PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

'किन यसरी'को रिमेकसँगै प्रमोद निर्वाणको 'कमब्याक लुक्स' यस्तो, हराए भन्नेलाई खोज्न आग्रह



लक्ष्मी बलायर

'किन यसरी'को रिमेकसँगै प्रमोद निर्वाणको 'कमब्याक लुक्स' यस्तो, हराए भन्नेलाई खोज्न आग्रह

करिब २५ वर्षअघि तिरको कुरा हो - नेपालको संगीत क्षेत्रमा म्युजिक ब्यान्डको लहर नै चलेको थियो। ब्यान्डमा नविन के भट्टराई, सुनिल बर्देवा, हरिस माथेमा, सुनिल उप्रेती, भिम तुलाधरहरुको दबदबा नै थियो। उनीहरुबाट नै प्रेरित भएर २०५५ सालमा प्रमोद निर्वाणले साथीसँग मिलेर एक ब्याण्ड बनाए। ब्याण्डको नाम राखियो - निर्वाण एन्ड म्युजिक लिंक। टिममा थिए ६ जना। ब्यास गितारिस्टमा अभिनाश गिरी, रिदम गितारिस्टमा दिनेश लिम्बु, किबोर्डमा विनायक थापामगर, गितारिस्टमा उत्तम थापा र ड्रमरमा थिए संजिव थापा। जसमा प्रमोद लिड सिंगर बने।

ब्यान्ड त बन्यो। तर, ब्यान्ड बनेको ३ वर्षपछि मात्रै बल्ल उनीहरुले पहिलो गीत रेकर्ड गर्न सके। गीत थियो - कस्तो मोडमा। ‘सेन्टिमेन्टल’ गीतलाई रुचाइयो पनि। केही महिनालगत्तै 'किन यसरी' बोलको गीत रेकर्ड भयो। किन यसरी, बोलको गीत प्रमोदले सिर्जना गरेको पहिलो गीत भएपनि रेकर्ड गराएको भने दोस्रो गीत हो। त्यही गीत बन्यो उनको जीवनको ‘टर्निङ प्वाइन्ट’। निर्वाण एन्ड म्यूजिक लिंकले यही गीतमार्फत चर्चा बटुल्यो।

रिमेकबाट कमब्याक!

दुई साताअघि बले इन्टरटेनमेन्टको युट्युब च्यानलबाट २० वर्षअघि रेकर्ड गरिएको यही 'किन यसरी' गीतको नयाँ भर्सन सार्वजनिक भएको छ। यो भर्सन पनि प्रमोदले नै गाएका छन्। स्वर झन्डै उस्तै तर फरक लुक्समा देखिएका छन् उनी। त्यतिबेला क्लिनसेभिङ फेसमा देखिएका प्रमोद अहिले दारीजुँगामा देखिएका छन्।

गीत रिलिज भएसँगै दर्शकबाट पाएको प्रतिक्रियाले मख्ख छन् प्रमोद। त्यसैले त यो गीतलाई उनी ‘कमब्याक’को रुपमा लिन्छन्।

भन्छन्, 'दर्शकहरुको प्रतिक्रिया निकै राम्रो आइरहेको छ। विदेशमा बस्ने साथीले फोन गरेर प्रमोद अरुले रिमेक गर्दा बिगार्छन्। तर तिमीले त झन राम्रो बनायौँ भन्यो। अहिलेसम्म कसैले पनि बिगारेको छ भनेको छैन। यो नै मेरो लागि ठुलो उपलब्धि हो।'

पछिल्लो समय प्रविधिको विकाससँगै रिमेक भर्सन र कभर गीत आउने क्रम बढ्दो छ। पुराना सिर्जनाहरुमा गीत निकाल्दा ‘नोटिस’ भइन्छ भनेर रिमेक गीतमा लगानी गर्न निर्माताहरु कन्जुसाई गर्दैनन्। तर प्रमोदलाई भने यो गीत रिमेक गर्ने कुनै सोच थिएन। धेरैले उनलाई इतिहास बनाइसकेको गीतमा रिमेक नगर्न सल्लाह दिन्थे। त्यसैले धेरैको रिमेक बनाउने आग्रहलाई समेत अस्विकार गरे।

‘किन यसरी’ किन भयो रिमेक?

प्रमोदलाई आफ्नो पुराना गीत रिमेक गर्ने कुनै योजना थिएन। तर, एकदिन कलाकार सागर लम्साल 'बले' ले उक्त गीतको रिमेक गर्ने प्रस्ताव उनी समक्ष राखे। रिमेक गर्ने कि नगर्ने भनेर सुरुमा उनले निर्णय लिन सकेनन्। उनकी श्रीमती सम्झना कुँवरले रिमेक गरेर नयाँ पुस्ताका लागि भए पनि यो गीत ल्याउनुपर्ने भन्दै सुझाइन्। प्रमोदलाई केही वर्ष यता गीतसंगीतबाट टाढिएको भनेर आरोपसमेत लाग्ने गरेको छ। श्रीमतीको सल्लाह र त्यही आरोप चिर्न भएपछि रिमेक गर्ने सोच बनाएको बताउँछन् प्रमोद।

यसअघि पनि बलेको टिमले यशकुमारको 'तिम्रै मन बदलिएछ' गीत रिमेक गरिसकेका थिए। जसले राम्रो चर्चासमेत पायो। बलेको टिम राम्रो भएकाले पनि सहकार्यमा रिमेक गर्न तयार भएको प्रमोदले बताए।

निर्देशक निकेश खड्कासँगको छलफलपछि गीत रेकर्ड गराउने पक्का भयो। शब्द पुरानै भएपनि संगीतमा भने केही परिमार्जन गरिएको छ।

'२० वर्षअघि किन यसरी गीत गाउँदा कलिलो नै थिए। तर त्यही गीत अहिले गाउँदा परिपक्कता पाए। लेडिज स्वर थपेर अलिकति परिवर्तन गर्ने प्रयास गरेको छु। केही सिकेका नयाँ कुराहरु पनि थप गरेको छु। अहिले झन् गीतमा मिठास आएको अनुभव भएको छ,' उनले दाबी गरे। रिमेक गीतमा उनलाई सरला बिसीले साथ दिएकी छिन्।

करियरको टर्निङ प्वाइन्ट

'किन यसरी' रेकर्ड भएसँगै 'निर्वाण एन्ड म्युजिक लिंक' थप उचाईमा पुग्यो। 'किन यसरी' गीत खासमा आफूले सिर्जना गरेको कविता भएको बताउँछन् प्रमोद। प्रमोदलाई सानैदेखि साहित्यमा रुचि रहेछ। आफूले कोरेको कवितालाई नै गीतमा ढालेको प्रमोदले सुनाए। 'किन यसरी' कविता लेख्दा भाइ सिरोज बर्ड रदाई गायक सुनिल बर्देवाको साथ रहेको बताउँछन् उनी।

प्रमोदको मामाघरतिर सांगीतिक माहोल थियो। गायक, एरेन्जर तथा गिटारिस्ट सुनिल बर्देवा उनका मामाका छोरा हुन्। स्वर्गीय सुनिल दाइबाट नै संगीतमा लाग्न रुचि लागेको बताउँछन् उनी।

यो गीतमा आफूलगायत साथीहरुको पनि भोगाईको भाव रहेको उनी सुनाउँछन्। रेकर्ड हुनुअघि नै यो गीत ब्यान्डको प्रस्तुति दिँदा गाइने गरिन्थ्यो। गीत सुन्दा उनका साथीहरु रुन्थे। साथै दर्शकहरुले समेत निकै मन पराउँथे। साथी र दर्शकले निकै राम्रो र मनछुने गीत भनेपछि यो रेकर्ड गर्ने सोच बनाएका रहेछन् प्रमोदले। गीत सार्वजनिक भएसँगै उनको ब्यान्डको खोजी हुन थाल्यो। उनीहरु कन्सर्ट र कार्यक्रमहरुमा व्यस्त हुन थाले।

रेकर्ड भएको दुई वर्षपछि 'किन यसरी' गीत 'बजेट २००३' कलेक्सनमा राख्ने मौका पाए प्रमोदले। त्यतिखेर कलेक्सनमा गीत पर्नु ठुलो कुरा थियो। किनकी उक्त कलेक्सनमा गायक कर्ण दास र निमा रुम्बाको गीतहरु पनि समावेश थिए।

पहिले गीतहरु रेडियो तथा एफएममा बजाउन दिइन्थ्यो। सगरमाथा एफएममा सुगम पोखरेलले 'नयाँ पुस्ता' कार्यक्रम होस्ट गर्थे। जसमा प्रमोदको 'किन यसरी' गीत निकै बजाइन्थ्यो। रेडियोबाट प्रमोदको गीत सुनेसँगै प्रोडक्सन हाउस स्याप(सम्झना अडियो)बाट एल्बमको लागि अफर आएछ।

फलरुवरुप 'निर्वाण एण्ड म्युजिक लिङ्क'को 'म्युजिक अफ द न्यु जेनेरेसन' एल्बम निस्क्यो। किन यसरी, तारा गनेर, कस्तोमोडमा र मायाको कोसेलीलगायत ८ वटा गीतहरु समेटिएका छन्। पहिले राम्रो गाउँदा कम्पनी आफैँ खोज्ने आउने उनको भनाई छ।

माध्यम बदलिए, दर्शकको माया उस्तै

‘किन यसरी, जब तारा गनेर अनि कस्तो मोडमा’लगायत गीत समावेश भएको एल्बम आयो। त्यतिखेर उनीहरुको ब्याण्डको डिमाण्ड पनि निकै बढेको थियो। त्यसबेला फ्यानहरुको माया दर्साउने माध्यम फोन, चिठ्ठी हुन्थ्यो। अनि स्टेज कार्यक्रममा भएका भेटहरूले हौसला बढाउँथ्यो। फोन नम्बर थाहा पाउनेले फोन गरेर प्रतिक्रिया दिन्थे, यतिसम्म कि कसैको त रगतले नै लेखेको चिठ्ठी पठाउँथे।

'पहिलो सोसल मिडिया थिएनन्। श्रोताहरु पत्रमार्फत माया र प्रतिक्रिया व्यक्त गर्थे। तर अहिले माध्यमहरु फेरिए पनि दर्शकले गर्ने माया उस्तै छ। पहिलेका फ्यानहरु पनि अहिलेसम्म सम्पर्कमा हुनुहुन्छ। यो गीत आएपछि पुराना फ्यानहरुले पनि फोन म्यासेज गरेर राम्रो प्रतिक्रिया दिनुभएको छ,' प्रमोदले भने।

२०६८ सालपछि उनको ब्यान्ड टुक्रियो। कोही विदेशिए त कोही आफ्नै काममा व्यस्त भए। त्यसपछि केही समय गाउनेभन्दा पनि संगीत इन्स्टिच्युट बनाउने र गीत एरेन्ज गर्ने कामतिर व्यस्त भए उनी। बिचमा 'ग्याप' राखेता पनि आफू संगीत क्षेत्रबाट नटाढिएको बताउँछन् उनी।

अहिले ब्यान्डका पुराना सदस्य साथमा छैनन्। तर आफू भने ब्यान्डलाई नै प्रतिनिधित्व गरेर अहिले पनि दौडिरहेको प्रमोद बताउँछन्। पुराना सदस्यहरु गएपछि ब्यान्डमा अन्य नयाँ सदस्यहरु जोडिएका छन्। साथै पुराना ब्यान्डका सदस्यहरुले विदेशबाट काममा सहयोग गरेको सुनाउँछन् प्रमोद।

संगीत क्षेत्रका माध्यमहरुमा फरक आएसँगै आम्दानीको बाटो नै फरक भएको उनको तर्क छ। पहिले आम्दानीको मुख्य स्रोत नै क्यासेट बिक्रीबाट आएको रोयल्टी र कन्सर्ट भएको बताउँछन् उनी। तर प्रविधिको विकाससँगै अहिले गीत निकाल्दा लगानी उठाउन नि गाह्रो हुने उनको तर्क छ।

'पहिले एउटा एल्बम निकाल्दा ४/५ वर्ष धान्थ्यो। तर अहिले गीतमा लगानी उठाउन निकै गाह्रो छ। चनाचटपट जसरी गीत छिटो छिटो निकाल्न गाह्रो छ। नाम त पहिले नै कमाई सक्यौँ। अब त बिजनेस माइन्ड पनि हेर्नुपर्छ। गीत निकालेपछि लगानी पनि उठ्नु पर्‍यो नि।'

प्रमोद फेरि आफ्नो चर्चित गीतसँगै फर्किएका छन्। र, आफू हराएको भन्नेहरुलाई खोज्न आह्वान गर्दैछन्। राम्रो गायक र पुरानो स्रष्टालाई हरायो भन्नुको साटो दर्शक र मिडियाले पनि खोज्नु पर्ने उनको उनको तर्क छ।

'अहिले प्रविधिले संसार नै सानो बनाएको छ। म हरेक सामाजिक सञ्जालमा जोडिएको छु। दर्शकले पनि खोज्नुपर्‍यो नि। अहिले नेपालमा रियालिटी शो पनि हुने गरेका छन्। त्यसमा पनि राम्रो कलाकारलाई खोजेर बोलाउनुपर्छ। तर अहिले त मिडिया भाइरलको पछिमात्रै लागिरहेका छन्,' उनले भने।

प्रविधिले अहिले विस्तारै ब्यान्ड संस्कृति हराउँदै गइरहेको उनको तर्क छ।

'पहिले ट्रयाक पाउन गाह्रो हुन्थ्यो। जसले गर्दा जसरी पनि ब्यान्ड चाहिन्थ्यो। त्यो बेला म्युजिक ट्रयाकको सिस्टम नभएको कारणले संगीतकारको महत्व हुन्थ्यो,' उनी थप्छन्, 'ट्रयाकभन्दा पनि लाइभ म्युजिसियन राखेर गीत गाउँदा राम्रो हुन्छ। पहिले समूहमा काम गर्ने हुँदा सबैको उत्तिकै महत्व र सिर्जना पनि बलियो हुन्थ्यो। अहिलेका रियालिटी शो हरुमा पुराना गीत नै गुन्जिन्छन्। पुराना गीतका रचनाहरु निकै बलियो हुन्छन् तर आजभोलि एकजनाले सबै आफै गर्न खोज्छन् अनि कहाँबाट राम्रो हुन्छ त?'

अहिलेको समयमा प्रविधिलाई स्विकार गर्नुबाहेक कुनै विकल्प नरहेको बताउँछन् उनी। तर  गीतसंगीतमा आएको परिवर्तनलाई उनी स्वभाविक नै मान्छन्।

भन्छन्, 'संगीत क्षेत्रको सुरताललाई भने बुझ्नुपर्छ। अहिलेको पुस्तालाई यस्तै गीत मनपर्छ भने अहिलेका गीतहरुलाई पनि नराम्रो भन्न मिल्दैन। तर अरुको मानहानी र धर्मसंस्कृति ठेस पुग्ने गीत भने निकाल्नु भएन।'

अहिलेको दर्शकहरुमा धैर्यताको कमी भएको र क्षणिक समयको लागिमात्र गीतमा रमाउने सुनाउँछन् उनी।

'किन यसरी' उनको पहिलो रिमेक गीत हो। आफूले रिमेक नै गर्ने ट्रेन्ड भने नबसालेको उनको तर्क छ। तर राम्रो बनाउने टिम पायो भने काम गर्ने भने उनको सोच छ।

अहिलेको मान्छेहरुमा क्रियटिभिटी हराउँदै गइरहेको भएर रिमेक र कभर गीतहरु बढ्ने ट्रेन्ड चलेको बताउँछन् उनी।

'रिमेक र कभर नि आउनुपर्छ। तर यसैको पछि भने लाग्नु हुँदैन। विस्तारै आफ्नो पहिचान र क्रियटिभिटी पनि ल्याउनुपर्छ। अहिले धेरैजसो कभर गीत गाएर हिट भइरहेका छन्। अर्काको गीतहरु गाएर पैसा कमाइरहेका छन्। तर मुख्य कलाकारहरु घरमै थन्किएर छाँयामा परिरहेका छन्। तर कपी गाउनेहरु माथि पुगिरहेका छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell