PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

जनगणतन्त्र चीनको ७२ औं स्थापना दिवस : हङ्कङ र मकाओ 'एक देश दुई प्रणाली' अनुसार चल्ने



पहिलोपोस्ट

जनगणतन्त्र चीनको ७२ औं स्थापना दिवस : हङ्कङ र मकाओ 'एक देश दुई प्रणाली' अनुसार चल्ने
Photo: Xinhua

जनगणतन्त्र चीन स्थापनाको ७२ वर्षगाँठ चीनमा अहिले भव्यरुपमा मनाइएको छ। ७२ औं स्थापना दिवसको अवसरमा शुक्रवार बिहान बेइजिङ स्थित थिआनआन'मन स्क्वायरमा चीनको झण्डा फहराइएको छ।

जनगणतन्त्र चीनको स्थापना दिवसको अघिल्लो दिन चीनले शहीद दिवसको रुपमा राष्ट्रिय विभुतीहरुलाई सम्मान गर्दै मनाएको थियो।

बिहीवार भएको थिआनआन'मन स्क्वारमा आयोजित कार्यक्रममा राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि चिनफिङले शहीदको सम्मानमा पुष्प अर्पण गरेका थिए।

यसैबिच बिहीवार नै स्थापना दिवसको अवसरमा ग्रेट हल अफ पिपलमा कार्यक्रमको आयोजना भएको थियो। कार्यक्रममा राष्ट्रपति सिसँगै प्रधानमन्त्री लि ख्छ्याङसहितका पाँच सय बढी देश विदेशका अतिथिहरु सहभागी थिए।

कार्यक्रममा प्रधानमन्त्री ख्छ्याङले सम्बोधन गर्दै खुलापन पुन:संरचना चीनको विशेषता भएको बताएका थिए।  उनले 'एक देश दुई प्रणाली' अन्तर्गत हङकङमा हङकङका जनताको शासन र मकाओमा मकाओका जनताको शासन भन्ने सिद्धान्तालाई विश्वासका साथ कार्यान्वयन गरिने बताए। उनले एक चीन नीति अनुसार ताइवान सम्बन्धी नीति लिइएको र १९९२ को सहमति अनुसार राष्ट्रिय पुनर्मिलन कार्यक्रम ताइवान स्ट्रेट आसपासका जनताको फाइदाको लागि भएको बताए। 

उनले स्वतन्त्र ताइवानका नाममा विखण्डनवादी गतिविधि तथा वाह्य हस्तक्षेप अस्वीकार्य भएको भन्दै त्यहाँका ताइवान स्ट्रेटको दुवैतर्फका जनतालाई पुनर्मिलन र कायापलटका लागि मिलेर अगाडि बढ्न आह्वान गरे।

सन् १९४९ अक्टोवर १ मा माओ जेदोङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले बेइजिङबाट जनगणतन्त्र चीनको घोषणा गरेको थियो। सोही अवसरमा शुक्रवार स्थानीय समय अनुसार विहान १० बजे थिआनआन'मन स्क्वारमा विशाल कार्यक्रमको आयोजना भएको थियो।

सन् १९४९ सेप्टेम्बर ३० मा ७२ वर्ष अगाडि  चाइनिज पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सले थिआनआन'मन स्क्वारमा शहीदहरुको स्मृतिमा विशाल स्मारक निर्माण गर्ने निर्णय गरेको थियो। सोही दिनलाई चीनले शहीद दिवसको रुपमा मनाउँदै आएको छ।

यस वर्ष चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी मनाइँदै छ। १९२१ देखि चिनियाँ कम्युनिस्ट पार्टीले सञ्चालन गरेको संघर्षका क्रममा जनगणतन्त्र चीन स्थापना हुँदा सम्म तीस लाख ७० हजार बढीले शाहदत प्राप्त गरेको उल्लेख छ। त्यस्तै कोभिड-१९ विरुद्धको लडाइमा चार सय पार्टी कार्यकर्ताहरुले ज्यान गुमाएका थिए। साथै गरिवी निवारण अभियानका क्रममा १८ सय सीपीसीका कार्यकर्ताले ज्यान गुमाएका छन्। उनीहरुलाई पनि शहीदको रुपमा सम्मान गरिएको छ। 

सनु २०१४ को चिनियाँ जनकंग्रेसले सेप्टेम्बर ३० लाई शहीद दिवसका रुपमा मनाउने घोषणा गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell