काठमाडौं : नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अफगानिस्तान लगायतका देशमा भइरहेको राजनीतिक संकटको बारेमा चासो व्यक्त गरेको छ।
राष्ट्रसंघको महासभाको ७६ औं सत्रमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले अफगानिस्तान, म्यानमार, लिविया, सिरिया, यमनसहित खाडीका देशहरुमा भइरहेको राजनीतिक अवस्थाप्रति चासो व्यक्त गरेका हुन्।
‘अफगानिस्तानको पछिल्लो विकासक्रम हामी सबैको साझा चासो हो। अफगानिस्तानका जनताहरु अझै राम्रो पाउन योग्य छन्। हामी बिना रोकटोक मानवीय सहायताका लागि आह्वान गर्छौँ,’ उनले भने, ‘अफगान समाजमा जनसेवाका कामहरुको पूर्ण सञ्चालन, जनस्वास्थ्य, शिक्षाका सबै शाखहरुको सञ्चालनका लागि आह्वान गर्छौँ।’
उनले सबैपक्षलाई शान्ति सुरक्षा र स्थायित्व सुनिश्चितताका लागि आह्वान गर्दै अफगान जनतालाई आफ्नो गौरव पूर्ण जीवन जिउन तथा उनीहरुको मौलिक अधिकार र स्वतन्त्रताको महसुस गराउन आग्रह गरे।
उनले म्यानमारका सरोकारवाला पक्षसँग जनताको चाहनाको सम्मान गर्दै प्रजातन्त्रको पुनर्स्थापना र संवैधानिक प्रक्रियबाट अगाडि बढ्न आह्वान गर्दै म्यानमारका जनताका मौलिक अधिकार र स्वतन्त्रताको सम्मान गर्न आग्रह गरे।
उनले शान्ति सुरक्षा तथा स्थायित्वको सुनिस्चितता र नागरिकको मौलिक अधिकार तथा स्वतन्त्रता रक्षाका लागि सबैपक्षसँग आग्रहसमेत गरेका छन्।
परराष्ट्रमन्त्री खड्काले नेपालको शान्ति, सुरक्षा, निसश्त्रिकरण, आतंकवाद, मानवअधिकार, दीगो विकास, जलवायु परिवर्तनका विषयमा सैद्धान्तिक अडान कायम रहेको भन्दै सबै प्रकारका आतंकवाद र अभिव्यक्तिहरुको भत्सर्ना गरे। उनले आम ध्वंन्सका लागि प्रयोग हुने हतियारहरुको निसत्रिकरणका लागि आह्वान गरे।
उनले मानवअधिकारको संरक्षण र मौलिक अधिकारको सुरक्षाका लागि आह्वान गर्दै यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहयोग पुग्ने बताए। उनले नेपालको दिगो विकास प्राप्तिको लक्षमा अगाडि बढाएको भन्दै २०५० सम्म नेट-जिरो इमिसनको प्राप्तिका लागि अगाडि बढेको बताए।
उनले कोभिड-१९ को संक्रमणका बेला नेपाललाई चीन, भारतलगायतका मित्रराष्ट्रले पुर्याएको सहयोग प्रति धन्यवाद दिँदै कोभिड-१९ विरुद्ध लड्न राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय समुदायले खेलेको भूमिकाप्रति धन्यवाद दिए।
उनले नेपाल २०२६ मा अति कम विकसित राष्ट्रबाट माथि उठ्ने योजना सुनाए। उनले नेपालको वर्तमान सरकार आफ्नो परराष्ट्र नीतिलाई सार्वभौमिक समानता, आपसी सम्बाद र सामुहिक फाइदाका साझेदारीका दिशामा अगाडि बढाउँदै सबै राष्ट्रसँग निकट सम्बन्ध राख्न चाहेको बताए।
नेपालले विश्वसँग ‘सबैसँग मित्रता र कसैसँग दुश्मनी छैन’ भन्ने नीतिमा अगाडि बढेको बताएको छ।
‘हाम्रो विदेश नीतिमा हाम्रा दुई छिमेकी भारत र चीनसँगको सम्बन्धले सर्वोच्च महत्त्व राख्दछ। नेपालका प्रवद्ध सुपुत्र वुद्धका ज्ञान अनुसारको पञ्चशीलको सिद्धान अनुसार शान्तिपूर्ण सहअस्तित्व अनुसार छ,’ उनले भने।
