काठमाडौं : नेकपा एमालेमा विवाद समाधानका लागि भएको १० बुँदे कार्यान्वयन गर्ने बारे गठित कार्यदलको बैठकले समस्या समाधानका विभिन्न विकल्पबारे छलफल गरेको छ। पार्टी कार्यालय थापाथलीमा बसेको बैठकमा १० बुँदे कार्यान्वयनमा देखिएको समस्या समाधानका लागि नीतिगत व्यवस्था गर्ने विषयमा छलफल भएको कार्यदलका संयोजक भीम रावलले जानकारी दिए।
भने,'१० बुँदे कार्यान्वयनको सन्दर्भमा जहाँ समस्या उत्पन्न भएका छन् त्यहाँ समस्या समाधान गर्नका लागि हामीले छलफल गरेका छौँ। संरचनागत उपायका बारेमा हामीले छलफल गर्यौं। विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र देखिएको १० बुँदे व्यवस्थाका बारेमा नीतिगत व्यवस्था गरेर समाधान गर्ने कुरा गरेका छौँ।'
१० बुँदे कार्यान्वयन नभएको भन्दै रावल लगायत १० नेताहरुले एमालेको केन्द्रीय कमिटीको बैठकमा असन्तुष्टि पोखेपछि ओलीले सोमबार स्थायी कमिटीको बैठक बोलाएका थिए। उक्त बैठकले रावललाई नै संयोजक तोकेको थियो भने यसअघि नै गठन भएको कार्यदलमा शंकर पोखरेललाई थप गरेर ७ सदस्यीय बनाएको थियो।
कार्यदलमा रावल, पोखरेल, महासचिव ईश्वर पोखरेल, उपमसहासचिव विष्णु पौडेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य लेखराज भट्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सदस्य छन्।