PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको यसरी व्यवस्थापन गर्दैछ एमालेले



पहिलोपोस्ट

विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको यसरी व्यवस्थापन गर्दैछ एमालेले

काठमाडौं : नेकपा एमालेको पहिलो विधान महाधिवेशनको तयारी पूरा भएको महाधिवेशन मुल व्यवस्थापन समितिले जनाएको छ। समितिका संयोजक रामबहादुर थापा 'बादल'ले बिहीवार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएका हुन्। १५ गते देखि १७ गतेसम्म हुने महाधिवेशनका ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ।

महाधिवेशनको उद्घाटन शुक्रवार १२:१५ बजे अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। उद्घाटन सत्रपछि शुक्रवार नै सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभागका प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन्।

महाधिवेशनको दोस्रो दिन १६ गते शनिवार अघिल्लो दिन पेश भएका दस्तावेज माथि समूहगत छलफल र सुझाबहरु प्रस्तुत हुनेछन्। त्यस्तै १७ गते आइतवार छलफलबाट आएका सुझाव तथा प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ।

को को सहभागी हुनेछन्?

पहिलो पटक एमालेले गर्न लागेको विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु, केन्द्रीय निकायका पदाधिकारी र सदस्यहरु सहभागी हुनेछन्। त्यस्तै, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधिहरु, प्रदेश कमिटीका सबै पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि पनि महाधिवेशनमा प्रतिनिधिका रुपमा सहभागी हुनेछन्।

एमालेका संघ र प्रदेशका सांसद, एमालेका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उप प्रमुख, स्थानीय पालिकाका प्रमुख र उपप्रमुखहरु पनि महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यस्तै, जनसंगठन र पेशागत संगठनहरुबाट चुनिएका प्रतिनिधिहरु, भारत लगायत प्रवासका संघ संगठनहरुबाट चुनिएर आएका प्रतिनिधि महाधिवेशनको बन्दसत्रमा दस्तावेजहरुको छलफलमा हसहभागी हुनेछन्। केन्द्रीय कमिटीले मनोनित गर्ने सदस्यहरुसमेत ६ हजार बढी प्रतिनिधि महाधिवेशनको बन्दसत्रमा सहभागी हुनेछन्।

यसरी प्रतिनिधि चयन गर्दा महिला, जनजाति, दलित, महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको समितिका संयोजक बादलले जानकारी दिए।

कसरी व्यवस्थापन गरिँदै प्रतिनिधिहरुको सिट

महाधिवेशनका लागि ६ हजार बढीको लागि सिट व्यवस्थापन मुख्य चुनौतीको रुपमा रहेको छ। त्यसका लागि मञ्चमा पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरु बस्नेछन्। सम्मेलन केन्द्रको मूल सभाहलमा ३ हजार प्रतिनिधिहरुलाई सिटको व्यवस्था गरिएको छ। त्यस्तै, दायाँ बायाँको खाली हलहरुमा १/१ हजार प्रतिनिधिहरुको सिटको व्यवस्था गरिने छ।

हलको दायाँ बायाँका प्यासेजहरुको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने १/१ हजार क्षमताका हल निर्माण गरिएको बादलले जानकारी दिए। महाधिवेशन स्थलमा सात हजार क्षमताका हलहरु तयार रहेको जानकारी दिए।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयमसेवक, सुरक्षाकर्मी, र गाडीका चालकहरु सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिने बताइएको छ। महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ बजे देखि ११ बजेसम्म बिहानको खानाका लागि समय छुट्याइएको छ। साथै दिउँसोको खाजा प्याकेटको व्यस्था गरिने छ। रातीको खाना प्रतिनिधि बस्ने स्थानमा नै व्यवस्था गरिने छ।

एमालेले ६ हजार बढी प्रतिनिधिहरुका लागि तीन दिनको बासको व्यवस्था काठमाडौंका विभिन्न स्थानमा गर्ने छ। त्यसका लागि काठमाडौंमा रहेका प्रदेश तथा जिल्ला सम्पर्क मञ्चहरुको सहयोगमा सम्बन्धित भुगोलका प्रदेश कमिटीहरुले नै गर्ने गरी व्यवस्थापन गरिने महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक बादलले जानकारी दिए।

एमालेले महाधिवेशनमा सहभागी हुने सवारी साधन नभएका प्रतिनिधिहरुका लागि ललितपुरको सातदोवाटोबाट झण्डासहितका बसहरुको व्यवस्था गरिने बताइएको छ।

महाधिवेशनका लागि अनेरास्ववियु, युवा संघ नेपाल, जिफन्ट र खेलकुद महासंघबाट २ सयको संख्यामा स्वयंसेवकहरुको व्यवस्था गरिएको जानकारी बादलले दिए।

कोभिड-१९ को संक्रमणलाई ध्यानमा राख्दै मास्क र स्यानिटाइजरको प्रयोग तथा थर्मल गनबाट शरीरको तापक्रम नाप्ने व्यवस्थासमेत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell