काठमाडौं : गत सोमवार दिउँसो कपनबाट ४ वर्षीय बालक हराए। बालकका बुवाले उनी हराएपछि अपहरण भएको हुनसक्ने भन्दै प्रहरीमा जानकारी गराए। त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोली खोजी कार्यमा जुट्यो।
प्रहरीले बालक चिने जानेका मानिसकै साथ लागेर कपनबाट चाबहिलको गोपीकृष्ण हुँदै कतै गएको पत्ता लगायो। बालक हराएपछि अपहरणको आशंका भए पनि फिरौतीको रकम वा अन्य कुराको माग भएको थिएन। त्यसैले प्रहरीले निष्कर्ष निकाल्यो - बालक हराएका हुन्, अपहरण होइन।
जुन व्यक्तिले बालकलाई लिएर गएका थिए उनी भारतीय नागरिक थिए। हराएका बालक पनि भारतीय नागरिक नै। बालकलाई लिएर तीन जना मानिस भारत पुगेको प्रहरीले जानकारी पायो। त्यसपछि भारतीय प्रहरीको सहयोगमा बालकको अवस्था बुझ्यो। नभन्दै बालक उनकै घरमा भेटिए।
'अपहरण भएको होइन। चिनेको मानिसले नै भारतमा रहेको घर पुर्याएको देखियो। बालक सकुशल नै छन्,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।
कपनबाट गायव भएका बालक भारतको बिहार मधुवनीमा रहेको आफ्नै घरमा पुगेका थिए। बालकलाई कपनबाट बसमा राखेर चाबहिलको गोपीकृष्णसम्म ल्याइएको प्रहरी अनुसन्धानमा देखिएको थियो। त्यसैले यसलाई 'बालक हराएको' घटनाका रूपमा प्रहरीले लिएको छ।
पछिल्लो समय देशभर बालबालिका हराउने सङ्ख्या बढ्दै गएको छ। आफैँ छलिएर हराउने, मानव तस्करको जालोमा फसेर सीमापार हुने र आफैँ फरार हुने प्रवृत्ति मुख्य रुपमा देखिन्छ। बाल श्रमका लागि छिमेकी मुलुक वा नेपालकै विभिन्न भागमा पुगेका बालबालिका पनि परिवारबाट सम्पर्कविहीन हुने गरेका छन्। प्रहरीमा प्रत्येक वर्ष ३ हजारभन्दा धेरै बालबालिका हराउने गरेका छन्। हराएका तुलनामा भेटिने बालबालिका सङ्ख्या निक्कै कम रहेको छ।
'प्रहरीमा उजुरी आएपछि हाम्रो टोलीले खोजी गर्छ। तर, कति त भेटिँदैनन्। कति भेटिएपछि भेटिएको जानकारी नआउँदा पनि सङ्ख्यामा बढेको देखिन्छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवर भने।
प्रत्येक वर्ष ३ हजारभन्दा धेरै हराउँछन्
चालु आर्थिक वर्ष २०७४/७५ मा ८ हजार २ सय ७७ जना मानिस हराउँदा २ हजार १ सय ९४ जनामात्र फेला परे। यस वर्ष १ हजार ६ सय ८६ पुरुष, ४ हजार २ सय ६१ जना महिला, ९ सय २३ बालक, १ हजार ४ सय ७ बालिका हराए। भेटिने सङ्ख्यामा पुरुषको ३ सय ७२, महिलाको ८ सय ५, बालकको ४ सय ७ र बालिकाको ६ सय १० रहेको छ।
आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ६ सय ८२ जना मानिस हराएका थिए। जसमा बालक १ हजार ५१, बालिका २ हजार ३ सय ७१ रहे। जुन हराएका मानिसको तुलनामा ३० प्रतिशत हो। यसरी हराएका मानिसमध्ये ४ हजार ६ सय ३४ जना भेटिएनन्। अर्थात् झन्डै ६० प्रतिशत मानिस अझै बेपत्ता छन्। ८ सय २५ जना बालक र १ हजार ७ सय १५ जना बालिका भेटिएका थिए। यसरी भेटिनेमा सबैभन्दा धेरै बालबालिका नै रहेका छन्। भेटिएकामध्ये ५० प्रतिशत बालबालिका हुने गरेका छन्।
आर्थिक वर्ष २०७६/७७ मा ८ हजार ६ सय ९८ जना मानिस हराएका थिए। जसमा बालिका १ हजार ८ सय ९८ र बालक ८ सय ३१ जना रहेका छन्। तथ्याङ्कअनुसार हराउने बालबालिकाको प्रतिशत ३१ प्रतिशत हो। हराएकामध्ये फेला पर्नेको सङ्ख्या ४ हजार ३ सय ९७ रहेको छन्। फेला पर्ने बालाकको सङ्ख्या ६ सय ९० र बालिकाको १ हजार ५ सय २९ रहेको छ। यस वर्ष पनि भेटिने मानिसको सङ्ख्यामा बालबालिका सङ्ख्या आधाभन्दा धेरै हो।
आर्थिक वर्ष २०७७/७८ मा ११ हजार २ सय ९३ जना मानिस हराएका छन्। जसमा बालकको सङ्ख्या ८ सय ४९ र बालिकाको सङ्ख्या २ हजार ८ सय ९ रहेको छ। यस वर्ष पनि फेला पर्ने मानिसको सङ्ख्या आधाभन्दा कम नै रह्यो। ५ हजार ९५ जना मानिस फेला परेका थिए। जसमा सबैभन्दा धेरै बालबालिका नै भेटिएको देखिएको छ। ७ सय १२ जना बालक र १ हजार १ सय ६४ जना बालिका फेला परेका हुन्।
यसरी प्रहरीको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै महिलाहरू नै हराउने गरेको देखिन्छ। बालबालिका हराउने सङ्ख्या पनि कम देखिँदैन। हराएका मध्ये ३० प्रतिशत बालबालिका नै रहेका छन्। जसमा प्रहरी र अन्य निकायले खोजी गर्दा ५० प्रतिशत भन्दा कम मानिस भेटिएका छन्। बाँकी मानिस कहाँ बेपत्ता छन् भन्ने प्रश्नको जवाफ छैन।