गायिका ब्रिटनी स्पेयर्सले आफ्ना बुवाविरुद्धको मुद्दा जितेकी छिन्। बुधबार ब्रिटनीका बुबा जेमी स्पेयर्सलाई ब्रिटनीको संरक्षकबाट हट्न अदालतले आदेश दिएको हो।
केही समयअघि जेमी स्पेयर्सले आफू संरक्षकबाट हट्न सहमत भएको बताएका थिए। अमेरिकाको लस एन्जल्स उच्च अदालतले जेमी स्पेयर्सलाई संरक्षकबाट हट्न आदेश दिएको हो।
१३ वर्षको संरक्षकत्व समाप्त भएपछि अब ब्रिटनीले आफ्नो स्वास्थ्य, सम्पत्ति र जीवनसँग सम्बन्धित कुनै पनि निर्णय स्वयम लिन पाउनेछिन्।
अदालतले अभिभावकत्व खारेज गरेसँगै ब्रिट्नीका फ्यानहरु खुसी व्यक्त गरेका छन्। उनको समर्थनमा 'ह्यासट्याग फ्रि ब्रिटनी' अभियान समेत चलिरहेको छ।
ब्रिटनी करिब १३ वर्षदेखि बुवाको संरक्षणमा बस्दै आएकी छिन्। तर, करिब तीन महिनाअघि अदालतमा निवेदकको तर्फबाट बयान दिँदै आफूलाई तत्काल बुवाको संरक्षणबाट मुक्त गर्न आग्रह गरेकी थिइन्। साथै, उनले बुवासँग बस्न नचाहने समेत बयान दिएकी थिइन्।
उनले आफूलाई विवाह गरेर बच्चा जन्माउने चाहना भएको भएपनि संरक्षकले नदिएको बताएकी थिइन्। साथै, आफूलाई गर्भ निरोधक चक्की राख्न लगाएको आरोप समेत लगाएकी थिइन्।
केही दिनअघि ब्रिटनीले ५ वर्षको प्रेमसम्बन्धपछि प्रेमी साम असघारीसँग इन्गेजमेन्ट गरेकी थिइन्।
