काठमाडौं : एभरेस्ट प्रिमियर लिगको शुक्रवार भएको दोस्रो खेलमा पोखरा राइनोजमाथि चितवन टाइगर्सले जित निकालेको छ।
चितवन टाइगर्सले शुक्रवारको खेलमा ९ विकेटले जित निकाल्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। चितवन तीन खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो।
समान तीन खेल खेलेको भैरहवा ग्लाडियटर चार अंकका साथ दोस्रो स्थानमा छ। यो हारसँगो पोखराको तीन खेलमा तीन अंक रहेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रन जोडेको थियो। पोखराका लागि विवेक यादवले नट आउट ४५ बल खेल्दै तीन छक्का र तीन चौकाको मद्दतले ५३ रन जोडे।
पोखराका लागि असेला गुनरत्नेले २५, रिचर्ड लेभीले २० रन जोड्दा अन्या ब्याटसम्यानले भने दोहोरो अंक बनाउन सकेनन्। पोखराका लागि लोकेश वमले ८, विनोद भण्डारीले ५ रन जोड्दा रित गौतम २ रनमा आउट भए। केसरिक विलियम्स २ रनमा नट आउट रहे। पोखराका सुनिल धमला डकआउट हुँदा विक्रम सोभ दुई वलमा सून्य रनमै आउट भए।
पोखरालाई सस्तैमा समेट्ने क्रममा कमल ऐरी र सहाव आलमले दुई/दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए।
चितवनका ओपनर इसान पाण्डे ७ बल खेल्दै शून्यमा आउट भए पछि आएका भीम कार्कीले मोहम्मद साहजादसँग ठूलो साझेदारी गर्दै चितवनलाई जित दिलाएका हुन्। कार्की र शाहजादले अर्धशतकीय पारी खेले। शाहजादले ५२ बलमा ७ चौका र २ छक्काको मद्दतले ६३ रन बनाउँदा कार्कीले ४२ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाए।
पोखराको लागि एक मात्र विकेट विक्रम सोभले ८ औं बलमा लिएका थिए। उनले इसान पाण्डेलाई आउट गरेपनि त्यसपछि पोखराका बलरले कुनै विकेट लिन सकेनन्। दोस्रो र तेस्रो क्रमका ब्याटस् म्यान क्रिजमा जम्दा २० बल बाँकी छँदै पोखराले १२४ रनको लक्ष्य भेट्टायो।
