PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एमालेमा १० भाइलाई 'कर्नरिङ' : समूहगत छलफलमा समेत ओलीले गरे 'बाइपास'



पहिलोपोस्ट

एमालेमा १० भाइलाई 'कर्नरिङ' : समूहगत छलफलमा समेत ओलीले गरे 'बाइपास'

काठमाडौं : नेकपा एमालेले विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गरिरहेका छ। शुक्रवार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उप-महासचिव विष्णु पौडेलको विधान सशोधन प्रस्तावमाथि समूहगत छलफल भएको थियो। उक्त समूहगत छलफलको निष्कर्ष सुनाउन शनिवार टोली नेताहरु छानिएका छन्। 

टोली नेता छान्दा नेकपा एमालेमा तेस्रो धारका नेताका रुपमा चिनिएका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका दोस्रो तहका नेतालाई भने बाइपास गरिएको छ। उपाध्यक्ष भीम रावल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष युवराज ज्ञवाली लगायतका १० नेताहरुलाई नराखेरै टोली नेताहरु चयन भएका हुन्। 

प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वाग्मतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कडेल टोली नेता चयन भएका छन्। सुदूर पश्चिमबाट कर्ण थापा, उपत्यका विशेष प्रदेशबाट माधव ढुंगेल, जनवर्गीय तथा विभागहरुबाट खिमलाल भट्टराई चयन भएका छन्। टोली नेतामा चयन भएका  नेताहरु अध्यक्ष ओली निकट हुन्।

यता १० बुँदे सहमति भएको भन्दै नेता नेपाललाई छोडेर एमालेमा फर्किएका मध्यमार्गी नेताहरुले शुक्रवारको बैठकमा १० बुँदे सहमतिको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए। उनीहरुले एमालेमा १० बुँदे सहमति कार्यान्वयन नभए पार्टीमा विद्रोह हुने चेतावनी दिइरहेका छन्। तर, अध्यक्ष ओलीले भने शुक्रवारकै बैठकमा १० बुँदे कार्यान्वयनको माग बैठकको ऐजेण्डा बन्न नसक्ने जवाफ दिएका थिए।

ओलीको उक्त जवाफपछि एमालेभित्र फेरि असन्तुष्टि चुलिएको छ। १० बुँदे सहमति सुदूर पश्चिम प्रदेश र प्रदेश २ का केही जिल्लाहरुमा लागू भएको छैन। २०७५ जेठ २ गतेको कमिटीमा एमाले नफर्किएपछि भीम रावल लगायतका नेताहरु एमालेमा जिम्मेवारी बिहीन छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell