काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन्। आज बागलुङमा आयोजित एक कार्यक्रममा उनले दलहरुले राजनीतिलाई व्यापार बनाएको बताएका हुन्।
'व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन। प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ' उनले भने।
उनले केही दलहरुले राजतन्त्र मागिरहेको भन्दै संघर्ष गरी ल्याएका गणतन्त्रमाथि धावा बोलिरहेको बताए।
' दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अबस्था आएको छ' उनले भने।
केसीले संवैधानिक व्यवस्था अनुसार नै अहिलेको सरकार गठन भएको समेत बताए। सरकारले बाध्यताको उपज अध्यादेश ल्याएको उनको दाबी थियो। उनले अहिलेका पाँच दलीय गठबन्धन पनि परिस्थितिको उपज भन्दै गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए। रासस
