PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, नयाँ मुख्यमन्त्री को बन्ने भन्नेमा गठबन्धनभित्रै हानथाप



निशा गुरुङ

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै, नयाँ मुख्यमन्त्री को बन्ने भन्नेमा गठबन्धनभित्रै हानथाप

हेटौंडा : वाग्मती प्रदेशमा एकल बहुमत रहेको नेकपा एमाले विभाजित भएपछि अल्पमतमा परेको वाग्मती प्रदेश सरकारले असोज २५ गते विश्वासको मत लिने भएको छ।

नेकपा एमालेका १३ प्रदेशसभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन लागेकी हन्। विश्वासको मत नपाउने अवस्था भए पनि आफू सामना गर्न तयार रहेको उनले बताइन्।

५६ सांसद सहित एकल बहुमत रहेको एमाले प्रदेश सभा संसदीय दलको नेताका रूपमा २ भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एमाले फुटेपछि ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद संख्या नभएपछि शाक्यले विश्वासको मत लिनुपरेको हो ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।

वाग्मती प्रदेशमा विपक्षी गठबन्धनले अझै मुख्यमन्त्री टुंग्याउन सकेको छैन। नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने विषय टुंगो लागेको छैन। नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको सरकार आफनो दलले नेतृत्व गर्ने भनेर बताउँदै आएका छन्। नेतृत्वबारे टुंगो लगाउन नसक्दा गठबन्धनभित्रै असमझदारी उत्पन्न भएको छ।

वाग्मती सरकार समाजवादीको नेतृत्वमा : मुनु सिग्देल

नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेशका दलका सचेतक मुनु सिग्देलले वाग्मती प्रदेशको सरकारको नेतृत्व नेकपा एकिकृत समाजवादीले नै गर्ने बताईन्। उनले प्रदेशमा जसले दाबी गरेपनि केन्द्रमा गठबन्धनले गरेको निर्णय हुने हुँदा वाग्मती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने उनको जिकिर छ। 

'अहिले माधव नेपाल बिरामी भएर अस्पतालमा हुनुहुन्छ। त्यही हुँदा अहिलेसम्म टुंगो लागेको छैन। १ नम्बर प्रदेशमा एकीकृत समाजवादीको टुंगो लागिसक्यो कर्णाली प्रदेशमा कांग्रेसले नेतृत्व गर्ने पक्का भईसक्यो। दुई दुईवटा प्रदेश भागबण्डामा परेको हुँदा १ नम्बर र वाग्मती प्रदेश हाम्रो पार्टीले नेतृत्व गर्छ र मुख्यमन्त्री हाम्रै दलका नेता राजेन्द्र पाण्डे नै हुने हो' उनले भनिन्।

वाग्मती प्रदेश कांग्रेसको नेतृत्वमा : प्रभात तामाङ

नेपाली काँग्रेस वाग्मती प्रदेशका प्रवक्ता प्रभाव तामाङले वाग्मती प्रदेश सरकारको नेतृत्व लगभग टुंगो लागिसकेको बताए। उनले नेपाली काँग्रेसले अढाई महिना सरकार चलाउन दिन एकीकृत समाजवादीलाई गरिएको प्रस्ताव झुटो भएको समेत बताए।

'हामीले अढाई महिना सरकार चलाउन दिन एकीकृत समाजवादीसँग कुनै प्रस्ताव गरेका छैनौं। हामीले त वाग्मती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्न पाउनु पर्छ भनेका हौं। हामी छलफलमै छौं। लगभग सरकार कांग्रेसले चलाउने पक्का भईसकेको छ। १ नम्बर प्रदेशको नेतृत्व नेकपा एकिकृत समाजवादीलाई दिएपछि वाग्मती प्रदेशको नेतृत्व कांग्रेसले गर्नुपर्छ' उनले भने।

वाग्मती प्रदेश सभामा एमालेका ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सांसद छन् ।

संघमा गठबन्धन गरेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी यो प्रदेशमा मिल्ने हो भने मुख्यमन्त्री शाक्यको बहुमत नपुग्ने निश्चित प्रायः छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell