जापानको सत्तारुढ दलको नयाँ अध्यक्षमा फुमिओ किशिडा निर्वाचित भएका छन्। लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो।
जापानका पूर्व विदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गरेका हुन्। उनका प्रतिष्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए।
नव निर्वाचित अध्यक्ष किशिडा पार्टी छिट्टै प्रधानमन्त्री बन्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्ने बताइएको छ।
सरकारलाई प्रभावकारी रुपमा संचालन गर्न नसकेको र कोरोना भाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफै पछि हट्ने निर्णय गरेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्। सुगा प्रधानमन्त्री भएको झण्डै एक बर्षमै पदबाट विदा हुन लागेका हुन्। रासस
