PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

मध्यपुर थिमिमा कांग्रेस नगर अधिवेशन : कुर्सीको आडमा मतदान, प्लास्टिकको ड्रम मतपेटिका

मध्यपुर थिमिमा कांग्रेस नगर अधिवेशन : कुर्सीको आडमा मतदान, प्लास्टिकको ड्रम मतपेटिका

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा मतदान सुरु भएको छ। नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि आज बिहान ८ बजेबाट मतदान सुरु भएको हो।

मध्यपुर थिमिमा पनि मतदान जारी रहेको छ। शंखधार चोकस्थित शंखधर पार्टी प्यालेसमा सभापति चुन्न कांग्रेस कार्यकर्ता लामबद्ध छन्। पार्टी प्यालेसको हलमा गोप्य मतदानका लागि कोठाको व्यवस्था नरहेकोले कुर्सीले छेकेर मतदान गर्न लगाइएको छ। त्यसैगरी मतपत्रलाई प्लास्टिकको ड्रममा खसाल्ने व्यवस्था निर्वाचन समितिले मिलाएको छ।

मध्यपुर थिमिको नगर सभापतिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठ र हरिदास प्रजापति चुनावी मैदानमा छन्। श्रेष्ठको समूहबाट उपसभापतिमा बालकृष्ण प्रजापति र दानकृष्ण प्रजापति, सचिवमा दिनेश श्रेष्ठ र सविन प्रजापति, सहसचिवमा ओम जिमा श्रेष्ठ र प्रविन ह्याजु प्रतिस्पर्धामा छन् भने प्रजापतिको समूहबाट उपसभापतिमा अनिल श्रेष्ठ र सीताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ प्रतिस्पर्धामा छन्। आजै साँझसम्म परिणाम आउने गरी निर्वाचन समितिले काम गरेको कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell