काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैमात्र अमेरिका बेलायत र अष्ट्रेलिया बिच भएको रक्षा सम्झौताले यस क्षेत्रलाई चुनौती थपेको बताएका छन्।
एमालेको प्रथम विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन्। लामो समयसम्म अमेरिका केन्द्रित विश्व ढाँचा चीनको आर्थिक उदयसँगै एसिया प्रशान्त क्षेत्रमा केन्द्रित हुन थालेको भन्दै त्यसैलाई लक्षित गरी अमेरिकाले इन्डो-प्यासिफिक रणनीति ल्याएको उनको भनाइ थियो।
'विश्व प्रतिस्पर्धाको केन्द्र एसिया प्रशान्त क्षेत्र बन्न पुगेको छ। अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक स्ट्राटेजी यसै विषयतिर लक्षित छ,' उनले भने, 'अष्ट्रेलिया, बेलायत र अमेरिका बिच भएको नयाँ सुरक्षा सम्झौता, जसले यस क्षेत्रमा तनाब सिर्जना गरेको छ।'
उनले लोकतान्त्रिक प्रणालीमाथि विभिन्न मुलुकमा चुनौती खडा भएको बताए। म्यानमारमा सैन्य कु भएको भन्दै उनले विभिन्न ल्याटिन अमेरिकी मुलुकमा वामपन्थी सरकारमाथि प्रहार भइरहेको बताए।