PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

गुलजार बन्ने कोसिसमा पोखरा : ११ देशका राजदूत पोखरा आइपुगे, भोलि कास्कीकोट पदयात्रामा निस्किँदै



रिना थापा

गुलजार बन्ने कोसिसमा पोखरा : ११ देशका राजदूत पोखरा आइपुगे, भोलि कास्कीकोट पदयात्रामा निस्किँदै
फोटो : युनिश गुरुङ

पोखरा : पर्यटकीय नगरी पोखरा कोरोना महामारीका कारण लामो समयदेखि ठप्प रह्यो। आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने ताल किनार सुनसान बन्यो। ताल किनारको फुटट्र्याकदेखि होटल रेष्टुरेन्ट बन्द र सुनसान भए।

अहिले सरकारले लामो समयदेखि बन्द गरेको पर्यटन क्षेत्र खुल्ला गरेको छ। सरकारले पर्यटन क्षेत्र खुल्ला गरेपनि पोखरामा पर्यटनको चहलपहल सामान्य समय भन्दा न्यून छ।

कोरोना कहर नहुँदो हो त यो समय लेकसाइड क्षेत्र पर्यटकले गुलजार हुने समय हो। तर, यतिबेला पोखराको पर्यटन फेवा किनार तैरिन खोजेको छ, पोखराको पर्यटन चलमलाउन कोसिस गरेको छ।

पोखराको पर्यटन लयमा फर्किन लागेको सन्देश दिन रेवानले विश्व पर्यटन दिवसको अवसरमा एक दिने सडक महोत्सव आयोजना गरेको छ। पर्यटन दिवसको छेको पारेर पर्यटन व्यवसाय र गण्डकी प्रदेशको निम्तोमा आइतवार विभिन्न ११ देशका राजदूत पोखरा आएका छन्।

राजदूतसँगै कूटनीतिक नियोगका प्रमुखहरु गरी २८ जनाको टोली पोखरा आइपुगेका हुन्। सरकारको निम्तोमा कतार, जर्मनी, श्रीलंका, दुबई, साउदी, कोरिया, इजिप्ट, थाइल्यान्ड, फिनल्यान्ड, युरोपियन युनियनका राजदूत पोखरा आएका हुन्।

संयुक्त राष्ट्र संघ, युनेस्को, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व खाद्य कार्यक्रमलगायत नियोगका नेपालस्थित प्रतिनिधिहरु पनि आजै पोखरा आएका छन्।

उक्त टोलि भोलि पदयात्रामा निस्किँदै छन्। टोलीको पदयात्रा भोलि बिहान ८ बजेबाट शुरु हुनेछ। सुरुवातमा उनीहरु कास्कीकोट जानेछन्।

त्यसपछि उनीहरुको गन्तव्य सराङकोटसम्म पैदल यात्रा हुनेछ। त्यसपछि उनीहरु अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिस फल, फेवा ताल घुम्ने छन्। दिनभरको दृश्यावलोकनपछि उनीहरुले पोखरा सडक महोत्सवको अवलोकन गर्नेछन्।

मुख्यमन्त्री र संयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुखको भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आइतवार पोखरामा औपचारिक भेटघाट भएको छ। विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारले नेपालस्थित राजदूत तथा विकास साझेदार संस्थाका प्रमुखका लागि गरेको विशेष कार्यक्रममा भाग लिन आएकी सारा बेसोलोले मुख्यमन्त्री कार्यालयमै भेटघाट गरेकी हुन्।

भेटघाटको अवसरमा मुख्यमन्त्री पोखरेलले राष्ट्र संघले नेपालमा मानविय क्रियाकलापका क्षेत्रमा लैंगिक विकास, मानव अधिकार, दीगो विकास लक्ष्य हासिल गर्नका लागि गरेको सहयोग महत्वपूर्ण रहेको बताए।

उनले भने, ‘सुशासनको प्रत्याभूति, संघीयताको कार्यान्वयन र विकासका कार्यमा हाम्रो ध्यान केन्द्रित भएको छ।’

कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरु अग्रसर रहेको भन्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढंगबाट संवोधन गर्नुपर्ने भनाइ राखे।

यस्तै, भेटका क्रममा संयुक्त राष्ट्र संघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीले दीगो आर्थिक विकास, प्रदूषणमुक्त रोजगारी (ग्रिन जब) आफूहरुको पहिलो प्राथमिकता रहेको बताइन्। उनले दीगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्र संघले अझै सघाउने प्रतिबद्धता जनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell