काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले देउवालाई सर्वदलीय बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको नेता देव गुरुङले जानकारी दिए।
उनले सर्वदलीय बैठक पछि पनि एमालेले सदन चल्न नदिए चाँडै सदन अन्त्य गर्ने तयारी बारेमा समेत छलफल भएको बताए।
'एमालेले सदन अवरोध गरिरहने र एजेण्डाहरु पास नहुने अवस्थामा सदन चलाएर मात्रै भएन। यसलाई चाडै अन्त्य गर्नुपर्छ भन्ने विषयमा छलफल भयो। तर, त्यसभन्दा अगाडि सर्वदलीय बैठक बोलाउनका लागि आग्रह गर्ने भन्ने कुरा भएको छ,' उनले भने।
माओवादी केन्द्रको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीका बारेमा छलफल गर्ने बताइएपनि गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिलेको भन्दै मन्त्रीबारे छलफल नभएको माओवादी केन्द्रका नेताहरुले बताएका छन्।
यस्तै, माओवादी केन्द्रले पुसमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुबारे पनि बैठकमा छलफल गरेको छ। १२ सय प्रतिनिधिले राष्ट्रिय सम्मेलनमा भाग लिने गरी माओवादीले तयारी गरिरहेको छ।
'राष्ट्रिय सम्मेलनमा प्रतिनिधत्व गर्नेबारे छलफल भएको छ। त्यसमा कसरी सहभागी गर्ने भन्ने कुरा छ,' गुरुङले भने।
माओवादीले संगठन विस्तारलाई प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको छ। संगठन विस्तार बारे संगठन विभागले बैठकमा सुझावहरु प्रस्तुत गरेको थियो।
नेकपा एमाले र नेकपा माओवादी एकताका बेलामा माओवादीमा रहेका नेता/कार्यकर्तालाई समेटेर कसरी लैजाने भन्नेबारेमा माओवादीले कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले पनि सुझाव दिएको गुरुङले बताए।
'विगत कालमा पार्टी एकताका बेलामा एकता भएका नेता/कार्यकर्तालाई समेटेर कसरी लैजाने भन्नेबारेको कार्यदलले रिपोर्ट पेश गरेको छ,' उनले भने। स्कुल विभागले पनि बैठकमा प्रतिवेदन प्रस्तुत गरेको थियो।
