काठमाडौं : ललितपुरको बागमती किनारमा एक बालक मृत फेला परेका छन्।
पाँच दिनदेखि पानीको भेलसँगै ढलभित्र छिरेर हराएको एक बालकको शव हुन सक्ने प्रहरीको आशङ्का रहेको छ। मङ्गलवार राति करिब साढे ८ बजेतिर ढलमा छिरेका ९ वर्षीय बालक बेपत्ता भएका थिए। त्यसपछि प्रहरीले खोजी गरेको थियो।
'आफन्तले दिएको फोटो र शवमा भेटिएको कपडाको रंग एउटै छ। त्यसैले कपनबाट हराएका बालक नै हुन् भन्ने हो तर आफन्तले नहेरेसम्म केही भन्ने अवस्था छैन,' महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भनिन्।
कपन मिलनचोक तरकारी बजारमा रहेको ढलभित्र बालक छिरेर बेपत्ता भएको स्थानीयले खबर गरेपछि प्रहरी खोजीमा जुटेको थियो।
यसअघि भक्तपुरमा पनि यसरी सडकमा हिँडिरहेका मानिसलाई बगाएको थियो।