काठमाडौं : अहिले पनि देशभर दैनिक एक हजार भन्दा बढीमा कोरोना संक्रमण देखिइरहेको छ। काठमाडौं उपत्यकाभित्र पनि दैनिक ३ सय जनामा संक्रमण भेटिएको छ। उपत्यकाभित्रका तीन वटै जिल्लामा कोभिड संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्ने प्रशासनले आदेश जारी गरेका छन्। तर, प्रशासनको आदेश कागजमा मात्र सीमित रहेको छ।
अहिले काठमाडौं उपत्यकाभित्र सडकदेखि सार्वजनिक सवारीमा पनि मानिसको उत्तिकै भिड देखिन्छ। त्यस्तै, नजिँकिदै गरेको दशैंले गर्दा किनमेल हुने ठाउँमा मानिसको भिड लाग्न थालिसकेको छ। राजीनितक दलहरुले पनि विरोध र समर्थनको नाममा मानिस जम्मा गरेर सभा जुलुस गरिरहेका छन्। नागरिक समाज र अभियन्ताहरुको गतिविधि पनि यथावत नै छ।
जिल्ला प्रशासनक कार्यालय काठमाडौंले आज जारी गरेको आदेश अनुसार कुनै पनि भीडभाड हुने कार्यक्रहरु सभा, सम्मेलन, जुलुस, जात्रा महोत्सव गर्न पाइने छैन। जारी गरेको विज्ञप्तिको पहिलो नम्बरमा नै कोभिड १९ संक्रमण भइरहेकाले अनावश्यकरुपमा घरबाट ननिस्किन, जम्मा नहुन, भिडभाड नगर्ने, जुलुस नगर्ने, जात्रा मोहत्सव, भोज आदि नगर्न/ नगराउन भनिएको छ।
त्यस्तै सार्वजनिक सवारीमा पनि सिट क्षमता भन्दाबढी यात्रु नराख्ने भनिएको छ। तर, कार्यन्वयन भने देखिँदैन। त्यसैले जिल्ला प्रशासनको निर्देशन कागजीमात्रै भइरहेको देखिन्छ।
