PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कर्णालीमा कांग्रेसको रस्साकस्सी कस्तो? स्थानीय तहमा नेतृत्व कस्को कब्जामा?



पी बी खड्का

कर्णालीमा कांग्रेसको रस्साकस्सी कस्तो? स्थानीय तहमा नेतृत्व कस्को कब्जामा?

सुर्खेत : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ। जस अन्तर्गत हाल स्थानीय तहको अधिवेशन भइरहेको छ भने केही स्थानीय तहमा क्रियाशील सदस्यता विवादले हुन सकिरहेको छैन।

महाधिवेशन अनिश्चित हुने जिल्लामध्ये कर्णाली प्रदेशका सुर्खेत र डोल्पा पनि छन्। तर, आठ जिल्लामा भने पार्टी हाँक्न नयाँ नेतृत्व आइसकेको छ। अर्थात् ती ठाउँमा महाधिवेशन भइसकेको छ।

ढिला गरी क्रियाशील सदस्यता टुंगो लागेर सार्वजनिक भएको सुर्खेत र डोल्पामा पार्टी नेतृत्वमा पुग्न होडबाजी चलेको छ भने अन्य जिल्लामा पार्टीले नेतृत्व पाइसकेको छ।

केन्द्रमा पार्टी सभापति शेरबहादुर देउवा र संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबिच नेतृत्वका लागि टकराव भएजस्तै स्थानीय तहमा समेत यी दुई समूहबिच नै रस्साकस्सी चलेको छ। यद्यपि, केही स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व छनौटको पनि भएको छ।

कर्णालीमा पौडेल समूह हावी

कर्णाली प्रदेशमा ७९ वटा स्थानीय तहमध्ये आठ जिल्लाका ६२ वटा पालिकाले नेतृत्व पाइसकेको छ। केन्द्रदेखि स्थानीय तहमा समेत सभापति देउवा र पौडेल समूहमा खुलेका कांग्रेस नेताहरु मध्ये २७ जना देउवा समूहका छन् भने ३४ जना पौडेल समूहका। सहमतिअनुसार नेतृत्वमा पुगेकामध्ये कालिकोट, रुकुम पश्चिमलगायत केही पालिकाका सभापति कसको कित्तामा उभिने हुन् अझै खुलेका छैनन्।

यसअघि पौडेल पक्ष बलियो मानिएको कर्णालीमा यस महाधिवेशनमा पनि आफ्नो विरासत कायम राखेको पौडेल पक्षीय नेताहरु बताउँछन्। यता, देउवा पक्षीय पनि आफ्नो समूह बलियो रहेको र नेतृत्वमा आफ्ना पक्षका नेताहरु चयन भएको देउवानिकट नेताहरु दावी गर्छन्।

नेतृत्वमा युवा हावी, महिला निष्प्रभावी

कर्णालीमा अहिलेसम्म पार्टी नेतृत्वमा पुगेका मध्ये युवाहरुको जमात बढ्दै गएको छ। विगतको तुलनामा यस पटकको कांग्रेस महाधिवेशनमा युवाहरु नेतृत्वमा पुगेका छन् भने महिलाको संख्या न्युन छ।

स्थानीय तहको नेतृत्वमा पुगेका महिलामध्ये कालिकोट र सल्यानमा एक/एक महिला सभापतिको नेतृत्वमा पुगेका छन्।

सल्यानको छत्रेश्वरीमा सीता केसी प्रतिद्वन्द्वी टेकबहादुर विष्टलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएकी हुन्। उनले विष्टलाई १९ मतले पछि पार्दै ६१ मत ल्याएर विजयी भएकी थिइन्। उनी गाउँपालिकाको उपाध्यक्षसमेत हुन्।

जिल्लागत बर्चश्वको यस्तो छ लेखाजोखा

दैलेख : संस्थापन कमजोर

दैलेखमा पार्टीको संस्थापन इतर समूह हावी देखिएको छ। यस अघिदेखि नै पौडेल समूहको बर्चश्व रहेको दैलेखमा त्यो अवस्था कायमै रह्यो। दैलेखमा ११ वटा स्थानीय तहमध्ये ६ वटा पौडेल समूहको पोल्टामा पुगेको छ भने, बाँकी ५ वटा देउवा समूहले हत्याएको छ।

देउवा समूहमा खुलेकाले नारायण नगरपालिका, दुल्लु नगरपालिका, आठवीस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, डुंङ्गेश्वर गाउँपालिकामा जित निकालेका छन्।

त्यस्तै, पौडेल समूहमा खुलेकाहरु ठाँटीकाँध गाउँपालिका, गुराँस गाउँपालिका, भगवती गाउँपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका र नौमुले गाउँपालिकाको नेतृत्वमा पुगेका छन्।

सल्यान : राम्रै रस्साकस्सी

सल्यानमा पनि सभापति देउवा समूह र पौडेल समूहबिच रस्साकस्सी राम्रै चलेको छ। बागचौर नगरपालिकाको नेतृत्वमा पुगेका दीपेश बीसी कतै खुलेका छैनन्।

देउवा समूहकाले शिद्धकुमाख गाउँपालिका, कुमाख गाउँपालिका, दार्मा गाउँपालिका, छत्रेश्वरी गाउँपालिकाको नेतृत्वमा जित निकालेका छन्। पौडेल समूहमा खुलेकामध्ये कालीमाटी गाउँपालिका, शारदा नगरपालिका, बनगाढ कुपिण्डे नगरपालिका, कुपरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिकाको नेतृत्व हत्याएका छन्।

जाजरकोट : देउवा हावी

जाजरकोटमा सभापति देउवा समूह हावी देखिएको छ। पार्टीको जिल्ला सभापति दीपकजंग शाहका अनुसार सात स्थानीय तहमध्ये ६ वटामा अधिवेशन भइसकेको छ भने एउटा पालिका विवादित बनेको छ। अधिवेशन भएकामध्ये देउवा समूह चार स्थानीय तह र दुई वटा स्थानीय तहमा पौडेल समूह नेतृत्वमा पुगेका छन्।

सभापति देउवा समूहमा खुलेका मध्ये छेडागाढ नगरपालिका जुनीचाँदे गाउँपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिकाको नेतृत्वमा पुगेका छन्। यता, पौडेल समूहमा खुलेका मध्ये नलगाढ नगरपालिका र बारेकोट गाउँपालिकाको नेतृत्वमा पुगेका छन्।

रुकुम पश्चिम : अधिकांशमा सहमति

रुकुम पश्चिममा अधिकांश स्थानीय तहमा सर्वसहमतिमा नेतृत्व चयन गरिएको जिल्ला सभापति प्रेम प्रकाश वलीले जानकारी दिए। मुसिकोट नगरपालिकामा सहमति नजुटेपछि भएको मतदानमा देउवा समूहबाट नेतृत्वमा पुगेका छन्।

६ वटा स्थानीय तहमध्ये मुसिकोट बाहेक अन्य स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन भएका कारणले पनि कुन कसको कित्तामा भन्ने प्रस्ट नभएको हो। आठवीसकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका, सानोभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिकाले नेतृत्व भने पाइसकेको छ।

जुम्ला : पौडेल अगाडि

आठ स्थानीय तह रहेको जुम्लामा पौडेल पक्ष हावी देखिएको छ। आठमध्ये ६ वटामा पौडेल समूह र दुई स्थानीय तहमा सभापति देउवा समूह नेतृत्वमा पुगेको छ।

कनका सुन्दरी गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा पौडेल समूह नेतृत्वमा पुगेको छ।

त्यस्तै, सिञ्जा गाउँपालिका र गुठीचौर गाउँपालिकामा सभापति देउवा समूह नेतृत्वमा पुगेको छ।

कालीकोट : अधिकांश सर्वसम्मत, खुलेन कित्ता

नौ स्थानीय तह रहेको कालीकोटमा अधिकांश सर्वसम्मतबाट नेतृत्व चयन गरेको छ। सर्वसम्मतबाट नेतृत्वमा पुगेकाहरुले कित्ता क्लियर गरेका छैनन्।

रास्कोट नगरपालिका, खाँडाक्र नगरपालिका, तिलागुफा नगरपालिका, पलाता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचाल झरना गाउँपालिका, शुभ कालिका गाउँपालिका, महावै गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ। उनीहरुले आफ्नो समूह स्पस्ट नपारे पनि नेतृत्वमा पौडेल समूह हावी भएको बुझिएको छ।

नेपाली कांग्रेस कालिकोटले गुट र उपगुटभन्दा पनि स्थानीय तह वडादेखि जिल्ला तहको नेतृत्व सहमतिमा टुंग्याउन लागि परेको सभापति हर्ष बमले जाकारी दिए।

हुम्ला : देउवा समूहको हावी

नेपाली कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीको बलियो पकड रहेको हुम्लामा देउवा समूहको हावी देखिएको छ। नेता शाही देउवा समूहका हुन्। उनको समूह स्थानीय तहको नेतृत्वमा हावी बनेको हो। यद्यपि, अधिकांश स्थानीय तहमा सर्वसम्मतlबाट नेतृत्व चयन गरिएको छ।

सात स्थानीय तहमध्ये ७ वटामा सभापति देउवा समूह र एकमा पौडेल समूह नेतृत्वमा पुगेका छन्।

सिमीकोट गाउँपालिका, चंखेली गाउँपालिका, नाम्खा गाउँपालिका, खार्पूनाथ गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका देउवापक्षका नेतृत्वमा छन् भने सर्केगाड गाउँपालिकामा पौडेल पक्ष नेतृत्वमा पुगेको छ।

मुगु : सबै सर्वसम्मत

चार स्थानीय तह रहेको मुगुमा अधिकांश स्थानीय तहमा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ। छायाँनाथ रारा नगरपालिकामा भने निर्वाचन गरिएको जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिए।

नेतृत्वमा पुगेका मध्ये पौडेल समूह हावी देखिएको छ। यहाँ सभापति देउवा समूह कमजोर देखिएको छ।

चार स्थानीय तहमध्ये ३ वटामा पौडेल समूह रहेको छ भने एउटा देउवा समूहले नेतृत्व गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell