PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

‘स्यानिटरी प्याड नि:शुल्क गर सरकार’ भन्दै आम युवा समूहले गरे विरोध प्रदर्शन

‘स्यानिटरी प्याड नि:शुल्क गर सरकार’ भन्दै आम युवा समूहले गरे विरोध प्रदर्शन

लक्ष्मी बलायर/पहिलोपोस्ट


काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडमा सरकारले कर लगाएको भनेर अहिले चौतर्फी विरोध भइरहेको छ। सडकदेखि सामाजिक सञ्जालसम्म यो चर्चा र वहसको विषय बन्न पुगेको छ। तर, अर्थ मन्त्रालयले भने हिजो मात्रै प्याडको मुल्य नबढाएको भन्ने जवाफ दिइसकेको छ।

यसैबीच, युवाको समुह ‘आम युवा समुह’ले आज शनिवार काठमाडौंको रत्नपार्कमा स्यानिटरी प्याड वितरण गरेर साङ्केतिक विरोध गरेको छ। जुन विरोध प्रदर्शन प्याडको मुल्य बृद्धि भन्दा पनि नि:शुल्क हुनुपर्छ भन्ने विषयमा केन्द्रित छ। विरोध प्रदर्शनको नारा नै ‘स्यानिटरी प्याड नि:शुल्क गर सरकार’रहेको छ।

सामाजिक अभियन्ता ज्वाला संग्रौलाले ‘अति गर तर नगर अत्याचार, आमाको रगतमाथि कर लगाउन लाज लागेन सरकार’ भन्दै कविता सुनाएकी थिइन्। साथै, उनले प्याडमा कर बढ्यो की बढेन भन्ने विषयमा अल्झिनु भन्दा पनि महिलाहरुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्यानिटरी प्याड सरकारले नि:शुल्क गर्नुपर्ने यस प्रदर्शनको माग रहेको बताइन्।

‘हामीलाई मुल्य बढेको या घटेकोसँग सरोकार भएन। प्याडमाथि १५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट थोपरेर किन मनपरीतन्त्र लादेको छ, यो हाम्रो सरोकारको विषय हो। यदि विगतको सरकारले गल्ती गरेको छ भने यो सरकारलाई अब गल्ति गर्ने छुट छैन। महिनावारी बिलासिता हैन, बाध्यता हो। हिजोको सरकारले काम नदिएर त आजको सरकार आएको हो नि। प्याडलाई फ्रि गरियोस् सरकार,’ उनले भनिन्।

सबै सामाजिक अभियन्ताहरु एकजुट भएर महिलाका लागि स्यानिटरी प्याड नि:शुल्क हुनुपर्छ भनेर विरोध प्रदर्शन गरिएको अभियन्ता केपी खनाल बताउँछन्। सरकारले माग पूरा नगरुन्जेल सरकारविरुद्धको आन्दोलन जारी नै रहने समेत उनको भनाइ थियो।

विरोध प्रदर्शनमा ज्वाला संग्रौला र केपी खनाल, सोनिका रोकाया, हेमराज थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सबैले स्यानिटरी प्याड नि:शुल्क हुनुपर्ने माग राखेका थिए। साथै ‘आम युवा समुह’ का युवाले महिलाहरुलाई नि:शुल्क प्याड समेत वितरण गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell