PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कांग्रेस अधिवेशन : लमजुङको राइनासमा मतपत्रमै लफडा, देउवा पक्षले षड्यन्त्र गरेको आरोप



रिना थापा

कांग्रेस अधिवेशन : लमजुङको राइनासमा मतपत्रमै लफडा, देउवा पक्षले षड्यन्त्र गरेको आरोप
फोटो सौजन्य : सुवास पौडेल

पोखरा : कांग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत शनिवार लमजुङ राइनास नगरपालिकामा विवाद भयो। विवाद सिर्जना हुँदा उम्मेदवार र कार्यकर्ताले मतपत्र नै जलाए। सभापति शेरबहादुर देउवा पक्षका नेताले षडयन्त्र गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मतपत्र जलाएका हुन्। कांग्रेस लमजुङले प्राविधिक त्रुटिका कारण निर्वाचन प्रक्रिया रोकेर मतपत्र जलाएको जनाएको छ।

अधिवेशनमा मतपत्रमार्फत हराउन षडयन्त्र गरेको भन्दै पौडेल पक्षका सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेल पक्षले मतपत्र जलाएका हुन्। पौडेलको प्रतिद्वन्दी सभापति देउवा पक्षका नुरराज कडरिया हुन्।

यस्तै विपक्षी प्यानलले सभापति उनलाई सर्वसम्मत छाडेर पदाधिकारीमा आउन खोजेको दाबी गर्दै पौडेलले गरे। तर हाम्रो प्यानलका लागि मतदान मै अघि बढेको उनले सुनाए।

'सर्वसम्मत रुपमै सभापति चुनौं र पदाधिकारीमा विपक्षी प्यानललाई छोड्ने भन्ने थियो, मतदान गरौं भन्ने पक्षमा थियौं हामी,' उनले भने, 'मतदान प्रक्रिया अघि बढेपछि हराउने षड्यन्त्र भएको हो, मिलेमतोमा प्राविधिक त्रुटि भनियो।'

आफ्नो नाममा क्रम संख्या नभएको कारण मतदान मान्य नहुनाले प्रहरी र निर्वाचन अधिकृतको रोहबरमा मतपत्र जलाइएको उनले बताए।

'मेरो नाममा क्रम संख्या २ छैन। दुबैमा १ छ। भोलि त्यो मतदान मान्य नभएर खारेज हुन्छ त्यसैले प्रहरी र अधिकृतको रोहवरमामा मतपत्र जलाइयो,' पौडेलले भने।

उनले देउवा पक्षका उम्मेदवारलाई झालझेल गर्न खोजेको आरोप लगाएका छन्।

'म बाहिर मत माग्नमा व्यस्त थिएँ। सभापतिको लागि २ मा मत हाल्नु भन्दै मत मागिरहेको थिए,' पौडेलले भने, '४० बढी मत खसेपछि नै थाहा भएको रहेछ दुईवटैको एउटै क्रम संख्या रहेछ भन्ने तर झालझेल भयो हराउन सुनियोजित गरेर हराउन खोजियो।'

आफुले भने १ सय २३ मत खसेपछि त्रुटि रहेको जानकारी पाएको पौडेल बताउँछन्। राइनासमा २ सय २ जना मतदाता छन्। महाधिवेशन हुनै नदिने रोकिरहने र षड्यन्त्र गर्ने पक्षमा आफू नरहेको बताउँदै आफूले मतको कदर गर्ने बताउँछन्।

यता कांग्रेस लमजुङले यसलाई प्राविधिक त्रुटिमात्र रहेको बताएको छ।

कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले प्राविधिक त्रुटिका कारण मतपत्रमा गल्ती देखिएको बताउँछन्।

'अरु केहि होइन प्राविधिक त्रुटिका कारण २ हुने ठाँउमा १-१ भएछ,' उनले भने, 'उहाँहरुले देख्नुभयो मतपत्र जलाउनुभयो हामीले पुन निर्वाचन गर्ने तयारी गरिसकेका छौँ।'

त्रुटि के थियो?

राइनासमा सभापति पदका लागि दुई उम्मेदवार छन्। देउवा पक्षका नुरराज कडरिया र पौडेल पक्षका श्रीकृष्ण पौडेल। मतपत्रमा सभापतिका सभापति पदको उम्मेदवारको नाम र क्रम संख्यासहित कोठा हुन्छ। रहेका दुई उम्मेदवारमा क्रम संख्या २ हुनुपर्नेमा १-१ मात्र छ। मतपत्रमा पौडेललाई मत दिन आवश्यक कोठा छैन। बाँकीको पदका उम्मेदवारको कोठा भने क्रमबद्ध रुपमा ठिक छ।

के भन्छन् निर्वाचन अधिकृत?

राइनास नगरपालिकामा कांग्रेसको अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृत दिनेश चिलुवाल हुन्। मतपत्र छाप्दा गल्ती भएको उनले स्वीकार गरेका छन्। मतदान प्रक्रिया स्थगित भएकोले अब जिल्ला निर्वाचन समितिले अधिवेशनबारे निर्णय लिनेछ।

मतपत्रमा त्रुटि र मतदान रद्द हुँदा दिनभर लाइन बसेर मतदान गरेका मतदाता भने आक्रोशित बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell