PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सबै जहाज र हेलिकोप्टरको परीक्षण गर्न सरकारले बनायो शक्तिशाली समिति



वसन्तराज उप्रेती

सबै जहाज र हेलिकोप्टरको परीक्षण गर्न सरकारले बनायो शक्तिशाली समिति

काठमाडौं : बुद्ध एयरको जहाजमा सोमवार समस्या आएपछि सरकारले मुलुकभित्र संचालनमा रहेका सबै जहाज र हेलिकोप्टरको परीक्षण गर्ने भएको छ। हवाई सुरक्षालाई खेलाचीको रुपमा हेर्न थालिएपछि सरकारले संवेदनशील हुँदै शक्तिशाली अध्ययन समिति बनाएर परीक्षण गर्न लागेको हो।

पर्यटनमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा समिति बनेको हो। सबै जहाज र हेलिकोप्टर सम्परीक्षण गर्ने अधिकारसहित पहिलो पटक यस्तो शक्तिशाली अध्ययन समिति बनेको हो। दुई दिन अगाडि बुद्ध एयरको पोखरा र विराटनगर उडानमा प्राविधिक समस्या देखिएको थियो।

‘त्यो दिन बुद्ध एयरको घटना मात्र नभई पछिल्लो समय विभिन्न हेलिकोप्टर कम्पनी र फिक्स विङ कम्पनीका जहाजमा मानवीय र प्राविधिक त्रुटि आइरहेको जानकारी आएसँगै समग्र उद्योगको हवाई सुरक्षामा थप सुधार ल्याउन अडिट शुरु गर्न लागिएको हो,’ मन्त्रालयका एक कर्मचारीले भने।

मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभागले गर्दै आएको जहाजहरुको पेरियोडिक मेन्टिनेन्स, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन मापदण्डको पालना, सुरक्षा अडिट लगायतमा सम्परीक्षण गर्न आवश्यक रहेको जनाएको छ।

छानबिन गर्दा कुनै पनि वायुसेवा कम्पनीको भौतिक, यान्त्रिक, अभिलेखीय, आइकाओको मापदण्ड पालना नगरेको, जहाज उत्पादक कम्पनीको म्यानुअल कार्यन्वयनमा कैफियत पाइएमा त्यो कम्पनीको जहाज संचालनमा रोक लगाउनेछ। मन्त्रालयका अनुसार यस्ता समस्या देखिएका कम्पनीलाई मन्त्रालयको शर्त पूरा नहुन्जेल ग्राउण्डेड गराइनेछ।

‘सरकारले यो तहको छानबिन अगाडि बढाउनु भनेको हवाई सुरक्षाको संवेदनशीलतालाई हेरेको स्पष्ट हुन्छ’, मन्त्रालयका ती कर्मचारीले भने, ‘यसले प्राधिकरणबाट भइरहेको अडिटलाई समेत शंकाको दृष्ट्रिबाट हेरेर अध्ययन अगाडि बढाउन खोजिएको देखिन्छ।’

सरकारले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। लामिछानेले हवाई सुरक्षालाई सुदृढ बनाउन नेपालमा दर्ता भएका वायुसेवा कम्पनी र उनीहरुको जहाज र जनशक्तिको अवस्था अध्ययन गरिने बताए।

‘उड्डयन क्षेत्रमा हुने त्रुटि मन्त्रालयले हेर्छ भन्ने कुरालाई यसले रिफलेक्ट गर्छ। यसरी छानबिन गरेपछि मुल समस्या वाहिर आउन सक्छ। मन्त्रालय तहबाटै छानबिन गर्दा ग्राउण्ड रियलिटी आउने भयो’, सहसचिव लामिछानेले भने, ‘सरकारले आफ्ना मातहतमा रहेका सेवा कस्तो अवस्थामा छ भन्ने अपडेट गर्न पनि पाउँछ।’

बुद्ध एयरको घटनापछि प्रधानमन्त्री तहबाटै समग्र उड्डयन उद्योगको अवस्था अध्ययन गर्न लागेको उनले जानकारी दिए। अहिले भएको अवस्था रिभ्यु गर्ने र थप सुधारका कारवाही अगाडि बढ्ने योजना रहेको उनले बताए।

‘यो एउटा घटना केन्द्रीत छानबिन होइन। मन्त्रालय तहबाटै समग्र उड्डयन उद्योगको अवस्था अध्ययन गर्न लागिएको हो। यसले एउटा सकारात्मक सन्देश जान्छ’, उनले भने, ‘अब आउँदा दिनमा मन्त्रालयसँगै माथिल्ला तहबाट अध्ययन गरिनेछ। नियामक निकायले अहिलेसम्म गर्दै आएको काममा इँट्टा थप्ने काम हो।’

राज्यको तर्फबाट मुलुकमा दर्ता भएका समग्र उड्डयन क्षेत्रको अवस्था अध्ययन गर्न पहिलो पटक समिति बनेको छानबिन समितिका सदस्य वरिष्ठ पाइलट कृष्णविक्रम क्षेत्रीले बताए। राज्यको यो सुरुवातले मुलुकको उड्डयन उद्योगसँगै हवाई सुरक्षामा सकारात्मक प्रभाव पार्ने उनले जानकारी दिए।

‘रोटरविङस र फिक्स विङमा बेला-बेला सानातिना समस्या आइरहेको छ। उड्डयन उद्योगमा कोभिड र सेफ्टीको प्रभाव एकैपटक पर्दा राम्रो हुँदैन। स-साना समस्याले पनि भविष्यमा प्रभाव पर्न सक्छ। यो राज्यले गरेको राम्रो थालनी हो,’ उनले भने।

समितिले कम्पनीको जहाज, प्राविधिक जनशक्तिको दक्षता लगायतका कुरा सुक्ष्म रुपमा अध्ययन गर्ने उनले बताए।

‘महालेखाको अडिट जस्तै हो यो। प्राधिकरणले गरेको अडिट र कारवाही सबै हेर्छौँ। हामीलाई कुनै पनि कम्पनीको कैफियत देखिएको अवस्थामा ग्राउण्डेड गराउने अधिकार दिइएको छ,’ उनले भने।

समितिले उडान अनुमति पाएका वायुसेवा कम्पनीका चालकदलको सम्वन्धमा स्वीकृत मापदण्ड पालनाको समेत परीक्षण गर्ने जनाएको छ। समितिले सबै अध्ययन गरेर तीन महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell