PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कांग्रेस महाधिवेशन : कर्णाली प्रदेशका अधिकांश पालिकामा नेतृत्व चयन, धेरैमा पौडेल समूह हावी



पी बी खड्का

कांग्रेस महाधिवेशन : कर्णाली प्रदेशका अधिकांश पालिकामा नेतृत्व चयन, धेरैमा पौडेल समूह हावी

सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ। जसअन्तर्गत हाल स्थानीय तहको अधिवेशन भइरहेको छ भने केही स्थानीय तहमा क्रियाशील सदस्यता विवादले हुन सकिरहेको छैन।

महाधिवेशन अनिश्चित हुने जिल्लामध्ये कर्णाली प्रदेशका सुर्खेत र डोल्पा पनि हुन्। तर, आठ जिल्लामा भने पार्टी हाँक्न नयाँ नेतृत्व आइसकेका छन् अर्थात अधिवेशन भइसकेको छ।

ढिला गरी क्रियाशील सदस्यता टुंगो लागेर सार्वजनिक भएको सुर्खेत र डोल्पामा पार्टी नेतृत्वमा पुग्न होडबाजी चलेको छ। केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा र संस्थापनइतरका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच नेतृत्वका लागि टकराव भएजस्तै स्थानीय तहहरुमा समेत यि दुई समूहबीच नै रस्साकस्सी चलेको छ। यद्यपी, केही स्थानीय तहमा सर्वसम्मतीबाट नेतृत्व छनोटको भएका पनि छन्।

कर्णालीमा पौडेल समूह हावी

कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तहमध्ये आठ जिल्लाका ६२ वटा पालिकाले नेतृत्व पाइसकेका छन्। केन्द्रदेखि स्थानीय तहमा समेत सभापति देउवा र पौडेल समूहमा खुलेका कांग्रेस नेताहरुमध्ये २७ जना देउवा समूहका छन् भने ३४ जना पौडेल समूहका छन्। सहमतिअनुसार नेतृत्वमा पुगेकामध्ये कालिकोट, रुकुम (पश्चिम)लगायत जिल्लाका केही पालिकाका सभापति कसको कित्तामा उभिने अझै खुलेका छैनन्।

यसअघि पौडेल पक्ष बलियो मानिएको कर्णालीमा यस महाधिवेशनमा पनि आफ्नो विरासत कायम राखेको पौडेल पक्षीय नेताहरु बताउँछन्। यता, देउवा पक्षीय पनि आफ्नो समूह बलियो रहेको र नेतृत्वमा आफ्ना पक्षका नेताहरु चयन भएको नेताहरु दावी गर्छन्।

जिल्लागत वर्चस्व कसको कति?

दैलेखमा वरिष्ठ नेता पौडेल समूह हावी देखिएको छ। यसअघि देखि नै पौडेल समूहको वर्चस्व रहेको दैलेख यसमहाधिवेशनमा समेत कायम राखेको छ। दैलेखमा ११ वटा स्थानीय तहमध्ये ६ वटा पौडेल समूहको पोल्टामा पुगेको छ भने बाँकी ५ वटा देउवा समूहका नेतृत्वमा पुगेका छन्।

सभापति देउवा समूहमा खुलेकामध्ये नारायण नगरपालिका, दुल्लु नगरपालिका, आठबीस नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, डुंगेश्वर गाउँपालिकामा सभापति बनेका छन्।

त्यस्तै, ठाँटीकाँध गाउँपालिका, गुराँस गाउँपालिका, भगवती गाउँपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका र नौमुले गाउँपालिकामा पौडेल समूहका नेतृत्वमा पुगेका छन्।

सल्यानमा सभापति देउवा समूह र पौडेल समूहबीच रस्साकस्सी चलेको छ। बागचौर नगरपालिकाको नेतृत्वमा पुगेका दीपेश विसी भने खुलेका छैनन्।

देउवा समूहमा खुलेकामध्ये सिद्ध कुमाख गाउँपालिका, कुमाख गाउँपालिका, दार्मा गाउँपालिका, छत्रेश्वरी गाउँपालिकाको नेत्वमा पुगेका छन्। पौडेल समूहमा खुलेकामध्ये कालिमाटी गाउँपालिका, शारदा नगरपालिका, बनगाढ कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाको नेतृत्वमा पुगेका छन्।

जाजरकोटमा सभापति देउवा समूह हावी देखिएको छ। पार्टीका जिल्ला सभापति दीपकजंग शाहका अनुसार सात स्थानीय तहमध्ये ६ वटामा अधिवेशन भइसकेको छ भने एउटा पालिका विवादित बनेको छ। अधिवेशन भएकामध्ये देउवा समूहका चार स्थानीय तह र दुई वटा स्थानीय तहमा पौडेल समूहका नेता नेतृत्वमा पुगेका छन्।

सभापति देउवा समूहमा खुलेकामध्ये छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिकाको नेतृत्वमा पुगेका छन्। यता, पौडेल समूहमा खुलेकामध्ये नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाको नेतृत्वमा पुगेका छन्।

रुकुम पश्चिममा अधिकांश स्थानीयतहमा सर्वसम्मतिमा नेतृत्व चयन गरिएको जिल्ला सभापति प्रेमप्रकाश वलीले जानकारी दिए। मुसिकोट नगरपालिकामा सहमति नजुटेपछि भएको मतदानमा देउवा समूहबाट नेतृत्वमा पुगेका छन्।

६ वटा स्थानीय तहमध्ये मुसिकोट बाहेक अन्य स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन भएका कारणले पनि कुन कसको कित्तामा भन्ने प्रष्ट नभएको हो। आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका, सानी भेरी गाउँपालिका, त्रिवेणी गाउँपालिकाले नेतृत्व भने पाइसकेको छ।

आठ स्थानीय तह रहेको जुम्लामा नेता पौडेल पक्ष हावी देखिएको छ। आठमध्ये छमा पौडेल समूह र दुई स्थानीयतहमा सभापति देउवा समूह नेतृत्वमा पुगेको छ।

कनकासुन्दरी गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा पौडेल समूह नेतृत्वमा पुगेको छ।

त्यस्तै, सिंजा गाउँपालिका र गुठीचौर गाउँपालिकामा सभापति देउवा  समूह नेतृत्वमा पुगेको छ।

नौ स्थानीय तह रहेको कालिकोटमा अधिकांश सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ। सर्वसम्मतिबाट नेतृत्वमा पुगेकाहरुले देउवा समूह की पौडेल समूह कित्ता स्पष्ट पारेका छैनन्।

रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, पलाता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, शुभ कालीका गाउँपालिका, महावै गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ। यद्यपी, उनीहरुले आफ्नो समूह स्पष्ट नपारे पनि नेतृत्वमा पौडेल समूह हावी भएको बुझिएको छ।

नेपाली कांग्रेस कालिकोटले गुट र उपगुटभन्दा पनि स्थानीय तह वडादेखि जिल्ला तहको नेतृत्व सहमतिमा टुंग्याउन लागि परेको सभापति हर्ष बमले जाकारी दिए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवन बहादुर शाहीको बलियो पकड रहेको हुम्लामा देउवा समूह हावी बनेको छ। नेता शाही देउवा समूहका हुन्। जसले गर्दा पनि उनको समूहको  स्थानीय तहको नेतृत्वमा हावी बनेको हो।

यद्यपी, अधिकांश स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ। सात स्थानीय तहमध्ये ६ वटामा सभापति देउवा समूह र एकमा पौडेल समूह नेतृत्वमा पुगेका छन्।

सिमकोट गाउँपालिका, चंखेली गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पूनाथ गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिकामा देउवा पक्षका नेतृत्वमा छन् भने सर्केगाड गाउँपालिकामा पौडेल पक्ष नेतृत्वमा पुगेका छन्।

चार स्थानीय तह रहेको मुगुमा अधिकांश स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ। छायाँनाथ रारा नगरपालिकामा भने निर्वाचन गरिएको जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिए।

नेतृत्वमा पुगेकोमध्ये पौडेल समूह हावी देखिएको छ भने सभापति देउवा समूह कमजोर देखिएको छ।

चार स्थानीय तहमध्ये ३ वटामा पौडेल समूह रहेको छ भने एउटा देउवा समूहले नेतृत्व गरेको छ। जसमा खत्याड गाउँपालिका, मुगुम कार्मारोंग गाउँपालिका र सोरु गाउँपालिकामा पौडेल पक्ष नेतृत्वमा पुगेको छ।

नेतृत्वमा युवा हावी, महिला निष्प्रभावी

कर्णालीमा अहिलेसम्म पार्टी नेतृत्वमा पुगेकाहरुमध्ये युवाहरुको जमात बढ्दै गएको छ। विगतको तुलनामा यसपटकको कांग्रेस महाधिवेशनमा युवाहरु नेतृत्वमा पुगेका छन् भने महिला न्यून छन्।

स्थानीय तहको नेतृत्वमा पुगेका महिलामध्ये सल्यानमा एक महिला सभापतिको रुपमा नेतृत्वमा पुगेकी छन्।

सल्यानको छत्रेश्वरीमा सीता केसीले प्रतिद्वन्द्वी टेकबहादुर विष्टलाई पराजित गरेर सभापतिमा निर्वाचित भएकी हुन्। उनले विष्टलाई १९ मतले पछि पार्दै ६१ मत ल्याएर विजयी भएकी हुन्। उनी गाउँपालिकाको उपाध्यक्ष समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell