PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

पर्सा कांग्रेसको जिल्ला नेतृत्वमा देउवा गुट र निधि गुट भिड्दै, कसले मार्ला बाजी?



राधेश्याम पटेल

पर्सा कांग्रेसको जिल्ला नेतृत्वमा देउवा गुट र निधि गुट भिड्दै, कसले मार्ला बाजी?

वीरगंज : नेपाली कांग्रेस पार्टीको १४ औं महाधिवेशन जारी छ। भदौ ५ गतेदेखि ७७ मध्ये ५३ जिल्लाबाट वडा अधिवेशन शुरु हुँदै अहिले गाउँ/नगर अधिवेशन भइरहेको छ।

हाल ६४ जिल्लामा अधिवेशन चलिरहेको छ भने पाँच जिल्लाको क्रियाशील हालै सार्वजनिक भएको छ। ८ जिल्लाको क्रियाशिल सदस्य नमावली छिनोफानो हुन सकेको छैन।

प्रदेश २ को पर्सादेखि सप्तरी सम्म ६ जिल्ला र बाँकी प्रदेशको २ जिल्लामा अहिले पनि क्रियाशिल सदस्य नमावलीमा सहमति हुन नसकेर अधिवेशनमा अन्यौलता कायमै छ। यसैवीच, करिब १२ हजार क्रियाशिल सदस्य रहेको पर्सामा चाँडै वडा अधिवेशन शुरु हुने सम्भावना बढेको छ। एक दुई दिनमै पर्साको क्रियाशिल सदस्यहरुको नमावली आइसक्ने र वडा अधिवेशन प्रारम्भ हुने जिल्ला सभापति अजयकुमार द्विवेदीले जानकारी गराए। उनका अनुसार यसै साता नयाँ तालिकाअनुसार वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने तयारीमा बसेको बताए। ‘पुरानो तालिका संशोधन हुँदै गएको छ, चाँडै जिल्लामा अधिवेशन शुरु हुनेछ,’ उनले भने, ‘पर्साको क्षेत्र नं १, २ र ३ मा विवाद सकिएको छ, अब जिल्ला अधिवेशनतर्फ बढ्ने छ।’ पर्साको क्षेत्र नं १ को वीरगंज महानगरको केही वडामा विवाद थियो, भने क्षेत्र नं २ को ७ वटा वडामा नयाँ सदस्यता कसैलाई नदिने सहमति भएको छ। क्षेत्र नं ३ मा पनि पुरानै क्रियाशिल सदस्यलाई कायम गरी अधिवेशन गर्ने सहमति भएको छ।

जिल्ला सभापतिमा द्विवेदी, कुर्मी, अमात्य र क्षेत्रीको चर्चा

कांग्रेस पर्साको जिल्ला सभापतिमा आधा दर्जनभन्दा बढी आकांक्षी देखिए पनि चार जनाको नाम चर्चामा छ। पर्साको विभिन्न वडादेखि पालिका हुँदै जिल्लासम्म हुने छलफल तथा बहसमा वर्तमान जिल्ला सभापति अजय द्विवेदी, वरिष्ठ नेता रामनारायण कुर्मी, पूर्व सभापति जनार्दनसिंह क्षेत्री र पूर्व संविधान सभा सदस्य राजेन्द्रबहादुर अमात्यको चर्चा बढी हुने गरेको छ।

यदि यी चार जनामध्ये क्षेत्री र अमात्यले उम्मेदावारी फिर्ता लिए अन्तिममा द्विवेदी र कुर्मीबिच प्रतिस्पर्धा हुने सम्भावना छ। किन भने कुर्मी र क्षेत्री देउवा गुटमा छन् भने द्विवेदी र आमात्य विमलेन्द्र निधि प्यानलबाट छन्। कुर्मी र क्षेत्री समूहतर्फ देउवा खेमाका पर्साका उच्च तहका नेताहरुमा रमेश रिजाल, सुरेन्द्रप्रसाद चौधरी, अजयकुमार चौरसियालगायत नेताहरुको आपसी समर्थन रहेको देखिएको छ। केन्द्रमा संस्थापन पक्षमा रहेका निधिले सभापति शेरबहादुर देउवा खेमा छाड्दै सभापतिमा उम्मेद्वारी दिइसकेका छन्।

यता जिल्लामा क्रियाशिल सदस्यता नआएको र महाधिवेशन प्रतिनिधि नचुनिएसम्म जिल्ला सभापतिका उम्मेदवारहरु सार्वजनिक रुपमा मुख खोलिरहेका छैनन्। अहिलेबाटै उम्मेद्वारी दाबी गर्दा क्षेत्रीय प्रतिनिधिबाटै आउट गराइदिने डर नेताहरुमा देखिन्छ।

कांग्रेसको ७ वटा प्रदेश स्तरीय अधिवेशन कात्तिक १० देखि १२ सम्म र केन्द्रीय अधिवेशन मंसिर ९ देखि १३ गते सकाउनु पर्नेछ। सो अवधिभन्दा अघि जिल्ला अधिवेशन नभए दशै पश्चात वा केन्द्रीय अधिवेशन पश्चात पनि जिल्ला अधिवेशन हुन सक्ने सम्भावना छ। केन्द्रीय महाधिवेशनपछि जिल्ला अधिवेशन भएमा जिल्लामा नेतृत्व गर्नेको आकंक्षी बढ्ने देखिन्छ।

वीरगंज नगर सभापतिमा पत्रकारदेखि व्यवसायीसम्म

नेपाली कांगेसको वीरगंज नगर सभापतिमा यसपाली युवा तथा नयाँ अनुहारले उम्मेदवारी घोषणा गर्ने चर्चा छ। वीरगंज महानगरको नगर कमिटिमा व्यवसायी भोला कलवार, पत्रकार दिपेन्द्र चौहान, मनोहर साह, गजेन्द्र पटेल, जितेन्द्र पुरुष ढकाल, कालु सिंह, मणिन्द्रलाल नेपालीलगायतले सभापतिमा उम्मेवारी दिने इच्छा प्रकट गरेका छन्। वडा स्तरको चिया पसलमा गरिने छलफलमा यी अनुहारले नगर सभापतमिा तयारी थालेका छन्।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिवसमेत रहेका चौहान यसअघि पत्रकार महासंघ प्रदेश २ को अध्यक्ष र पर्साको अध्यक्षसमेत बनिसकेका छन्। भोला कलवार वीरगंज नगर सभागृहलाई भाडा लिएर होटल, रेस्टुरेन्ट तथा सभागृह सञ्चालन गरी व्यवसाय गरिरहेका छन्। वडा नं १५ का पूर्व अध्यक्ष पटेल पनि सभापतिमा आकंक्षी छन्। त्यसैगरी, नेपाली कांग्रेसका पुराना नेता जितेन्द्र पुरुष ढकाल, युवा नेताहरुमा मनोहर साह, सन्तोष गुप्तालगायत पनि सभापतिमा आउन सक्ने चर्चा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell