PahiloPost

May 15, 2024 | २ जेठ २०८१

नीति र विधिको भेलामा ओलीको गुणगान मात्रै, गाउँ-गाउँबाट आएका नेता/कार्यकर्तालाई आफ्नै फोटो देखाएर दिन खोजेको सन्देश के?



प्रकाश भण्डारी

नीति र विधिको भेलामा ओलीको गुणगान मात्रै, गाउँ-गाउँबाट आएका नेता/कार्यकर्तालाई आफ्नै फोटो देखाएर दिन खोजेको सन्देश के?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा लाग्ने स्थायी नारा हुन्- ‘केपी 'बा' आइ लभ यु’, ‘१० बर्ष ओलीलाई आज होइन भोलिलाई’। अझ उनी सहभागी हुने कार्यक्रमको माहौल पनि अरु कार्यक्रम भन्दा बेग्लै हुन्छ।

युवा संघको स्कर्टिङ र उनी आसन हुने स्थानको भिन्दै व्यवस्थापनले पनि ओली सहभागी हुँदैछन् भन्ने सजिलै थाहा पाउन सकिन्छ। ललितपुरको गोदावरीमा शुक्रवारबाट शुरु भएको पहिलो विधान महाधिवेशनमा पनि उक्त दृश्य नदेखिने कुरै थिएन।

आफ्नै आक्रामक प्रचार, स्वागतका लागि हल बाहिरैसम्म कार्यकर्ताको लस्कर र बडेमानका उनका डमीले ओलीमय बनेको थियो, ललितपुरको गोदावरी स्थित सनराइज हल। गाउँ-गाउँबाट बोलाइएका ६ हजार बढी कार्यकर्ताको तछाडमछाडका माझ ओली महाधिवेशन स्थलमा पुग्दा उनको जय-जयकार नै गरियो।

कम्युनिस्ट नेता खुम्चे ओली फुके

महाधिवेशन स्थलमा हलको गेट प्रवेश गरेलगतै कार्यकर्ताको पहिलो नजर पर्ने ठाउँमा ओलीको डमी छ। त्यही डमीसँग सेल्फी खिचाउन कार्यकर्ताको भिडभाड नै देखियो।

ओलीको तस्बिर प्रवेशद्वारकै नजिक राखिँदा कम्युनिस्टहरुले आदर्श मान्ने नेताहरुका स्ट्याचु भने केही पर कुनामा राखिएका छन्। कार्ल मार्क्स र आफ्नै पार्टी पूर्व महासचिव मदन भण्डारीलाई कुनामा थन्काएका ओलीले कार्यक्रमस्थल भरी तथा काठमाडौं र ललितपुरका मुख्य स्थानहरुमा आफ्नो फोटो राखेका छन्।

रत्नपार्क, सातदोबाटो र ललितपुरका विभिन्न स्थानहरुमा बिजुलीका पोलमा ओलीले फोटो राखेका छन्। हलभित्रको मुख्य मञ्चमा पनि ओलीले कम्युनिस्ट नेताहरुको फोटो राखेका छैनन्। बरु बेला-बेला डिस्प्ले बोर्डमा ओलीको फोटो भने देखिन्छ।

कम्युनिस्ट पार्टीहरुको महाधिवेशनमा नेताहरुको फोटो राख्ने चलन भए पनि ओलीले त्यसलाई हटाएका छन्। मञ्चको ठीक उल्टोपट्टी भने ‘जनताको बहुदलीय जनवाद’ लेखिएको फ्लेक्स राखिएको छ जहाँ कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र एमालेका पूर्व महासचिव मदन भण्डारीको फोटो सानो साइजको राखिएको छ।

यद्यपी, यो उनको नौलो शैली भने होइन। यसअघि आफू सरकारमा हुँदा सामाजिक सुरक्षा कोषको उद्घाटनका बेलामा पनि ओलीले काठमाडौंमा बिजुलीका पोल-पोलमा आफ्ना तस्बिर झुण्डाएका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको विवाद उग्र बनेका बेला दरबारमार्गमा शक्ति प्रदर्शन गरेर पनि ओलीले दरबारमार्गलाई आफ्नो डमी मय बनाएका थिए भने प्रधानमन्त्रीबाट बिदा भएपछि बालुवाटारबाट बालकोट जाँदा पनि उनको आत्मकेन्द्रित प्रचारशैली देखिएको थियो।

नीति र विधिको भेलामा ओलीकै गुणगान

नेकपा (एमाले)मा फरक विचार समूहको उपस्थिति कमजोर छ। तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालले एमाले छोडेर नेकपा (एकीकृत समाजवादी) बनाइसेका छन्। ओलीले अब नेपाललाई पार्टी भित्र झेल्नुपर्ने छैन।

तर, नेपाल पक्षबाट एमालेमा फर्किएका उपमहासचिव घनश्याम भुसाल, उपाध्यक्ष भीम रावल लगायतका नेताहरु ओलीको भन्दा फरक मत राख्छन्। उनीहरुको बोली बलियो भने छैन।

असोज ८ र ९ गतेको केन्द्रीय कमिटीमा पनि उनीहरुको विचारलाई पेलेरै ओली अघि बढेका थिए। ओलीको आलोचना गर्दा उनीहरुको आवाजले वाहवाही पाउने छैन। बरु ओलीको प्रशंसाले भने स्थान ओगट्ने छ।

जसको झल्को शुक्रवारको उद्घाटन समारोहमा देखिएको छ। कार्यक्रमको बीचमा ओलीको प्रशंसा गर्दै तयार पारिएको भिडियो देखाइएको थियो। जसमा ओलीलाई राजनेताका रुपमा व्याख्या गरिएको छ।

ओलीको मात्रै प्रशंसा भइरहेको भव्य समारोहको उद्देश्य ओलीको देवत्वकरण गर्ने भने होइन। बरु पार्टीका कमीकमजोरी र नेताहरुको कार्यशैलीको समीक्षा गर्ने भन्दै विधान महाधिवेशनको आयोजना गरिएको हो। विधि र विधानको चर्चा कम र ओलीकै चर्चा बढी भइरहेको विधान महाधिवेशन एमालेको इतिसमा पहिलोपटक आयोजना भएको हो।

ओलीको सन्देश : सबैभन्दा शक्तिशाली आफैँ

ओलीको मात्रै कार्यक्रम स्थलमा फोटो राखिनुको सोझो अर्थ हो- एमालेको सबैभन्दा बलियो र निर्विकल्प नेता हुन् ओली। गाउँ-गाउँबाट आएका कार्यकर्तामार्फत ओली एमालेमा आफ्नो विकल्प कोही नभएको सन्देश दिन चाहेको प्रष्ट देखिन्छ, विधान महाधिवेशनमा।

उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावले पनि त्यसको झल्को दिन्छ। उनले आफूमार्फत भएका कमीकमजोरीको समीक्षा गरेका छैनन् बरु अरु नेताहरुलाई गल्ति थुपारेर उनी नेकपा हुँदै नेकपा कालका कमीकमजोरीबाट पछि हटेको देखिन्छ।

‘२०७७ भदौ २६ गते स्थायी कमिटीले महत्त्वपूर्ण निर्णय गर्‍यो। तर, उक्त निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने काम भएन’, ओलीको  प्रतिवेदनमा भनिएको छ, ‘तिनलाई कार्यान्वयन गर्दै एकता महाधिवेशनमा अग्रसर गराउन सकेको भए एकता जोगिन सक्थ्यो। तर, उक्त निर्णय अनुसार महाधिवेशनको तयारी गर्ने काम भएन।’

अरु नेताहरुले ओलीमाथि विभिन्न आरोप लगाउँदै पार्टी फुट्नु र एमालेको सरकार ढल्नुमा ओलीलाई दोषी देखे पनि ओली भने त्यो स्वीकार्ने पक्षमा छैनन्।

१० भाइलाई उकुसमुकुस

पार्टी विभाजनको अन्तिम अवस्थामा ओलीलाई साथ दिएको एमालेको दोस्रो तह ओलीसँगै खुसी छैन। असोज ८ र ९ गतेको केन्द्रीय कमिटीको बैठकमा १० जना स्थायी कमिटीका सदस्यहरुले आफ्ना असन्तुष्टि राखेपछि ओलीले बाध्य भएर उपाध्यक्ष भीम रावलको संयोजकत्वमा १० बुँदे सहमति कार्यान्वयनका लागि कार्यदल बनाएका छन्।

शुक्रवारको कार्यक्रममा पनि असन्तुष्ट १० नेताहरुको अनुहार मलिन देखियो भने ओली निकट नेताहरु हर्षित मुद्रामा थिए। कार्यक्रमको सञ्चालन गरिरहेका एमाले सचिव प्रदीप ज्ञवालीले ओली नेतृत्वको सरकारले गरेका कामको व्याख्या खुबै रोमान्चित हुँदै गरिरहँदा निकै कर्कश मानेर सुनिरहेका थिए असन्तुष्ट नेताहरु।

शुक्रवार बोल्ने पालो नपाएका उनीहरु उकुसमुकस भएका थिए। रावलले आफ्नो असन्तुष्टिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनको उक्त असन्तुष्टिमा एमाले भित्रको किचलोलाई  संकेत गरिएको छ।

‘गोदावरी वरपर उत्सव यतै आए जस्तो, उत्सव ठूलै भएपनि आवहवा कस्तो कस्तो, रातै रंग जताततै विजयको भाव जस्तो। धुम्मिएको आकाशमा पर-पर बादल खस्दो!,’ काव्यात्मक शैलीमा रावलले भनेका छन्।

शक्ति प्रदर्शन कि समीक्षा?

एमाले फुटेर दुई पार्टी बनेको छ। सामान्यतया एमाले फुट र कमीकजोरीको समीक्षा होला भन्ने धेरै नेता कार्यकर्ताको आशा भएपनि त्यसो भइरहेको छैन। बरु उल्टै ओलीले शक्ति प्रदर्शनको शैली अपनाएका छन्।

अहिले सम्मकै ठूलो भेलाका लागि देशभरीबाट नेता/कार्यकर्तालाई राजधानी बोलाएका छन्। एमाले वस्तुत: कमजोर देखिन्छ। विभाजनका कारण संघमा ओली नेतृत्वको सरकार मात्रै होइन प्रदेशमा पनि एमालेको सरकारले बिदा लिनुपर्‍यो भने भएको ठाउँमा पनि चाडै सरकार परिवर्तन हुने सुरसार चलिरहेको छ। जसलाई ओलीले समीक्षा भन्दा पनि आफू विरोधीलाई निसाना लगाउने विषय बनाएका छन्।

तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालको कारण पार्टी फुटेको दोष लगाएका ओलीले प्रचण्डका कारण नेकपा विभाजित भएको आरोप लगाइरहेका छन्।

शुक्रवार पनि ओली शक्ति प्रदर्शनको शैलीमा कार्यक्रम स्थल पुगेका थिए। उनलाई युवा संघले मोटरसाइकलमार्फत स्कर्टिङ गरेका थिए भने पूर्व माओवादी नेता रामबहादुर थापा लगायतले स्वागत गरे।

१२:१५ मा उद्घाटनका लागि समय निर्धारण गरिएको भए पनि ओली ढिलोगरी मात्रै मञ्चमा देखिए। गाउँ-गाउँबाट आएका कार्यकर्ता ओलीको स्वागतको लागि नहौसिए पनि युवा संघ र केही शीर्ष नेताहरुले भने ओलीलाई सकेसम्मको न्यानो स्वागत गर्न खोजे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell