काठमाडौं : गायक निमा रुम्बा लामो समयपछि संगीत क्षेत्रमा फर्किएका छन्। मिस क्याटवाक, हुरी बतास, प्रिति बस्यो, साँझमा पनि, मेरी प्रियसी लगायत चर्चित गीत गाएका रुम्बाले नयाँ गीत ‘पागल प्रेमी-२ (क्रेजी लभर)’ को भिडियो सार्वजनिक गरेका छन्।
पप र आर एण्ड बी शैलीको फ्युजन रहेको गीतमा निमाकै शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडियोमा 'अन्डरकभर मिशन'मा रहेका जासुसहरुको कथा समेटिएको छ।
अमेरिकामा खिचिएको यो गीतको भिडियोमा निमाकै मुख्य अभिनय रहेको छ। साथै मिस युनिभर्स नेपाल २०२१ अंशिका शर्मा र मिस्टर यूएसए उत्सव सिंहको समेत अभिनय देख्न सकिन्छ।
निमाले २०५० सालमा ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ)’ गीत ल्याएका थिए। हाल सार्वजनिक गरिएको गीत २०७० सालमा गायक स्व. सुनील बर्देवाले म्युजिक एरेन्जमा रेकर्ड गराएका थिए। सुनीलको निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुग्यो।
गायक रुम्बाले आफ्नो गीतको भिडियो हलिउड स्तरमा तयार भएको दाबी गरेका छन्। केहि समयको 'ग्याप'लाई यो गीतले पुर्णता दिने उनको विश्वास छ।
युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको भिडियोमा आशिष श्रेष्ठको निर्देशन रहेको छ।