चितवन : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले एमसीसीका विषयमा जनताको विश्वास लिएर मात्र अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘एमसीसीको विषयमा जनतामा भ्रम छ त्यसलाई चिरेर मात्र अगाडि बढ्नुपर्छ।’
राष्ट्रियताको विषयमा देखिएका विवाद पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, ‘देशको विकासका लागि आउने बजेट हो। जनताको मन जितेर राष्ट्रियताको विषयमा देखिएको विवाद समाधान गर्दै अघि बढ्नुपर्छ।’
नेता केसीले १४ औँ महाधिवेशनका क्रममा संस्थापन इतरको समूहबाट एउटा मात्रै उम्मेद्वार बन्नुपर्नेमा जोड दिए। एउटा मात्रै उम्मेद्वार नभए आफू पनि सभापतिको उम्मेद्वार बन्ने उनको भनाइ थियो।
उनले भने, ‘पार्टीलाई विधिसम्मत चलाउनका लागि संस्थापन इतरको एक जना मात्र सभापतिको उम्मेदवार बन्नुपर्छ।’
अहिले पार्टीभित्र व्यक्तिवाद हावी गर्न खोजिएको उनको आरोप थियो।