PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कांग्रेस प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन शुरु



पहिलोपोस्ट

कांग्रेस प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन शुरु
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको प्रतिनिधिसभाको क्षेत्रीय अधिवेशन आजबाट शुरु भएको छ। कांग्रेसले १३ गतेका लागि प्रदेश सभाको क्षेत्रीय अधिवेशन तोकेको थियो। तर, विभिन्न कारणले गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेका जिल्लामा समेत प्रदेशसभा अधिवेशन हुन सकेको छैन।

यसका वावजुद् पनि हिमाली जिल्लाहरुमा प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन शुरु भएको हो। कतिपय जिल्लामा प्रदेश सभाको क्षेत्रीय अधिवेशन, प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन सँगसँगै गर्ने तयारीसमेत रहेको छ। रामेछापले यसरी नै तयारी अगाडि बढाएको छ।

रामेछापमा प्रदेश सभाको क्षेत्रीय अधिवेशन हिजोबाट सुरु भएको हो। दुईवटा प्रदेश सभा रहेको यहाँ आज मतगणना जारी रहेको छ। आज मतपरिणाम आउने र भोलि जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशन एकैचोटि गर्ने गरी तयारी अघि बढेको कांग्रेसले जनायो।

तोकिएका हिमाली जिल्लाहरुमा प्रतिनिधि सभा प्रदेश सभाको क्षेत्रीय अधिवेशन शुरु भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनायो।

'हिमाली जिल्लाका एकमात्र प्रतिनिधि सभा भएका जिल्लामा आज क्षेत्रीय अधिवेशन हो। कुनै जिल्लामा आजै मतदान हुन्छ भने कुनै जिल्लामा आज मनोनयन दर्ता हुने र भोलि मतदान गर्ने तयारी छ,' कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले भने।

मितिमा तलमाथि भए पनि हिमाली जिल्लाको अधिवेशन २० गतेसम्ममा सकाउने तयारी रहेको केन्द्रीय निर्वाचन समितका संयोजक महादेव यादवले बताए।

'हिमाली जिल्लाका निर्वाचन अधिकृतहरु २० गतेसम्ममा प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा अधिवेशन सक्काएर फर्कनुहुन्छ,' संयोजक यादवले भने। कांग्रेसले हिमाली जिल्लाहरुको अधिवेशन दशैं अघि नै सम्पन्न गराउने तयारी गरेको हो। यद्यपि, रसुवाको क्रियाशील सूची अझै सार्वजनिक गरिएको छैन। यता सिन्धुपाल्चोको सबै वडामा अधिवेशन सकिएको छैन। यसले गर्दा अधिवेशन थप लम्बिने देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell