काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडिएटर्सबीचको खेल बराबरीमा रोकिएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७७ रन नै बनायो। निर्धारित ओभरमा खेल बराबरी भएपछि सुपर ओभरमा गएको खेल वर्षा हुने सम्भावनालाई मध्यनजर गर्दै सुपर ओभर खेलाइएन। योसँगै दुवै टिमले एक/एक अंक बाँडेका छन्।
भैरहवाको ब्याटिङ लाइन समाल्दै उपुल थरंगाले स्कोरबोर्ड माथि चढाए। उनले ४४ बलमा ६७ रन बनाए। उनलाई कुशल मल्ले साथ दिँदै १९ बलमा ३५ रन जोडे। प्रदीप ऐरी र रोहित पौडेल २/२ रन बनाएर पेवेलियन फर्किए। तामिम इक्बालले १४ रन बनाउँदा आरिफ शेखले २८ रन बनाए।
जितका लागि १ बलमा ७ रन आवश्यक रहेको अवस्थामा अन्तिम बलमा छक्का प्रहार गर्दै कप्तान शरद भेसवाकरले खेललाई सुपर ओभरमा पुर्याए।
ललितपुरका लागि वलिङतर्फ रसिद खानले ४ ओभर मा ३४ रन दिँदै तीन विकेट लिए भने रिजन ढकालले चार ओभरमा १७ रन दिँदै दुई विकेट लिए।
त्यसअघि, भैरहवाले टस जितेर ललितपुरलाई ब्याटिङको निम्तो दिएको थियो। ललितपुरका लागि सन्दुन वीराक्कोडीले ४१ बल खेल्दै ५ छक्का र २ चौकाको मद्दतले ५८ रनको बनाउँदा ललितपुरले १७७ रन जोडेको थियो।
त्यस्तै, अजमातुल्ला ओमर्जाइले २२ बलमा २ चौका र ४ छक्काको विप्पोटक पारी खेल्दै ४२ रन जोडे। ललितपुरका लागि सन्दीप जोराले ३८ रन जोड्दा ओसाडा फर्नान्डोले २० रन जोडे। कप्तान कुशल भुर्तेल ५ बलमा २ रन जोडेर पेवेलियन फर्किँदा पवन सर्राफ १ र योगेन्द्रसिंह कार्कीले ७ रन मात्र जोडे।
भैरहवाका लागि बलिङतर्फ अभिनास बोहराले दुई विकेट लिए। उनले ४ ओभर वलिङ गर्दै ४७ रन दिए। उनले दुवै विकेट अन्तिम ओभरमा लिएका थिए। त्यस्तै, चार ओभर बलिङ गरेका धम्मिका प्रसादले ३० रन, कृष्ण कार्कीले ३४ रन दिएर १/१ विकेट लिए। तीन ओभर वलिङ गरेका कप्तान शरद भेस्वाकरले ३३ रन दिए तर विकेट निकाल्न सकेनन्। त्यस्तै, अघिल्ला दुई खेलमा राम्रो बलिङ गरेका दुर्गेश गुप्ताले चार ओभर वलिङ गर्दा कुनै विकेट लिन सकेनन्। आरिफ सेखल १ ओवर बलिङ गरेर ७ रन दिँदै एक विकेट लिए।
