PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एमालेबाट अलग्गिने बाटो रोज्दै प्रभु साह, आगामी बाटो कतातिर?



विधुर ढकाल

एमालेबाट अलग्गिने बाटो रोज्दै प्रभु साह, आगामी बाटो कतातिर?

काठमाडौं : २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा उत्रिएका थिए प्रभु साह। तर, उनको यो विरोध धेरै लामो समयसम्म टिकेन। तत्कालीन नेकपाको प्रचण्ड-माधव नेपाल समूहको बैठकबाट बाहिरिएर बालुवाटार हुँदै शीतल निवासमा पुगेर मन्त्रीको सपथ लिएसँगै उनको विरोधले बिट मार्‍यो र सिंहदरबारको ढोका खुल्यो।

उनी सिंहदरबार त प्रवेश गरे तर उनका लागि आगामी दिनका बाटो भने त्यति सहज भएन। माओवादी केन्द्रले प्रतिनिधिसभाबाट साह सहितका सांसदहरुलाई पदबाट हटाउने निर्णयसहित सिफारिस गर्‍यो। उनीहरुको पद गयो। चैतमा सांसद पद गुमाएका उनीहरु ६ महिनासम्म मन्त्रीमा रहने आशा थियो। तर, सर्वोच्चको एउटा फैसलाले उनीहरुको मन्त्री पद खोस्यो।

जेठ ६ गते सर्वोच्च अदालतले गृह मन्त्रीसहित गैर सांसद सात जनाको पद खोसिदियो। सर्वोच्चले अन्तरिम आदेशमार्फत् तत्कालीन गृह मन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रम मन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामालाई पदमुक्त गरायो। 

त्यसयता साह एमालेबाट टाढिँदै गएका थिए भने अहिले एमालेबाट अलग हुने अवस्थामा पुगेका छन्।

साहले नेकपाको निरन्तरता भए एमाले स्वीकार गर्ने अन्यथा नगर्ने बताएका छन्। उनले नेकपालाई ओलीले नचिने आफूले पनि ओलीलाई नचिन्ने बताएका छन्।

पछिल्लो समय एमालेका कार्यक्रममा उनी सहभागी भएका छैनन्। उनी मधेशमा आइटी आर्मीका ब्यानरमा कार्यक्रम गर्दै हिँडिरहेका छन्।

एमाले बैठकमा फरक मत राखेर बाहिरिएपछि

नेकपा हुँदै ओलीलाई साथ दिएका साह आफू एमालेमा प्रवेश नै नगरेको दाबी गर्दै आएका छन्। उनले ‘नेकपाको निरन्तरता’को शर्तमा ओलीलाई साथ दिएको तर्क गर्छन्। तर, पछिल्लो समय एमालेभित्रको अभ्यास नेकपाको निरन्तरताको थिएन। पार्टी पुरानै एमालेमै फर्किएर अगाडि बढेपछि उनले नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा ८ बुँदे फरक मत राखे। त्यसको पहिलो बुँदामा नै नेकपा (एमाले) लाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै 'स्पिरिट'मा कार्य सञ्चालन गर्ने प्रस्ताव राखे।

एमालेको प्रतिवेदनमा जनताको बहुदलीय जनवादलाई सैद्धान्तिक आधार मानेको अवस्थामा साहले ‘जनताको जनवाद’लाई विकास गर्ने प्रस्ताव राखेका थिए। उनले नेकपाले अभ्यास गरेको जनताको जनवादलाई महाधिवेशन मार्फत् व्यापक छलफल गरेर विकास गर्नुपर्ने बताएका थिए।

उनले नेकपा एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन माग गरेका थिए। साथै उनले बनाएको आईटी आर्मीलाई पार्टीको जनसंगठनको रुपमा स्थापित गर्न माग पनि।

नेकपा एमालेको नेकपाको निरन्तरता भनेर प्रभु साह अगाडि बढे पनि अन्य पूर्व माओवादी नेताहरु एमालेका ब्यानरमा भएका सभाहरुमा सहभागी भएर प्रचण्ड माथि खनिइरहेका छन्। तर, प्रभु साह मधेशमा एमालेको ब्यानरमा पछिल्लो समय उभिएका छैनन्।

‘आठ बुँदे प्रस्तावमाथि एमालेको केन्द्रीय कमिटी बैठकले स्थान नपाउँदाको अवस्थामा अब एमालेमै रहने अवस्था कम रहेको छ,’ साह निकटका एक नेताले भने, ‘हामी नेकपाको निरन्तरतामा एमाले नाम गरेको पार्टीमा रहेका हौँ। नेकपाको निरन्तरता हुँदैन भने पछाडि फर्केर पुरानो एमालेमा रहन सक्दैनौँ भन्ने उहाँको विचार हो। त्यसमा उहाँ अडिक हुनुहुन्छ। हामी उहाँको साथमा छौँ।’

साह विधान माधिवेशन मार्फत् पारित हुने विधान, राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनलाई हेरेर अगाडि बढ्ने योजनामा रहेको ती नेताले बताए।

‘आठ बुँदे प्रस्ताव केन्द्रीय कमिटीको बैठकका लागि मात्र होइन विधान महाधिवेशनका लागि पनि हो। हामीले एमालेको महाधिवेशन होइन एकताको महाधिवेशन भनेका छौँ,’ उनले भने, ‘२०४८ सालको एमालेको निरन्तरताको रुपमा जनताको बहुदलीय जनवाद मान्ने पार्टी होइन नयाँ विचारसहित जनताको जनवादलाई परिस्कृत गर्दै अगाडि बढ्नुपर्छ भन्ने हाम्रो माग हो। यसको सम्बोधन कसरी हुन्छ त्यसलाई हेरेर अगाडि बढ्छौँ।’

एमालेबाट बहिर्गमनको सुरुवात

यता नेकपाको निरन्तरताको माग राखिरहेका बेला साह निकटहरुको एमालेबाट बहिर्गमनको सुरुवात भएको छ। यसको पहिलो कडी नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघबाट साह निकटका नेताहरुको राजीनामा हो।

साह निकट पाँच जनाले राष्ट्रिय युवा संघबाट राजीनामा दिएका छन्। जसमध्ये युवा संघका स्थायी कमिटी सदस्यहरु राकेशराज गिरी, नरेश साह तुरहा तथा केन्द्रीय सदस्यहरु निवेशकुमार, विरवल कुश्वाहा, संजय यादव रहेका छन्। उनीहरु सबै रौतहटका हुन्। जसमध्ये नरेश साह जिल्ला संयोजक हुन्।

‘एक पटक अगाडि बढिसकेको राजनीतिक दिशाबाट पुन: पछाडि फर्किनु प्रतिगामी कदम हो। त्यसैले देशलाई अग्रगामी दिशा दिन वर्तमानको नेकपा एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाए मात्र पार्टी नृत्वलाई साथ दिन सकिने भन्ने विषयमा हामीले निरन्तर राख्दै आएका छौँ,’ ती नेताहरुले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘तर पार्टीको मूल नेतृत्वले एकता निरन्तरता नस्वीकारेर पुरानै शैलीमा एकलौटी ढंगले अगाडि बढ्दा सर्वहारा क्रान्ति नै ओझेलमा पर्दै गएको स्पष्ट हुन्छ। क्रान्ति र जनताको भावना विपरीत यथास्थितिमा हामी सक्रिय हुन नसकिने अवस्था आएको हो।’

अबको बाटो के?

एमालेबाट क्रमश: निष्कृय हुँदै साह यतिबेला आइटी आर्मी मार्फत सक्रिय छन्। उनी निकटहरु आइटी आर्मीलाई पार्टीको दिशामा अगाडि बढाउने विकल्पबारे छलफलमा जुटेका छन्।

‘हामीबिच छलफल भइरहेको छ। आइटी आर्मी अहिलेसम्म विशुद्ध युवाहरुको संगठन हो,’ साह निकटका नेताले भने, ‘हामीले सामाजिक आर्थिक विषयसँग मधेशका विभेका विषयमा आवाज उठाइरहेका छौँ। यो राजनीतिक शक्ति पनि हो।’

नेकपाको निरन्तरता नभए एमालेमा रहने अवस्था नरहे आइटी आर्मी राजनीतिक विकल्पको रुपमा रहेको ती नेताले स्वीकार गरे।

‘हाम्रो मुख्य धार भनेको हिजोको नेकपाको निरन्तरता हो। बाम ध्रुविकरणको ऐजेन्डा हो,’ उनले भने, ‘नेकपा एमालेले त्यसको नेतृत्व गर्न नसक्ने अवस्था आउँदा यो पनि एक विकल्प हुन सक्छ। त्यस विषयमा पनि छलफलमा छौँ।’ 

माओवादी केन्द्रले नेकपाकै निरन्तरताको नेतृत्व गरे त्यता पनि विकल्प हुने बारेमा पनि छलफलमा जुटेका छन्।

'२०७५ सालमा अगाडि बढेको नेकपा फेरि २०७५ साल पछाडिको अवस्थामा फर्किने कुरा स्वीकार्य छैन,' साह निकटका ती नेताले भने, 'अग्रगामी नेतृत्व र विचार हाम्रो ऐजेन्डा हो। त्यसको नेतृत्व 'प्रभु साह'ले गर्नुहुन्छ। त्यसको पहल हामीले गर्छौँ।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell