आफ्ना विरोधीलाई योजनावद्ध रुपमा समाप्त पार्न कति सम्मको हद पार गर्न सक्छ अमेरिका भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ जुलियन असान्जेको अपहरणपछि हत्यासम्मको योजना।
सन् २०१७ मा असान्जे लण्डनस्थित इक्वेडरको दूतावासमा शरण लिएको पाँचौ वर्ष हुँदै थियो। अमेरिकी गुप्तचर संस्था सीआईएले असान्जेलाई अपहरण गर्ने योजना बुनेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनभित्र असान्जेको अपहरण र हत्या सम्मको योजनालाई कार्यान्वयन गर्ने विषयमा बहस गर्माएको थियो।
याहु न्यूजले सीआईएका र ट्रम्प प्रशासनका केही उच्चअधिकारीहरुले हत्यासम्मको योजना बनाएको र उनलाई कसरी हत्या गर्न सकिन्छ भन्ने विषयमा स्केच वा विकल्पका बारेमा पनि छलफल भएको जनाएको छ।
असान्जेको अपहरण वा हत्याको विषयमा छलफल ट्रम्प प्रशासनका उच्च अधिकारीहरु माझ सिमित रहेको पूर्व वरिष्ठ ‘काउन्ट्र इन्टेलिजेन्स’ अधिकारीले बताएको समाचारमा उल्लेख छ - ‘त्यहाँ कुनै सीमा थिएन।’
यो संवाद विकिलिक्स र यसका संस्थापक विरुद्ध निर्देशित सीआईएको योजना अन्तर्गतको हो। सीआईएको बहुआयामिक योजना अन्तर्गत विकिलिक्ससँग सम्बन्धितको जासुसी गर्ने, समूहका सदस्यहरु बिच विवाद सिर्जना गराउने र उनीहरुको विद्युतीय सामाग्रीको चोरी गर्ने।
विकिलिक्सले सीआईएका संवेदनशील दस्तावजेहरु ‘भल्ट ७’ बाट चोरी गरि प्रकाशित गरिरहेको थियो। त्यसैले असान्जे अमेरिकी गुप्तचर निकायको निगरानीमा थिए।
राष्ट्रपति ट्रम्पले भर्खरै नियुक्त गरेका सीआईएका निर्देशक, माइक पोम्पेओ (विदेशमन्त्री)ले विकिलिक्स र असान्जेसँग बदला लिन खोजिरहेका थिए। असान्जे २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहेका थिए।
ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा अधिकारीले भनेका छन् - ‘उनीहरुले रगत देखिरहेका थिए।’
पोम्पेओले सन् २०१७ मा विकिलिक्सलाई ‘राज्यविहीन सत्रु खुफिया सेवा’को रुपमा व्याख्या गरेका थिए। उनले यस्तो भनेको केही महिनासम्म अमेरिकाले विकिलिक्स सम्बन्धि व्यक्तिहरुको सञ्चार तथा चालचलनको नजिकबाट जासुसी गरेको थियो। साथै, असान्जेको अडियो भिज्युल निगरानीसमेत गरेको पूर्व अधिकारीले बताएका छन्।
याहुले यो रिपोर्ट ब्रेक गर्नका लागि ३० पूर्व अमेरिकी अधिकारीसँग संवाद गरेको जनाएको छ। ती अधिकारीमध्ये ८ जनाले सीआईएको असान्जेलाई अपहरण गर्ने प्रस्तावको विस्तृत विवरणको व्याख्या गरेका थिए।
यस विषयमा सीआईएले प्रतिक्रिया दिन अस्वीकार गरेको छ। पोम्पेओले पनि प्रतिक्रिया दिएका छैनन्।
‘अमेरिकी नागरिकका नाताले, हाम्रो सरकारले तथ्यगत सूचना प्रकाशित गरेकै आधारमा कसैको अपहरण र हत्या सम्मको योजना बनाउँछ भने यसलाई म क्रुर ठान्दछु,’ असान्जेका अमेरिकी वकिल व्यारी पोलाकले याहु न्यूजसँग भनेका छन्।
असान्जे अहिले लण्डनको जेलमा छन्। २०१७ मा असान्जेलाई रुस पुर्याउने चर्चा चलिरहेको थियो। इक्वेडरले असान्जेलाई कुटनीतिक मान्यता दिँदै उनलाई रुसमा रहेको नियोगसम्म पुर्याउनका लागि विमानस्थलस्म लैजानका लागि सहयोग गर्ने योजना बनाएका थिए।
यसको प्रतिक्रिया स्वरुप सीआईएले असान्जेको रुस प्रस्थानलाई रोक्न विभिन्न योजना बनाएको पूर्व अधिकारीहरुले जनाएका छन्। जसमा लण्डनको सडकमा क्रेमलिनका सुरक्षा अधिकारीसँग गोली हानाहानसम्म गर्न तयारी थियो। उनी सवार रुसी कुटनीतिज्ञको गाडीलाई दुर्घटनामा पार्नेदेखि मस्को उड्ने विमानको चक्कामा गोली हान्ने सम्मको योजना बनेको थियो। यसका लागि अमेरिकी अधिकारीहरुले बेलायती समकक्षीसँग आग्रह गरेको र उनीहरु तयार रहेको समेत एक पूर्व उच्च अधिकारीले बताएका छन्।
सन २०१९ मा विकिलिक्सको वेवसाइट सार्वजनिक भएको थियो। यसमा जहाँसुकैबाट जोसुकैले पनि सूचना दिन सक्थे। त्यतिबेला अमेरिकाले सञ्चालन गरेको ग्वान्टेनामो वेको डिटेनी अप्रेसनको बारेमा सूचना संकलन गरिएको थियो।
सन् २०१० सम्म यसको चर्चा त्यति भएको थिएन्। २००७ मा अमेरिकी सेनाले बग्दादमा हेलिकोप्टर आक्रमण गर्दा दुई रोयटर्सका पत्रकारसहित कम्तिमा दर्जन नागरिकको हत्या र दुई बालिबालिका घाइते भएको गन क्यामेराको फुटेज २०१० मा सावजनिक गरेपछि चर्चा भएको थियो। पेन्टागनले त्यो फुटेजलाई नाटकीय भन्दै खारेज गरेको थियो।
त्यसको केही वर्ष पछि विकिलिक्सले अमेरिकी सरकारसँग सम्बन्धी गोप्य दस्तावेजलाई प्रकाशित गर्न पुग्यो जसमा अफगानिस्तान र इराक युद्धका पत्राचारहरु थिए। साथै तिनमा अमेरिकी कुटनीतिज्ञका दुई लाख ५० हजार बढी चिठीहरु थिए।
त्यसपछि असान्जे केहीका लागि हिरो भए र अरुका लागि भिलेन। अमेरिकाका लागि भिलेन हुनु अनौठो थिएन।
