PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

राष्ट्रिय भलिबल : एपिएफद्वारा पुलिस पराजित, न्यू डायमन्डसँग हार्‍यो आर्मी



पहिलोपोस्ट

राष्ट्रिय भलिबल : एपिएफद्वारा पुलिस पराजित, न्यू डायमन्डसँग हार्‍यो आर्मी
FILE PHOTO

काठमाडौं : छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह एको विजेतासमेत बनेको हो। प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकालेको हो। यस जितसँगै एपिएफले दुई खेलमा ६ अंक जोडेको छ। पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले दुई खेलमा तीन अंक जोड्यो।

त्यस्तै आज नै भएको अर्को खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। न्यू डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित गरेको हो।

यस जितसँगै समूह बीको विजेतासमेत बनेको न्यू डायमन्डले दुई खेलमा छ अंक जोडेको छ। पहिलो खेलमा न्यू डायमन्डले एभरेष्ट क्लब बुटवललाई हराएको थियो। यस समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आर्मीले दुई खेलमा तीन अंक जोड्यो। न्यू डायमन्ड र आर्मीको खेलसँगै महिलातर्फको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell