काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउन 'नम्बर वान म्यान' बन्नुपर्ने भन्दै सभापतिमा उम्मेदवारी दिने बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताए। साथै, १४ औं महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषदको जस्तै हुने बताए।
आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अव सभापति भएर काम गर्न चाहेको सिंहले बताए। उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि बताए।
‘१४ औं महाधिवेशनमा पनि ठिक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौ भने यो पार्टी प्रजापरिषदको बाटोमा जान धेरै दिन लाग्दैन है। त्यही कारणले गर्दाखेरी मैले अनुभव बोकेको छु, देखेको छु। पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि चाँही ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने मैले आफ्नो अनुभवबाट कन्क्लूजन ड्र गरेर अब चाँही ‘नम्बर वान म्यान’ भएर नेपाली काँग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागि रहेको छु’ सिंहले भने।
नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अव सभापतिमा उम्मेदवारी दिने योजना बनाएको बताए। उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने दाबी गरे। साथै, फेरी महाधिवेशनको मिति सार्ने षडयन्त्र भइरहेको बताए।
