भारतको महाराष्ट्र सरकारले कार्तिक ५ (२२ अक्टोबर) बाट फिल्म हल खोल्न दिने निर्णय गरेको छ। महाराष्ट्रका मुख्यमन्त्री उद्दव ठाकरेले गरेको घोषणासँगै धमाधम फिल्मका रिलिज मिति सार्वजनिक हुन थालेका छन्।
सबैभन्दा पहिले रोहित शेट्टीले फिल्म 'सुर्यवंशी' को प्रदर्शन मिति घोषणा गरेका हुन्। अक्षयकुमार अभिनित फिल्म 'सुर्यवंशी' तिहारमा रिलिज हुनेछ। 'सुर्यवंशी' हलिउड फिल्मसँग 'द इटर्नल्स' भिड्नेछ।
त्यस्तै, आइतवारमात्रै यशराजले आफ्ना चारवटा फिल्मको रिलिज मिति घोषणा गरेको थियो। जसमा 'बंटी और बबली-२' नोभेम्बर १६, 'पृथ्वीराज' २१ जनवरी, 'जयेशभाई जोरदार' २५ फेब्रुअरी र 'शमशेरा' १८ मार्च २०२२ मा रिलिज हुनेछन्।
जोन अब्राहमको मुख्य भूमिका रहेको फिल्म 'सत्यमेव जयते २' नोभेम्बर २६ मा रिलिज हुनेछ। आयुष्मान खुराना अभिनित फिल्म 'चंडीगढ करे आशिकी' ले १० डिसेम्बर, रणविर सिंह र दीपिका पादुकोणको फिल्म '८३' डिसेम्बर २५ र शाहिद कपुरको मुख्य भुमिका रहेको फिल्म 'जर्सी' ले डिसेम्बर ३१ को रिलिज मिति तय गरेको छ।
फिल्म 'राधेश्याम' ले जनवरी १४ र 'तडप' ले डिसेम्बर ३ को लागि प्रदर्शन मिति पक्का गरेको छ। त्यसैगरि अक्षयकुमार अभिनित फिल्महरु 'रक्षाबन्धन' अगस्ट ११ मा, ‘बच्चन पाण्डे’ सन् २०२२ को मार्च ४ र 'रामसेतु' भने २०२२ अक्टोबर २४ मा रिलिज हुने बताइएको छ।
आमिर खानको 'लाल सिंह चड्ढा' भने फेब्रुअरी १४ मा रिलिज हुनेछ। टाइगर श्राफको मुख्य भूमिका रहेको फिल्म ‘हिरोपन्थी २’ २०२२ को मे ६ मा रिलिज हुने भएको छ। अभिनेता अजय देवगणले निर्माण गरेको फिल्म ‘मेडे’ २०२२ को अप्रिल २९ तारिखबाट रिलिज हुनेछ ।
कार्तिक आर्यनको 'भुल भुलैया २' सन् २०२२ मार्च २५ र 'केएफजी २' २०२२ अप्रिल १४ रिलिज हुनेछन्।
फिल्मको कुल कमाईको ४० प्रतिशत हिस्सा महाराष्ट्रका हलबाट आउने गरेको तथ्यांक छ। महाराष्ट्रका सिनेमा हल खुलेसँगै फिल्मको रिलिज मिति घोषणा हुँदा फिल्म क्षेत्र पुरानै लयमा फर्कने देखिएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।