PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बुद्ध एयरले बजार हिस्सा गुम्ने डरले मानवीय सुरक्षाको गर्दैछ बेवास्ता



वसन्तराज उप्रेती

बुद्ध एयरले बजार हिस्सा गुम्ने डरले मानवीय सुरक्षाको गर्दैछ बेवास्ता

काठमाडौं : बुद्ध एयरसँग १५ वटा जहाज छन्। १५ वटा जहाजले दैनिक १५० वटा फ्लाइट गर्छन्। यो आधारमा दैनिक एउटा जहाजले १० वटासम्म उडान गर्छन्। आन्तरिक उडानमा सबैभन्दा बढी हिस्सा बुद्धकै छ।

आन्तरिक उडानमा रहेको एक नम्बरको ताज बुद्धकै छ। र, त्यो ताज गुमाउन चाहँदैन भन्ने ज्वलन्त उदाहरण सोमवार गम्भीर समस्या आएको जहाजलाई मंगलवारनै उडान गर्नुले पनि स्पष्ट हुन्छ।

बुद्धले उडान अघि, पछि र उडान अवधिमा सुरक्षा मापदण्डलाई प्राथमिकतामा राखेको दाबी गरेको छ। तर, त्यो नीतिलाई बेवास्ता गरेको मंगलवारकै उडानबाट समेत पुष्टि हुन्छ। जहाजको पाँग्रा के कारणले खुलेन भन्ने अध्ययन प्रतिवेदन सार्वजनिक हुनु अघिनै उडान गर्नुले समेत बुद्ध हवाई सेवाको सुरक्षामा संवेदनशील नभएको देखिन्छ।

‘बुद्धले आफ्नो बजार हिस्सा गुम्ने डरले मानवीय सुरक्षाको समेत बेवास्ता गरेर एक दिन पनि जहाज ग्राउण्डेड नगरी उडायो। जहाजको पाँग्रा के कारण खुलेन भन्ने प्रतिवेदन नआई उडाउनुले कम्पनीको व्यापारनै सर्वोपरी रहेको पुष्टि गर्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले भने, ‘अहिलेसम्म पनि अनुसन्धानबाट मानवीय त्रुटि वा प्राविधिक त्रुटि हो भन्ने यकिन नभएको अवस्थामा तत्कालै जहाज किन उडाउनुपर्‍यो?’

ती कर्मचारीका अनुसार यसअघि अरु कम्पनीका जहाजमा समस्या आउँदा ग्राउण्डेड गराएर प्राविधिक रुपमा अनुसन्धान गरिएको थियो। तर, बुद्धलाई भने ग्राउण्डेड नगरी जहाज उडान गर्न दिएर गम्भीर लापरबाही गरिएको ती कर्मचारीको जिकिर छ।

ती कर्मचारीले प्रश्न गर्दै भने, ‘जटील प्राविधिक समस्या नभएको भए क्याप्टेन र पाइलटलाई किन ग्राउण्डेड गरियो?’

ल्याण्ड गियरमै समस्या आएको जहाजलाई क्षणभरमै उडान अनुमति दिइनुमा नियामक निकायको लाचारीपन भएको उनले बताए।

‘नियामक निकाय भएपछि कारबाहीका लागि सबैलाई एउटै लठ्ठीको प्रयोग गर्नुपर्छ। तर, ठूलो कम्पनी भनेर कारबाहीमै लचिलो भइदिनु न्यायोचित त भएन नी’, स्रोतले भन्यो, ‘आजको भोलि नै इन्डिकेटरमा समस्या आएको जहाजलाई उडान गर्न दिने?’

पाइलट र विराटनगर एटीसीबीच यस्तो थियो कुराकानी

जहाज विराटनगरमा अवतरण हुनु अगाडि क्याप्टेन एजी शेर्पाले ल्याण्डिङ गियरको इन्डकेटरमा समस्या आएको जानकारी गराए।

‘उहाँले जहाज होल्ड गर्छु भनेर जानकारी गराउनु भयो। होल्ड गर्दा पनि इन्डिकेटरले काम नगरेपछि उहाँले लो पास गर्छु भनेर एटीसीलाई जानकारी दिनु भयो’, स्रोतले भन्यो, ‘लो पास गर्दा चक्का खुला छ कि छैन भनेर उहाँले सोध्नुभयो। जहाजको एकापट्टीको चक्का निस्किएको देखिएन। अर्कोपटक उहाँले म्यानुअली गरेर आउँछु भनेपनि सेम कन्डिसन देखिएको थियो।’

त्यतिखेर सुविधा र सुरक्षालाई मध्यनजर गर्दै पाइलट र एटीसीको सल्लाहमा जहाजलाई काठमाडौं पठाइएको थियो।

जहाजमा प्राविधिक समस्या आएपछि लगबुकमा लेखिएको हुन्छ। त्यसको प्रकृति अनुसार इन्जिनियरले समस्या समाधान गर्छन्। यसमा समस्या जटिल देखिएको अवस्थामा क्यानलाई रिपोर्ट गर्नुपर्ने प्रावधान रहेको प्राधिकरण स्रोतले जनाएको छ। क्यानको प्राविधिक आएर प्रमाणीकरण गरेपछि मात्रै उडान गर्न पाइने प्रावधान छ।

सोमवारको घटना जटील रहेको स्रोतले जनाएको छ।

‘अलर्ट थ्री अन्तर्गतको इमर्जेन्सी ल्याण्डिङका लागि विमानस्थल बन्द गरिएको छ। यो कुनै पनि हालतमा सामान्य होइन’, स्रोतले भन्यो, ‘जहाजको हिसाबमा मात्र सोचेर उडान योग्य छ भनेर उडान अनुमति दिने पहिलो कुरा हो। तर, मेजर इन्सिडेन्टमा पनि यति छिट्टो उडान गर्नु व्यावसायिक रुपमा हेरिएको भन्ने देखिन्छ। बरु केही समय राखेर थप निरीक्षण गरेको भए अझ राम्रो हुन्थ्यो।’

एटीसी र कम्पनीको विज्ञप्ति फरक

विराटनगरमा जहाज अवतरण गर्ने क्रममा जहाजको ल्याण्डिङ गियर झरिसकेपनि इन्डिकेटरले नदेखाएको कम्पनीले जनाएको छ। कम्पनीले दुवैपट्टीको जहाजको चक्का खुलिसकेको तर इन्डिकेटरले मात्र नदेखाएको जनाएको छ।

कम्पनीले फुल सेफ ल्याण्डिङ गर्न मात्रै काठमाडौं अवतरण गराइएको जनाएको छ। कम्पनीले विराटनगरमा पनि जहाज अवतरण हुन सक्ने अवस्था रहेको जनाएको छ।

तर, विराटनगर एटीसीले जहाजको एकापट्टीको चक्कै नखसेको भन्ने जानकारी दिएको छ। तर, काठमाडौं आएर पनि जहाजको चक्का खुल्यो तर दायाँ तर्फको चक्का खुलेन भनिएको छ।

पटक-पटक समस्या

उडानमा पटक-पटक प्राविधिक समस्या आउँदा पनि गम्भीर रुपमा नलिनु कम्पनीको ठूलो कमजोरी रहेको उडान विज्ञ बताउँछन्।

‘अन्तर्राष्ट्रिय ट्रेन्डलाई हेर्ने हो भने ठूला दुर्घटना हुनुभन्दा अगाडि पटक-पटक प्राविधिक समस्याहरु आइरहेका हुन्छन्। यो रोक्न सम्बन्धित कम्पनी र नियमनकारी निकायले निरीक्षणलाई जोड दिन आवश्यक रहेको देखिन्छ’, उनले भने, ‘मुलुकको उड्डयन क्षेत्र यसैपनि युरोपियन युनियनको हवाई सुरक्षा सूचीबाट हटेको छैन।’

एटीआर-७२ सिरिजको विभिन्न जहाजमा पटक-पटक ल्याण्डिङ गियरको इण्डिकेटरमा समस्या आएसँगै गहन अनुसन्धान हुन आवश्यक रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell