PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वेटर हुँदै 'कफी घर'को यात्रा : यस्तो छ पोखराका सोभितको संघर्ष र सफलताको कथा



रिना थापा

वेटर हुँदै 'कफी घर'को यात्रा : यस्तो छ पोखराका सोभितको संघर्ष र सफलताको कथा

पोखरा : १५ वर्षमा एसएलसी सकाएपछि पढाईलाई निरन्तरता दिने रहर थियो सोभितको। जीवनमा उडान भर्न पखेटा हाल्नु थियो उनलाई। २०६५ सालमा एसएलसी पास गरी पोखरा आए सोभित। पर्वतका उनको पोखरा मामाघर। नयाँ थिएन पोखरा। तर परिवारको जिम्मेवारीले काम गर्नुपर्ने बाध्यता सिर्जना भयो।

कम उमेर, भर्खरै एसएलसी। सोचे अनुसारको जागिर पाउन मूश्किल।

पोखरा आएको पहिलो हप्तामा एक रेष्टुरेन्टमा 'वेटर'को जिम्मेवारी पाए सोभितले। वेटरको काम परिआए भाँडा माँझ्नेदेखि शौचालय सफा गर्नेसमेत भ्याउनुपर्ने। दिनभरी खटिएर गरेको कामले आफ्नो ज्यानलाई मात्र पुग्ने। सोभितको काँधमा परिवारको जिम्मेवारी पनि त थियो। आफूलाई नपुग्ने तलबले परिवारको खुशी कसरी समेट्न सकिन्थ्यो?

सोभितलाई यि र यस्तै चिन्ताले पिरोलिरहन्थ्यो। यस्तै समस्याले सोभितमा केही गर्ने हुटहुटी पलायो। त्यहीँ हुटहुटीले पोखराको सानो रेस्टुरेन्टको वेटरदेखि ठूला रेस्टुरेन्ट, होटलमा वेटर हुँदै म्यानेजर पदमा रहेर काम गरे। फरक फिल्ड फरक सोचाई मन पराउने सोभित होटल लाइनबाट पोखरा एयरपोर्टमा समेत आबद्ध रहेर हेलि एयर नेपालको म्यानेजरका रुपमा दुई वर्ष काम गर्ने अवसर पाए।  तर १० वर्षे जागिरे जीवनबाट पनि उनलाई सन्तुष्टि मिल्न सकेन।

जागिरे जीवनले थकित रहेका सोभित। व्यवसाय गर्ने हुटहुटी उनको पहिलेदेखि नै । तर लगानी जुटाउनुपर्ने समस्या पनि उत्तिकै। तर व्यवसायमा सफलताका लागि लगानी आवश्यक छ भन्ने उनलाई थाह थियो। उनले व्यवसायमा हात हाले। तर साथीसँग मिलेर गरेको व्यवसायले घाटा व्यहोर्नुपर्‍यो। व्यवसायमा भएको घाटाले नै उनी मानसिक रुपमा अस्वस्थ हुन पुगे। मदिरा सेवन उनको दैनिकी थियो। साथी मदिरा बन्न पुग्यो। डिप्रेसनलाई भुलाउन उनले मदिराको सहयोग लिन थाले। अत्याधिक मदिरा सेवनले उनलाई थला पार्दै लग्यो। त्यसपछि भने सोभित सोच्न बाध्य भए। मदिराको लतलाई भुलाउने बाटोको खोजीमा लागे उनी। एउटा लत छुट्टाउँदा कफीको लत बस्न पुग्यो। जागिर नै होटल लाइनमा भएकाले कफीको बारेमा जानकारी नै नभएको होइन उनलाई। तर दैनिक रुपमा कफी पिएपछि भने यसबारे जिज्ञासा पलायो सोभितलाई। ‘बेलुका हुनेबित्तिकै मदिराको खोजीमा रेष्टुरेन्ट धाउने म कफी पिउन थाले,’ उनी सम्झन्छन्,‘रक्सी पिउने समयमा कफीको लत बस्यो अहिले कफीले मेरो संसार बदल्दिएको छ।’

मदिरा छुट्टाउन पिएको कफीकै व्यवसायमा लाग्ने योजना बनाए सोभितले। मदिरा छोड्न पिएको कफीले एकदिन राम्रो व्यवसायी बनाउला भन्ने उनले सोचेका थिएनन्। सोभितले सन् २०१९ मा करिब १२ लाखको लगानीमा सभागृहमा कफी घरको स्थापना गरे। कफी घर संचालनमा आएसँगै कोभिडको महामारीले संसार ठप्प बन्यो। राम्रै सफलता प्राप्त गरिरहेको कफी घर लकडाउनका कारण बन्द गर्नुपर्ने बाध्यता आयो। 

बन्दाबन्दीले अरु घरबासमा भएका बेला सोभित भने योजना बनाइरहेका थिए। कफी घरलाई अझै वृहत बनाउन उद्देश्य स्वरुप उनी लागिपरे। ‘लकडाउन भएपछि मैले योजनागत रुपमा काम गर्न धेरै समय पाएँ। ६ महिनाको अवधि त मलाई सिक्ने वातावरण मिल्यो। कफी घरलाई अझै परिस्कृत गरी पुनः संचालन गर्ने मनसाय बनाए’, उनले भने।

बन्दाबन्दीको समयमा सोभितले कफीका बारेमा धेरै अध्ययन गरे। सोही अनुरुप पञ्चवर्षीय योजनाका आधारमा उनले कफी घरलाई नयाँ डिजाइन दिएका छन्। लकडाउनकै समय करिब एक करोड लागतमा पोखरा न्युरोड स्ट्रिट नम्बर ९ भित्र कफी घरलाई फेरि नयाँ स्वरुप दिएका हुन्।  सोभितको कफी घर आकर्षण शैलीको छ। ‘कफी घरको बाहिरी आवरणसमेत नयाँ बनाउने प्रयत्न गरेको छु,’ उनी भन्छन्, ‘न्युरोडजस्तो ठाउँमा पुरानो घर खोजेर त्यसलाई नै कफी सपको रुपमा संचालन गर्ने प्रयास मेरो हो।’

कफी गार्डन, हल र इन्डोर, उत्कृष्ट सिटीङ एरेन्ज  मस्त कफी पिउदै पुस्तकहरु पढ्न बस्ने, अफिसजस्तै काम गर्दै कफी पिउने, साथीभाईसँग समूहमा गफिदै कफी पिउने कफी घरका विशेषता हुन्। 

कफी घरको आफ्नै बेकरी फ्याक्ट्री संचालन गरी सबै प्रकार बेकरी प्रोडक्टलाई  घरघरमा पुर्‍याउने लक्ष्यका साथ सोभित लागि परेका छन्।  बारिस्टा र बेकरी तालिम दिई दक्ष जनशक्ति उत्पादनमा समेत जोड गरिएको उनी बताउँछन्। सम्पूर्ण कफी सपलाई आवश्यक पर्ने सामान (कफी बिन्स, कफी मेसिन, सप इन्टरियर डिजाइन) जस्ता सर्भिससमेत कफी घरबाट उपलब्ध गराइने व्यवस्था गरिएको छ।

सीप सिकेर रोजगारीका लागि विदेश जाने र स्वदेशमै केही गर्नेहरुका लागि कफी घर उत्कृष्ट गन्तव्य हो भन्दा फरक नपर्ला। धेरै र फरक प्रकारका सेवासुविधा सहित घटस्थापनाको दिन देखि पूर्ण रुपमा कफी घर संचालनमा आउने सोभितले बताए।

सोभितका अनुसार नेपालमा कफीको मार्केट बढ्दो छ। तर कफीको बिन्स कमसल खालको हुँदा नेपालीले वास्तविक कफीको स्वाद लिन नपाएको गुनासो उनी गर्छन्।

‘नेपालका अधिकांश कफी सपमा विदेशका कफीहरुको बिन्स भेटिएको छ। हामीले हाम्रो नेपालको उत्पादनलाई बेच्न पाएका छैनौं,’ उनले भने, ‘अलिअलि उत्पादन भएको नेपाली कफीको राम्रो बिन्स त विदेशी बजारमा माग बढी छ। यहाँ हुने सबै बिन्स कमसल खालका हुन् वास्तविक हाम्रो नेपाली कफीको स्वाद मिठो छ।’

भविष्यमा कफीलाई नै उनले कृषिमा परिणत गर्ने सोचका राखेका छन्। कफी आफैले उत्पादन गरी त्यसको बजारीकरणमा समेत लाग्ने योजना सोभितको छ। कफी घरलाई ब्राण्ड बनाउन चाहन्छन् सोभित। हिजो आफैं जागिरेको रुपमा रहेका सोभित आज रोजगारदाता भएका छन्।

सोभितको कफी घरमा प्राय सबै उमेर समूहका व्यक्तिहरुको जमघट हुने गर्छ। अहिले सोभितको कफी घरमा प्राय सबै उमेरसमूहका व्यक्तिहरुको जमघट हुने गर्छ। कफी घर अहिले सबैका लागि प्रिय बन्दै छ।

सीप सिकेर र बजारलाई बुझेर मात्र व्यवसायमा लाग्न सोभितको सुझाव छ। हतारमा गरिएको काम लतार हुनसक्ने भन्दै आफूले जानेको विषयलाई मात्र व्यवसायमा ढाल्न सके लाभ लिन सकिने अनुभवका आधारमा सोभित बताउँछन्। उनी भन्छन्, ‘मैले धेरै समस्या भोग्दै यहाँसम्म आइपुगेको छ। पहिले त सीप सिक्ने ठाउँ नै कम हुन्थे, अहिले धेरै छन्। त्यसैले कुनै पनि विषयको गहिरो अध्ययन गरेर व्यवसाय क्षेत्रमा होमिनुपर्ने आजको आवश्यकता हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell