PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

डलर सटहीमा राष्ट्र बैंकको कडाई : २०० डलरभन्दा बढी साटे कारबाहीको चेतावनी



सुदर्शन सापकोटा

डलर सटहीमा राष्ट्र बैंकको कडाई : २०० डलरभन्दा बढी साटे कारबाहीको चेतावनी

काठमाडौं : नेपाल राष्ट्र बैंकले डलर (परिवर्त्य विदेशी मुद्रा- भारुबाहेक) सटहीमा कडाइ गरेको छ। मंगलवार अधिकांश बैंकका ट्रेजरी प्रमुखहरुलाई डाकेर अब उपरान्त २०० डलर (बराबर) भन्दा बढी नगद सटही नगर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंकिङ विभागले डलर सटही गरेर बैंकहरुले 'सम्पत्ति शुद्धीकरण' मा सघाएको आरोप लगाउँदै २०० डलरभन्दा बढी सटही सुविधा दिए कारबाही गर्ने चेतावनीसमेत दिएको थियो।

विभागका कार्यकारी निर्देशक रामबहादुर मानन्धरले डाकेको बैठकमा 'ग्राहकलाई राष्ट्र बैंकले पैसा साट्न रोकेको भनेर नभन्न' सचेत गराएको थियो। 'पैसा नभएर नदिएको भन्नुहोला' भन्दै राष्ट्र बैंकका अधिकारीहरुले 'दोष राष्ट्र बैंकलाई नलगाउन' कडा रूपमा चेतावनी दिएका थिए।

राष्ट्र बैंकले अहिले वैदेशिक रोजगारीमा जानेलाई प्रति पासपोर्ट २०० डलर र पर्यटन भिसामा जानेलाई १५ सय डलर सटही सुविधा उपलब्ध गराउने औपचारिक व्यवस्था गरेको छ। यो औपचारिक व्यवस्थामा कुनै संशोधन नगरी बैंकहरुमार्फत सटही सुविधा कडाइ गर्न खोजेको हो।

राष्ट्र बैंकले कडा रुपमा सटही गरेमा अनुसन्धान गर्ने भनेर धम्क्याएपछि बैंकका व्यवस्थापनले आफ्ना शाखा कार्यालयमा 'कसैले २०० डलरभन्दा बढी दिए त्यसको जिम्मेवार सम्बन्धित कर्मचारी हुने' भनेर निर्देशन दिइसकेको छ।

राष्ट्र बैंकले बैंकरहरुलाई किन कडाइ गर्न लागेको भनेर खुलेर केही पनि भनेन। उसले १५०० को सटहीमा २०० डलरसम्म नगद र बाँकी कार्ड जारी गर्न भनेको छ। पछिल्ला दिन विदेशी मुद्राको सञ्चिति घट्न थालेको छ। उच्च आयातका कारण व्यापार घाटा बढेर शोधनान्तर ऋणात्मक भएको छ। त्यही कारण नगद भुक्तानीमा समेत राष्ट्र बैंकले कडाइ गर्न खोजेको हो।

असारको तुलनामा साउनमा विदेशी मुद्राको सञ्चिति ४४ अर्ब २१ करोड रुपैयाँले घटेर १३ खर्ब ५४ अर्ब ८२ करोड रुपैयाँमा झरेको छ। विगतमा पनि राष्ट्र बैंकले सटही सुविधामा कडाइ गरेको थियो। २५०० डलरसम्म सटही सुविधा उपलब्ध गराएको राष्ट्र बैंकले त्यसलाई घटाएर १५ सय डलरमा झारेको थियो।

अहिले १५ सयको सीमालाई औपचारिक रुपमा यथावत राख्दै २०० डलरभन्दा बढी नदिन मौखिक निर्देशन दिएको हो। राष्ट्र बैंक स्रोतका अनुसार, नगद विदेशी मुद्रा (भारु बाहेक) को मौज्दात घट्दै गएको छ। कोभिडका कारण पर्यटक आएका छैनन्। रेमिटेन्स पनि घटेको छ।

निर्यात बढ्न सकेको छैन। विदेशी मुद्रा आउने प्रमुख स्रोत रोकिएको छ। कोभिडका कारण राष्ट्र बैंक आँफैले पनि बाहिरबाट डलर किनेर ल्याउने अवस्था छैन। यसले मौज्दात रित्तिँदै गएपछि राष्ट्र बैंकले २०० डलरभन्दा बढी नगद नदिन भनेको हो।

'हामीले नगदबाहेक अन्य औजर (कार्ड/ट्राफ्टलगायत) मा रोक लगाएको छैन,' राष्ट्र बैंक स्रोतले भन्यो 'अवस्था सहज छैन। त्यही भएर अलिकति सचेत हौं भनेर बैंकरलाई भनेको हो।'

बीचमा कोभिडका कारण बाहिर आउजाउ गाह्रो थियो। त्यसो हुँदा डलरको माग धेरै हुन्थेन। अहिले अवस्था सहज हुन थलेपछि आउजाउ सहज भएर डलरको माग अत्यधिक बढेको छ। माग अत्यधिक हुन थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो।

राष्ट्र बैंकले सरकारका नीतिका कारण पनि डलर बाहिरिएको भन्दै यसमा सुधार गर्न आग्रह गरेको छ। अध्यागमन विभागले पर्यटन भिसामा बाहिर जानेले अनिवार्य रूपमा १००० डलर बोक्नैपर्ने व्यवस्था गरेको छ।

तर, पर्यटन भिसा लिएका सबैलाई पैसा आवश्यक नपर्न सक्छ। 'कतिपय छोरीज्वाइँ वा छोराबुहारी भेट्न गएका हुन्छन्। उनीहरुलाई १००० डलर आवश्यक नै पर्दैन,' राष्ट्र बैंक स्रोतले भन्यो, 'तर नियमअनुसार बोक्नु पर्छ। यसमा पनि थुप्रै पैसा जान थालेको छ।'

अर्कोतिर अहिलेकति देशले वर्किङ भिसा सजिलै जारी गरिरहेका छैनन्। तर नेपालीहरु भने कामकै लागि बाहिर गइरहेका छन्। उनीहरु यहाँ पर्यटन भिसा लिने र सम्बन्धित देशमा पुगेर श्रम भिसा लिने गरिरहेका छन्।

श्रम भिसा लिँदा २०० डलर भए पुग्छ। पर्यटन हुने बित्तिकै १००० डलर बोक्नु पर्छ। यो कारण पनि पछिल्लो समय डलरको माग बढेर गएको छ। यस्तो नीतिमा पुनरावलोकन गर्न राष्ट्र बैंकले अध्यागमन, श्रम मन्त्रालय र अर्थ मन्त्रालयलाई भनिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell