PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बुद्ध एयरका क्याप्टेन आङ्गेलु शेर्पा जसले यात्रु बचाउन काठमाडौंको आकाशमा झन्डै २ घण्टा फन्को मारे, कति गम्भीर हो जहाजमा आएको समस्या?



वसन्तराज उप्रेती

बुद्ध एयरका क्याप्टेन आङ्गेलु शेर्पा जसले यात्रु बचाउन काठमाडौंको आकाशमा झन्डै २ घण्टा फन्को मारे, कति गम्भीर हो जहाजमा आएको समस्या?

काठमाडौं : सोमबार एकैदिन सय मिनेटको अन्तरालमा त्रिभुवन विमानस्थलबाट उडेका बुद्ध एयरका दुई जहाजमा उड्दाउड्दै प्राविधिक समस्या आएपछि गन्तव्यसम्म नपुग्दै काठमाडौंमै फिर्ता अवतरण गरिए।

दुईमध्ये विराटनगर नपुग्दै आकाशबाटै डाइभर्ट गरेर निक्कैबेर 'ओभरफ्लाइ' गराएपछि मात्र काठमाडौंमा अवतरण हुन सकेको ९एन-एएनआई कल साइनको जहाज कम्तीमा १४ वर्ष उडिसकेको हो।

बुद्धले दुई वर्षअघि भारतको जेट एयरवेजसँग खरिद गरेको यो जहाज २०१९ सेप्टेम्बर १४ तारिखदेखि नेपालमा उडिरहेको छ। यसअघि यो जहाज सन् २००७ डिसेम्बर २१ तारिखमा भारतकै किङफिसर एयरलाइन्सले किनेर ६ वर्ष उडाएपछि २०१३ मा जेटलाई बेचेको थियो। किङफिसरले लिनुअघि यो एटिआर जहाज उत्पादक कम्पनीसँगै थियो कि अन्य वायुसेवा कम्पनीले उडाएको थियो भन्ने रेकर्ड भने छैन।

२४ वर्षदेखि संचालनमा रहेको निजी क्षेत्रको 'सबैभन्दा भरपर्दो' भनिएको यो वायुसेवा कम्पनीले 'सुरक्षित यात्रा' को नारालाई नै पस्किएर व्यापार गर्दै आएको छ। यात्रुले पनि बुद्धको यो नारामाथि 'विश्वास' गर्दै आएकाले नै यसले आन्तरिक उडानको बजार हिस्सामा सबैभन्दा ठूलो अधिपत्य हासिल गर्न सकेको छ।

तर सोमबार बिहान उडानमा प्राविधिक समस्या आएर आकस्मिक अवतरण गरेपछि बुद्धले दोस्रो जहाजबाट गन्तव्यमा पुर्‍याउन खोज्दा १५ जनाले टिकट 'विथड्र' गरेका थिए। काठमाडौं-विराटनगर उडेका ती यात्रु यसरी फेरि अर्को जहाजबाट पनि उड्न नमानेका हुन्।

बिहान साढे ८ बजे उडेको ९एन-एएनआई कल साइनको जहाज ४० मिनेट (९:१०) मा विराटनगर अवतरण हुनुपर्नेमा करिब दुई घन्टा (११७ मिनेट) आकाशमै फन्को मारेर बल्लतल्त काठमाडौं अवतरण भएको थियो।

ककपिटमा इन्डिकेटरले प्राविधिक समस्याको जनाउ दिँदा आकस्मिक अवतरण गर्न चाहेका चालक दलले जहाजमा फेरि अर्को समस्या आएपछि झन्डै दुई घन्टा आकाशमा फन्को मारेका थिए। ह्विल लक नै नखुलेपछि जहाजका क्याप्‍टेन आङगेलु (एजी) शेर्पाले दुर्घटना भइहाले क्षति कम होस् भन्नका लागि 'फ्युल बर्न' गरेर फोर्स ल्याण्डिङको तयारी गरेका थिए।

पछि लक खुलेपछि 'नर्मल ल्याडिङ' गरिएको भएपनि फोर्स ल्याण्डिङ गर्नु परेको भए जहाजमा सवार सबै यात्रु सकुशल हुन्थे वा हुँदैनथे, निश्चित थिएन। यसैले विमान उडिरहेको बेला यात्रुलाई पहिले नआत्तिन आग्रह गरेका एयर होस्टेसले पछि भने 'सकेसम्म बचाउन कोसिस गर्ने' सम्म भनेको यात्रुहरुको भनाइ छ। त्यसपछि विमानभित्रका सबै यात्रुको हंशले ठाउँ छोडेको थियो। यात्रुमात्र नभएर उनीहरुलाई सान्त्वना दिँदै गरेकी एयर होस्टेस समेतका आँखामा आँशु आइसकेका थिए।

त्यसअघि बिहान ६:५० मा काठमाडौंबाट पोखरा उडेको ९एन-एजेओ कलसाइनको जहाजमा पनि प्राविधिक समस्या आएपछि केहीबेरमै त्रिभुवन विमानस्थलमा फिर्ता अवतरण भएको थियो।

त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, पोखरा र विराटनगर दुवै गन्तव्यको उडान गरेका दुईवटा जहाज उड्दाउड्दै प्राविधिक समस्या आएको संकेत इन्डिकेटरले दिएसँगै आकस्मिक अवतरण भएका हुन्। पोखरा उडेको जहाजको भने ककपिटमा धुँवा आएको जनाउ भएको थियो। दुबै गन्तव्यका जहाजमा ७३ जना यात्रु सवार थिए।

बुद्धको जहाजमा आएको प्राविधिक समस्या अध्ययनका लागि नागरिक उड्डयन प्राधिकरण र कम्पनीको प्राविधिक टोली परिचालन भइसकेको प्राधिकरण हवाई सुरक्षा विभागले जनाएको छ। प्राविधिक समस्या देखिएकामध्ये ९एन-एएनआइ कलसाइनको एटिआर-७२ जहाजको निरीक्षण भने सुरु भइसकेको बताइएको छ। जहाज निरीक्षण गरेर उडानयोग्य ठहरिए मात्र यसले उडान गर्न पाउने विभागले जनाएको छ।

उक्त जहाज अवतरण गर्ने समयमा ल्याण्डिङ गियरको दुईवटा इन्डिकेटर (प्राइमरी र सेकेण्डरी) मध्ये प्राइमरी इन्डिकेटरले जनाउ नदिएपछि विराटनगरमा अवतरण हुन नसकेको कम्पनीको भनाइ छ।

जहाज उडानको समयमा कहिले काहीँ एउटा इन्डिकेटरमा समस्या आउनु स्वभाविक रहेको एक पूर्वपाइलटले बताए। उनी भन्छन्, 'उडानका क्रममा इन्डिकेटरमा समस्या आउनु स्वभाविक हो। इमर्जेन्सी केशलाई ध्यानमा राखेर नै जहाजमा दुईवटा इन्डिकेटर सिस्टम राखिएको हुन्छ। यो अवस्थामा प्राइमरी र सेकेण्डरी इन्डिकेटरभन्दा पनि जहाज उत्पादक कम्पनीले दिएको चेकलिस्टको पालना गर्ने हो।'

यसअघि पनि अन्य वायुसेवा कम्पनीको उडानमा यस्तै समस्या आउँदा फम राखेर अवतरण गराइएको प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले बताए।

जहाजको ल्याण्डिङ गियरमा र इन्डिकेटरमा समस्या आएको जानकारी आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आकस्मिक अवतरणका लागि फम व्यवस्थापनको तयारी गरेको थियो।

कति गम्भीर हो बुद्धको जहाजमा आएको समस्या?
 

एयरपोर्ट एमर्जेन्सी प्लान (एइपी) अन्तर्गत रहेको १२ वटा सावधानी प्रणालीमध्ये सोमबार बुद्ध एयरको खासगरी काठमाडौं-विराटनगर उडान गरेको जहाजमा उड्दाउड्दै आएको समस्यापछि 'अलर्ट थ्री' अन्तर्गतको प्रणाली अपनाइएको छ। आकस्मिक अवस्थामा वायुसेवा कम्पनीले पनि आफ्नो इआरपी (इमर्जेन्सी रेस्पोन्स प्लान) तयार गरेको हुन्छ।

१२ वटा अलर्ट प्लानमध्ये अलर्ट वान 'अल एयरपोर्ट एक्सिडेन्टका लागि विमानस्थल र चार किलोमिटरभित्र सम्मको दुर्घटनाका लागि बनाइएको हुन्छ। अलर्ट टु (अफ एयरपोर्ट एक्सिडेन्ट) अन्तर्गत विमानस्थलभन्दा चार किलोमिटरबाहिर दुर्घटना हुँदाको सुरक्षा योजना पालना गरिन्छ।

यसैगरी अलर्ट थ्रीलाई फुल स्केल एमर्जेन्सी मानिन्छ। सबै वायुसेवा कम्पनीको एआरपीमा चरणवद्धरुपमा समाधानको योजना बनाइएको हुन्छ।

सोहीअनुरुप आज बुद्धको उडानमा समस्या आएपछि जहाजको एमर्जेन्सी अवतरणका लागि सावधानी अपनाउँदै विमानस्थलको धावनमार्गको दुवैपट्टी फायर भेहिकल, एम्बुलेन्स, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सबै सुरक्षा संयन्त्र यसमा तैनाथ गरिएको थियो। धावनमार्गमा फोम समेत बिच्छ्याउने तयारी गरिएको थियो।

सुरुमा ल्याण्डिङ गियर नै नखुलेपछि वरिष्ठ क्याप्टेनले फ्युल बर्न गरेका इन्डिकेटरले काम नगरेपनि क्याप्टेनले ल्याण्डिङ गियर खोल्ने र बन्द गर्ने प्रक्रिया जारी राखे। वायाँतर्फको ल्याण्डिङ गियर खुलेपनि सुरुमा दायाँतर्फको ल्याण्डिङ गियर राम्रोसँग खुलेको थिएन। पछि दुवैपट्टीको ल्याण्डिङ गियर खुलेको निश्चित भएपछि जहाज अवतरण गरिएको थियो।

यो जहाजको उडान वरिष्ठ क्याप्टेन एजी शेर्पाले गरेका थिए। उड्डयन क्षेत्रमा लामो अनुभव भएका शेर्पाले जहाज सुरक्षित अवतरण गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell