका दृष्टिबाट निकै जोखिमपूर्ण रहेको अमेरिकी आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell