काठमाडौं: आजबाट सुरु भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रिओट्सलाई हराउँदै काठमाडौं किंग्स ११ ले सुखद सुरुवात गरेको छ। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा काठमाडौंले ललिपुरमाथि ७ विकेटको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेका हुन्।
सुरुवाती ब्याटिङमा उत्रिएको ललिपुरको ब्याटिङमा राम्रो सुरुवात हुन सकेको थिए। कप्तान कुशल भु्र्तेललाई शुन्य रनमै गुमाएको ललितपुरका लागि सन्डुन वीरकोड्डे पनि २ रनमै पभेलियन फर्किए। त्यस्तै ओशाडा फर्नान्डो पनि ४ रनमै आउट भएसँगै दवावमा आएको ललितपुरको पारी पवन सर्राफ र शंकर रानाले सम्हालेका थिए। सर्राफले ४४ बलमा ५ चौका र ४ छक्काको सहायतामा ६१ रन बनाउँदा शंकर रानाले १४ रन बनाए। त्यस्तै २० बलमा ३ छक्काको सहयातामा योगेन्द्र कार्कीले ३३ रन बनाउँदा रनजुङ मिकियो दोर्जी १७ रनमा अभिजित रहे।
बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिँदा रायन बर्ल र गुलसन झाले समान २/२ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंका रहमुल्लाह गुरबाज र रायन बर्लले अर्धशतकीय पारी खेले। गुरबाजले ३६ बलमा ४ चौका र ४ छक्काको सहायतामा ५९ रन बनाउँदा आक्रामक ब्याटिङ गरेका रायन बर्लले ३४ बलमा ७ छक्का ४ चौका प्रहार गर्दै ७३ रनमा अविजित रहे।
बलिङतर्फ पवन सर्राफले १ विकेट लिए।
भोलि प्रतियोगितामा दुईवटा खेल हुनेछन्।
