काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीका नेताहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदैछन्। ललितपुरको च्यासलमा शुक्रवार देखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले आइतवार जवाफ दिन लागेका हुन्।
केन्द्रीय कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनका साथै महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संसोधन प्रस्तावमाथि बैठकमा छलफल भएको थियो। समूहगत रुपमा भएको छलफलमा उठेका प्रश्नको ओलीले जवाफ दिन लागेका हुन्।
आजको बैठकमा ओलीसँगै पोखरेल र पौडेलले जवाफ दिने कार्यतालिका रहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। एमालेको विधान महाधिवेशन असोज १५,१६ र १७ गते ललितपुरको गोदावरीमा हुँदै छ। अधिवेशनमा प्रस्तुत हुने प्रस्तावहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गराउन बैठक बोलाइएको हो।
तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वन नभएको भन्दै प्रश्न गरेका थिए। उनीहरुले सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए पनि ओलीले भने उनीहरुको प्रश्न बैठकको ऐजेण्डा बन्न नसक्ने बताएका थिए। शनिवार छानिएका टोली नेतामा पनि असन्तुष्ट नेताहरुलाई सामेल गरिएको थिएन।
१० बुँदे कार्यान्वयन नभएमा एमालेमा फेरी बिद्रोह गर्ने असन्तुष्ट नेताहरुले चेतावनी दिदै आएका छन्। सुदुरपश्चिम प्रदेश र प्रदेश २ र बाग्मती प्रदेशका विभिन्न जिल्लामा १० बुँदे सहमति नभएको भन्दै एमाले भित्रको विवाद फेरि सतहमा आएको हो।
