PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

३३ किलो सुन प्रकरण जिल्ला अदालतबाट टुङ्गो लाग्दै : 'गोरे'देखि अन्य प्रतिवादीको पक्षमा ८० जना वकिल बहसमा



पहिलोपोस्ट

३३ किलो सुन प्रकरण जिल्ला अदालतबाट टुङ्गो लाग्दै : 'गोरे'देखि अन्य प्रतिवादीको पक्षमा ८० जना वकिल बहसमा

काठमाडौं : चार वर्षदेखि चर्चामा रहेको ३३ किलो सुन प्रकरण अब जिल्ला अदालतबाट टुङ्गो लाग्ने प्रक्रियामा छ। जिल्ला अदालत मोरङ बिहीवारदेखि बहस सुरु भएको हो। हेर्दाहेर्दैमा राखेर यसको लगातार सुनुवाइ भइरहेको छ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्कर बिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका घटनासँग जोडिएका प्लटहरू बाहिरिए।

सरकारले २०७४ चैत ३० गते  सहसचिव संयोजक ईश्वरीराज पौडेलको नेतृत्वमा उच्चस्तरीय छानिन समिति गठन गरेको थियो। समितिले विमानस्थलबाट ३ हजार ८ सय किलो सुन तस्करी भएको तथ्य बाहिर ल्याएको थियो। यस्तो तस्करीमा प्रहरीदेखि व्यापारीसम्मको संलग्नता भएको समितिले निष्कर्ष निकाल्यो।

समितिले सय दिन लामो अनुसन्धानपछि प्रहरीसहित ७५ जनालाई प्रतिवादी बनाएको थियो।

२०७५ वैशाख १९ गते सात जना प्रहरीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो। त्यसबाहेक अन्यलाई 'लगाऊ' मुद्दा लगाइएको थियो।

अहिले पनि यही घटनामा संलग्न भनिएका २६ जना थुनामा नै छन्। त्यस्तै, १० जना तारिकमा रहेका छन्। जिल्ला अदालत मोरङबाहेक अन्य अदालतबाट ३ जनाले तारिक बुझिरहेका छन्। त्यस्तै, १३ जना म्याद गुजारेर बसेका छन् र केही अझै फरार पनि।

मूल मुद्दाबाहेक लगाऊ मुद्दामा पनि अन्य मानिसलाई प्रतिवादी बनाइएको छ। मुद्दाको कोड नम्बर ७५ सीआर ०१-०११ मा सात प्रतिवादी रहेका छन्। जसमा सबै जना तारिकमा रहेको जिल्ला अदालत विराटनगरका सूचना अधिकारी  राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

त्यस्तै, ७४ सीआर - ०७४६ मुद्दामा ५ जनालाई प्रतिवादी बनाइएको छ। जसमा ४ जना तारिकमा रहेको र १ जना थुनामा रहेका छन्। त्यस्तै ७४ सीआर ०५८६ मुद्दामा दुई जना प्रतिवादी रहेका छन्। उनीहरूले तारिक गुजारेर बसेका छन्।

'इजलासले केही नयाँ कागजपत्र झिकाउनु पर्ने देखिएन भने यो बहस नै अन्तिम हुने देखिन्छ,' जिल्ला अदालत मोरङका श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले भने। आज आइतवार र भोलि सोमवार अदालतमा सरकारी वकिलले बहस गर्ने तालिका रहेको छ।

मुद्दा दर्ता हुँदा सात प्रहरीसहित २९ जनालाई पक्राउ गरिएको थियो। त्यसपछि यस घटनामा जोडिएका अन्य मानिसहरू पक्राउ पर्ने क्रम जारी नै रह्यो। अहिले पनि यस घटनामा जोडिएका कतिपय व्यक्ति अझै फरार छन्।

यही घटनामा प्रहरीको समेत संलग्नता देखिएको भन्दै एसएसपीसम्म लाई कारबाही गरिएको थियो। तर, अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने चाहिँ पत्ता लाग्न सकेको छैन। सुन प्रकरणका मुख्य अभियुक्त चुडमाणि उप्रेती 'गोरे'लाई २०७५ जेठमा पक्राउपछि सार्वजनिक गरिएको थियो। उनी अदालतको आदेशअनुसार केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्।

यसरी प्रतिवादी बनाइएका ६३ जनाविरुद्ध निजी वकिलले मंगलवारदेखि बहस गर्ने भएका छन्। अहिलेसम्म बहसका लागि ८० जना वकिलको नाम टिपाएका छन्। वरिष्ठदेखि कनिष्ठ वकिलसम्मको नाम बहस गर्नेको सूचीमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell