काठमाडौं : गृह मन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
उपत्यकामा चाडपर्व लक्षित उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक महाशाखा प्रमुखलाई निर्देशन दिँर्दै गृहमन्त्री खाणले नागरिकलाई अनुभूति देखिगरी सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
‘अहिले सामान्य अवस्थामा जस्तै चाडपर्वमा पनि सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापन सहज हुनुपर्यो । नागरिकले महँगी, म्याद गुज्रेका खानेकुरा खाने अवस्था आउन भएन,’ मन्त्री खाँणले भने, ‘अहिले जस्तो अवस्था छ, त्यस्तै अवस्था रहनुपर्यो र चाडपर्वमा परिवर्तन देखिनुपर्यो।’
मन्त्री खाँणले परिवर्तनको परिणाम देखिने गरी काम गर्न र जनतालाई मुस्कुराएर सेवा दिन निर्देशन दिए।
‘यहाँहरूले अहिले बैठकमा सुनाएका चाडपर्व लक्षित योजना राम्रा छन् । योजना मात्रै राम्रा भएर भएन। ती योजना व्यवहारमा कार्यान्वयन गर्नुपर्यो,’ मन्त्री खाँणले भने, ‘जसरी हुन्छ उपलब्ध स्रोत र साधनको उपयोग गरेर अघिल्ला वर्षहरूमा भन्दा आम नागरिकले परिवर्तनको अनुभूति पाउनु पर्यो। प्रहरी र निजामती कर्मचारीले भन्दै आएको मुस्कानसहितको सेवा व्यवहारमा देखिनपर्यो।’
खास गरी सडकको अवस्था र अन्य नागरिकसँग सरोकार राख्ने विषयमा आफ्नो क्षेत्राधिकार भित्र पर्दैन भनेर चुप नबसी कसको क्षेत्राधिकारमा पर्ने हो, त्यो निकायलाई घच्घच्याउन पनि निर्देशन दिए।
बैठकमा उपत्यकाका काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा तथा, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी अशोक सिंह, ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी किरण बज्राचार्य र भक्तपुर प्रहरी प्रमुख एसपी शिवकुमार श्रेष्ठले चाडपर्व लक्षित सुरक्षा योजना र बजार व्यवस्थापनबारे योजना प्रस्तुत गर्नु गरेका थिए।
