काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा विराटनगर वारियर्स चितवन टाइगर्ससँग पराजित भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा चितवनले २ विकेटको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चितवनले ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा उत्रिएको विराटनगरको सुरुवात राम्रो हुन सकेन। आशिफ शेखलाई शुन्य रनमा र चन्द्रपउल हेमराजलाई २ रनमा गुमाएको विराटनगर सुरुमै दवाबमा आएको थियो। यद्यपि अनिल शाह र सिकन्दर राजाले विराटनगरको पारी सम्हाले। सिकन्दर राजाले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा २ चौका र ७ छक्काको सहायतामा ६७ रन बनाए। त्यस्तै अनिल शाहले ३२ रन बनाउँदा सौरभ खनाल ३० रनमा अविजित रहे।
बलिङतर्फ सोमपाल कामी, कमलसिंह ऐरी, करिम जनत र सागर ढकालले समान २/२ विकेट लिँदा सहाब आलमले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको चितवनले राजेश पुलामीको अविजित ४३ रनको सहायतामा लक्ष्य पुरा गर्यो। चितवनका लागि आक्रमक ब्याटिङ गरेका भीम सार्कीले ११ बलमा ५ चौका र १ छक्काको सहायतामा ३० रन जोड्दा दीलिप नाथले २३ रन जोडे। त्यस्तै करिम जनतले १९ र ओपनर इसान पाण्डेले १० रन जोडे।
बलिङतर्फ सिकन्दर राजा र करण केसीले समान २/२ विकेट लिँदा प्रतिस जिसी, अनिल खरेल र रेयन पठानले समान १/१ विकेट लिए।
आजै हुने अर्को खेलमा भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज आमनेसामने हुँदैछन्।
