काठमाडौं : चितवन टाइगर्सले काठमाडौं किंग्स ११ माथि ३ विकेटको जित निकालेको छ। काठमाडौंले दिएको १४२ रनको लक्ष्यलाई चितवनले ७ बल बाँकी रहँदा १८.४ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो। काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।
काठमाडौंका लागि सुभाष खकुरेलले सर्वाधिक ३५ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्काको सहायतामा ३५ रन बनाउँदा राजु रिजालले २० बलमा २८ रन जोडे। काठमाडौंका लागि जनक प्रकाशले १६ बलमा २६ रन बनाए। काठमाडौंका अन्य ब्याटमेनको ब्याट चल्न सकेन।
काठमाडौंका रायन बुर्ल शून्यमा आउट हुँदा गुल्सन झा ४, रमनुल्लाह जुर्वाज र अमर रौटेला ५/५ रनमा आउट भए। अमित श्रेष्ठ ६ रनमा आउट हुँदा सिद्धान्त लोहनी ८ र सन्दीप लामिछाने ७ रनमा नटआउट रहे।
काठमाडौंलाई १४१ रनमा समेट्ने क्रममा चितवनका सागर ढकालले चार ओभरमा २१ रन दिँदै चार विकेट लिए। त्यस्तै करिम जनतले ४ ओभरमा १८ रन दिँदै २ विकेट लिँदा कमल ऐरी र सीक्कुगे प्रसन्नले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको चितवनका लागि राजेश पुलामी र कमल ऐरीले नट आउट २६ र २३ रनको पाली खेले। चितवनका लागि दीलिप नाथले २३ र करिम जनतले २१ रन जोडे। त्यस्तै मोहम्मद साजाले १७ रन बनाउँदा कप्तान सोमपाल कामी शून्यमै आउट भए।
काठमाडौंका लागि जितेन्द्र मुखिया र रायन बुर्लले समान २/२ विकेट लिँदा जनक प्रकाश, गुल्सन झा, सन्दीप लामिछानेले १/१ विकेट लिए।
यो जितसँगै चितवन टाइगर्स ६ टिम सम्मिलित इपीएलको शीर्ष स्थानमा उक्लिएको छ। सबै टिमले समान २/२ खेल खेल्दा चितवनले दुबै खेलमा जित हात पार्दै ४ अंकको साथ शीर्ष स्थानमा छ।
त्यस्तै भैरहवा र पोखराको समान ३/३ अंक छ। दुबै टोलीको पहिलो खेल वर्षाका कारण रोकिएपछि १/१ अंक बाँडेका थिए। अहिले सम्म विराटनगर र ललितपुरले दुबै खेलमा हार व्यहोरेका छन्। काठमाडौं भने १ मा हार र १ मा जित निकाल्दै २ अंकका साथ चौथो स्थानमा रहेको छ।
